दाङ–३ का जनताको आवाज सुनिए कि शून्य समयमै हराए : सांसद सुवेदी
प्रकाशित मिति
२०८३ आश्विन १६ गते, शुक्रबार ०२:३१
१६ असोज २०८३ काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दाङ क्षेत्र नम्बर–३ का सांसद कमल सुवेदीले आफूले संसद्मा उठाएका जनसरोकारका विषय सम्बोधन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै सांसद सुवेदीले सांसदको शपथ लिएको १९१ दिन पुगिसक्दा पनि आफूले उठाएका विकास निर्माण तथा जनजीविकासँग सम्बन्धित मुद्दा सम्बोधन नभएको बताए।
‘संसद्मा उठाएका जनताका आवाज सुनिए कि शून्य समयमै शून्य भएर हराए ? कहिलेकाहीँ मनमा यस्तो प्रश्न उठ्छ,’ उनले भने। उनले दाङ–३ का प्रमुख समस्यालाई पुनः सरकारको ध्यानाकर्षण गराउँदै फुर्केसल्ली र मलईका निकुञ्जपीडितको बस्ती स्थानान्तरण, लमही–घोराही–तुलसीपुर सडक निर्माणमा भइरहेको ढिलाइ तथा क्षेत्रको कमजोर मोबाइल नेटवर्कको समस्या तत्काल समाधान गर्न माग गरे।
शान्तिनगर, दङ्गीशरण र बबईका नागरिकले मोबाइल चलाउँदा ‘नेटवर्क छैन’ भन्ने समस्या भोगिरहेको भन्दै उनले दूरसञ्चार सेवा विस्तार गर्न सरकारसँग आग्रह गरे। साथै, प्रत्येक घरमा खानेपानी र विद्युत् पुर्याउनुपर्नेमा उनले जोड दिए।
सांसद सुवेदीले अस्पतालको गुणस्तरीय सेवा, मलखादको सहज आपूर्ति, ग्यासको उपलब्धता र शिक्षाको गुणस्तर सुधार गर्नसमेत सरकारको ध्यानाकर्षण गराए। युवालाई विदेशिनबाट रोक्न देशमै रोजगारी तथा अवसर सिर्जना गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘युवाहरू विदेशको टिकट होइन, देशमै अवसरको टिकट खोज्न चाहन्छन्।’
उनले आफूले संसद्मा उठाएका विषय दाङ–३ का जनताको आवश्यकता र समस्या भएकाले सरकारले ती विषयमा ध्यान दिई परिणाम देखिने गरी काम गर्न आग्रह गरे।








प्रतिकृया