जेनजी शहीदकी आमाको संसद्मा भावुक सम्बोधन : ‘शहीदले न्याय पाए एक सेकेन्ड पनि पदमा बस्दिनँ’
प्रकाशित मिति
२०८३ आश्विन ६ गते, मंगलवार ०४:०९
६ असोज २०८३ काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडाले जेनजी आन्दोलनका शहीद, घाइते तथा अपांगता भएका व्यक्तिहरूको आवाज उठाउन आफू सांसद बनेको बताएकी छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै खतिवडाले आफू राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताइन्। उनले आफ्नो छोरा जेनजी आन्दोलनका क्रममा गुमाएको स्मरण गर्दै न्यायको खोजीमा आफू संसद्मा आएको उल्लेख गरिन्।
‘यो मेरो न्याय खोज्ने यात्रा थियो,’ उनले भनिन्, ‘अन्य तमाम जेनजीका सन्तानको बलिदान खेर जान नदिन म यो सदनमा पुगेकी हुँ।’ खतिवडाले जेनजी आन्दोलनका शहीदले पूर्ण रूपमा न्याय पाए आफू सांसद पदबाट राजीनामा दिन एक सेकेन्ड पनि हिच्किचाहट नगर्ने बताइन्।
उनले आफूलाई ‘छोराको लाससँग सांसद पद साट्न आएको’ भन्दै गरिएको टिप्पणीप्रति आपत्ति जनाउँदै त्यस्तो अभिव्यक्तिले आफ्नो पीडामाथि प्रहार गरेको बताइन्।
‘कसैले मेरो छोरो जिउँदो ल्याएर काखमा राखिदिन्छ भने म सांसद पद त्याग्न तयार छु,’ उनले भनिन्, ‘एउटा आमाको ममता र पीडामाथि प्रहार गर्ने दुस्साहस नगरिदिनुस्।’
खतिवडाले वर्तमान सरकारसँग आफ्ना थुप्रै असहमति रहेको स्वीकार गर्दै आफू जिम्मेवार ढंगले प्रस्तुत हुने बताइन्। साथै, शहीदकी आमामाथि अपमान हुँदा सरकार मौन बसेको भन्दै उनले प्रश्नसमेत गरिन्।
उनले जेनजी आन्दोलनका शहीद, घाइते र अपांगता भएका व्यक्तिहरूका मुद्दामा संसद्बाट निरन्तर खबरदारी गरिरहने बताइन्।






प्रतिकृया