• १ साउन २०८३, शुक्रबार
  • ३:०० बिहान

मिटरब्याज आन्दोलनले गठन गर्‍यो औपचारिक वार्ता टोली, लिखित सहमतिबिनै आन्दोलन नरोकिने अडान

प्रकाशित मिति

२०८३ असार ३२ गते, बिहीबार ०२:३३

३२ असार २०८३ काठमाडौं –सरकारसँग जारी संवादलाई व्यवस्थित र प्रभावकारी बनाउन मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनले औपचारिक वार्ता टोली गठन गरेको छ। आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाको संयोजकत्वमा गठित वार्ता टोलीमा केन्द्रीय महासचिव मनोजकुमार पासमान, केन्द्रीय प्रवक्ता रिजन राना मगर, केन्द्रीय हेडक्वार्टर सदस्य लक्ष्मी घिमिरे, किरण परियार तथा संयुक्त जनअधिकार मोर्चाका केन्द्रीय अध्यक्ष निर्ग नवीन सदस्य रहेका छन्।

मिटरब्याज पीडितहरू असार २५ गतेदेखि जनकपुरधामबाट काठमाडौं केन्द्रित पैदल न्याय मार्चमा रहेका छन्। सोही क्रममा सरकारसँग निरन्तर संवाद भइरहेको छ।

Kamana Sewa

बाराको निजगढमा गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकार र आन्दोलनरत पक्षबीच हालसम्म चार चरणको वार्ता सम्पन्न भइसकेको छ। तर आन्दोलनले अघि सारेका ६ बुँदे मागलाई लिखित रूपमा वैधानिकता दिने विषयमा सहमति जुट्न नसक्दा वार्ता निष्कर्षमा पुग्न सकेको छैन।

Classic Tech Desktop

आन्दोलनरत पक्षले गृहमन्त्रीले स्वीकार गरिसकेको ६ बुँदे सहमति–पत्रको मस्यौदालाई यथावत् लिखित रूपमा हस्ताक्षर गरी कार्यान्वयनको सुनिश्चितता गर्नुपर्ने अडान दोहोर्‍याएको छ। लिखित सहमति नभएसम्म पैदल न्याय मार्च नरोकिने र आवश्यक परे काठमाडौंतर्फको यात्रा पुनः अघि बढाइने चेतावनी आन्दोलनले दिएको छ।

आन्दोलनले आगामी चरणका सबै सरकारी वार्तामा यही औपचारिक वार्ता टोलीले मिटरब्याज पीडितहरूको प्रतिनिधित्व गर्ने जनाएको छ।

प्रतिकृया