• १६ असोज २०८३, शुक्रबार
  • ३ः१५ दिउँसो

आर्थिक वर्ष सकिन एक दिन बाँकी, सरकारले उठायो १२.२४ खर्ब राजश्व

प्रकाशित मिति

२०८३ असार ३२ गते, बिहीबार ०३:०७

३२ असार २०८३ काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ समाप्त हुन एक दिन बाँकी रहँदा सरकारले वार्षिक राजश्व लक्ष्यको करिब ८३ प्रतिशत रकम संकलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार असार ३१ गतेसम्म सरकारले १२ खर्ब २४ अर्ब ८० करोड ९० लाख रुपैयाँ राजश्व संकलन गरेको छ। यो सरकारले निर्धारण गरेको १४ खर्ब ८० अर्ब रुपैयाँको वार्षिक लक्ष्यको ८२.७६ प्रतिशत हो।

National Life

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष राजश्व संकलनमा उल्लेखनीय सुधार देखिएको छ। अघिल्लो वर्ष असार ३१ गतेसम्म ११ खर्ब ४० अर्ब ३६ करोड ६१ लाख रुपैयाँ राजश्व उठेकोमा यस वर्ष ८४ अर्ब ४४ करोड २९ लाख रुपैयाँ (७.४० प्रतिशत) ले वृद्धि भएको छ।

संकलित राजश्वमध्ये ११ खर्ब ५ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ कर राजश्व रहेको छ, जुन वार्षिक कर राजश्व लक्ष्यको ८३.४३ प्रतिशत हो। यस्तै १ खर्ब १८ अर्ब ८८ करोड ३४ लाख रुपैयाँ गैरकर राजश्व संकलन भएको छ, जुन लक्ष्यको ७६.९९ प्रतिशत बराबर रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

वैदेशिक अनुदान प्राप्तिमा पनि सुधार देखिएको छ। सरकारले लक्ष्य राखेको ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँमध्ये असार ३१ गतेसम्म ३१ अर्ब २६ करोड ४१ लाख रुपैयाँ प्राप्त भएको छ, जुन लक्ष्यको ५८.५ प्रतिशत हो। यो गत वर्षको तुलनामा ३४.७५ प्रतिशत बढी हो।

आर्थिक वर्षको अन्तिमतिर राजश्व संकलन बढ्ने परम्परा यस वर्ष पनि कायम रह्यो। असार ३१ गते मात्रै सरकारले २१ अर्ब १६ करोड ९२ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो, जसमध्ये १८ अर्ब ६६ करोड ७९ लाख रुपैयाँ कर राजश्व रहेको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को अन्तिम दिन थप राजश्व संकलन हुने भएकाले वार्षिक लक्ष्य प्राप्तिको अनुपात अझै बढ्ने अपेक्षा गरिएको छ।

प्रतिकृया