• १२ असोज २०८३, सोमबार
  • ११ः३९ बिहान

एआईआईबी अध्यक्षसँग अर्थमन्त्री वाग्लेको भेट, नेपालमा लगानी विस्तार गर्न आग्रह

प्रकाशित मिति

२०८३ आश्विन १२ गते, सोमबार ११:०३

१२ असोज २०८३ काठमाडौं — एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री एवं एआईआईबीका लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्लेले बैंककी अध्यक्ष जोउ जियायीसँग भेटवार्ता गरेका छन्।

National Life

कतारको राजधानी दोहामा भएको भेटमा अर्थमन्त्री वाग्लेले नेपालमा एआईआईबीको लगानी विस्तार, प्राकृतिक विपद्पछिको पुनर्निर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न आग्रह गरे।

भेटमा अध्यक्ष जोउले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट नेपालले भोग्नुपरेको मानवीय तथा भौतिक क्षतिप्रति समवेदना व्यक्त गर्दै विपद्पछिको उत्थानशील पुनर्निर्माणमा बैंकका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

Classic Tech Mobile
Classic Tech Desktop

उनले एआईआईबीले प्रोजेक्ट प्रिपरेसन स्पेसलाइज्ड फण्डमार्फत परियोजना तयारीका लागि अनुदान सहायता उपलब्ध गराउने बताइन्। साथै, उक्त फण्डअन्तर्गतको अनुदान प्रयोग गरी नेपाललाई उपलब्ध गराउने ऋणलाई अधिकतम सहुलियतपूर्ण ब्याजदरमा कायम गर्न सकिने धारणा व्यक्त गरिन्।

अर्थमन्त्री वाग्लेले एआईआईबीको लगानीमा सञ्चालनमा रहेका विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार आयोजना र एक्सप्रेस सडकको अध्ययन कार्य शीघ्र सम्पन्न गर्न आग्रह गरे। उनले बैंकको लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा बाढीले पुर्‍याएको क्षतिप्रति समेत दुःख व्यक्त गरे।

वाग्लेले मध्यमकालीन तथा दीर्घकालीन सहायताअन्तर्गत हरित ऊर्जा, सीमापार विद्युत् प्रसारण लाइन, सडक तथा डिजिटल पूर्वाधार विकासमा एआईआईबीको स्रोतसँगै अन्य दातृ निकायको स्रोतसमेत परिचालन गर्न आग्रह गरे।

भेटका क्रममा अर्थमन्त्री वाग्लेले एआईआईबीकी अध्यक्ष जोउलाई सन् २०२६ भित्र नेपाल भ्रमणका लागि निमन्त्रणासमेत दिएका छन्। अध्यक्ष जोउले संस्थापक सदस्य राष्ट्र नेपालसँग आर्थिक विकासका क्षेत्रमा थप सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता दोहोर्‍याएकी छन्।

प्रतिकृया