प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कहिले हुन्छ ? सांसद राईले उठाए प्रश्न
प्रकाशित मिति
२०८३ आश्विन १२ गते, सोमबार ११:३६
१२ असोज २०८३ काठमाडौं — श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री बालेन्द्र शाहसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम कहिले हुने भन्दै प्रश्न गरेका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद राईले लामो समयदेखि प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हुन नसकेको भन्दै सभामुख डोलप्रसाद अर्यालसँग प्रश्न गरेका हुन्।
सिंहदरबारस्थित संसद् भवनमा बसेको बैठकमा राईले भदौ १० गतेका लागि तय गरिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम एक महिना दुई दिन बितिसक्दा पनि हुन नसकेकोप्रति आपत्ति जनाए।
उनले भने, ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने दिन भदौ १० गते तोकिएको थियो। तर, एक महिना दुई दिन भइसक्यो, त्यो दिन अझै आएको छैन। सरकारले अब केटाकेटी खेल खेल्न छोड्नुपर्छ।’
यसैगरी, पछिल्लो समय भइरहेका पक्राउ र रिहाइप्रति पनि सांसद राईले असन्तुष्टि व्यक्त गरे। घटनाको गम्भीरता नबुझी हचुवाका भरमा पक्राउ गर्ने र भोलिपल्टै छाड्ने सरकारी कार्यशैली उपयुक्त नभएको उनको भनाइ छ।
‘विषय कति गम्भीर हो भन्ने कुराको ख्याल गरेर मात्रै पक्राउ गरिनुपर्छ। पक्राउ गर्ने र भोलिपल्टै छोड्ने काम कत्तिको उपयुक्त हो ?’ उनले प्रश्न गरे।
सांसद राईले आफूहरू प्रतिपक्षमा रहे पनि राष्ट्रिय मुद्दा र विकासका सवालमा सरकारलाई सहयोग गर्दै आएको बताए। तर, सरकारको गैरजिम्मेवार कार्यशैलीका कारण काम गर्न कठिन भइरहेको उनको भनाइ थियो।







प्रतिकृया