कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन थाल्ने
प्रकाशित मिति
२०८३ आश्विन १२ गते, सोमबार १०:२३
१२ असोज २०८३ काठमाडौं — स्याङ्जाको बेल्टारीस्थित १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन पुनः सुरु गर्ने भएको छ। चार दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि आयोजनाले विद्युत् उत्पादन बन्द गरेको थियो। नदीको बहाव घट्दै गएपछि आजैदेखि उत्पादन सुरु गर्न लागिएको आयोजनाले जनाएको छ।
कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार नदीमा पानीको बहाव उच्च हुँदा जोखिम नहोस् भनेर उत्पादन रोकिएको थियो। अहिले नदीको सतह घट्दै गएपछि सुरुङभित्र जमेको हिलो हटाउने र पावर हाउसको अवस्था निरीक्षण गरेर उत्पादन सुरु गरिनेछ।
बाढीपछिको अवस्थाबारे प्राविधिक टोलीले निरीक्षण गरिसकेकाले उत्पादन पुनः सञ्चालन गर्न सकिने पौडेलले बताए। कालीगण्डकी नदीमा बाढी आएपछि आयोजनाले मिर्मीस्थित बाँधका सबै ढोका खोलेर पानी नदीमा छाडेको थियो। अविरल वर्षाका कारण स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थल सेतीबेणी बजारसमेत डुबानमा परेको छ। बजारका २६ घरका बासिन्दालाई नजिकैको विद्यालयमा सारिएको छ।
यस्तै, आयोजनाको बाँधस्थलभन्दा केही तल स्याङ्जा र गुल्मी जोड्ने मोटरेबल पुलसमेत आइतबार बिहान कालीगण्डकी नदीमा आएको बाढीले बगाएको थियो।







प्रतिकृया