• १३ असोज २०८३, मंगलबार
  • १ः३२ दिउँसो

कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता र करिअर मार्गदर्शन

प्रकाशित मिति

२०८३ आश्विन १३ गते, मंगलवार ०१:२२

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले दमकस्थित सर्वोदय इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलका विद्यार्थीलाई वित्तीय साक्षरता तथा भविष्य निर्माणसम्बन्धी मार्गदर्शन दिएको छ।

National Life

विद्यालयको सर्वोदय बाल क्लबले आयोजना गरेको ‘सर्वोदय चौतारी’ अन्तर्गत ‘प्रेरक व्यक्तित्वसँग बालबालिका’ कार्यक्रममा बैंकले कक्षा ९ र १० का करिब १५० विद्यार्थीका लागि अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रममा कामना सेवा विकास बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले विद्यार्थीलाई जीवन उपयोगी सीप, आत्मअनुशासन, निर्णय क्षमता, समय व्यवस्थापन तथा चुनौती सामना गर्ने तरिकाबारे जानकारी दिएका थिए। उनले शैक्षिक ज्ञानसँगै व्यवहारिक जीवनमा आवश्यक सीप विकास गर्नु भविष्य निर्माणको महत्वपूर्ण आधार भएको बताए।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, बैंकका ब्रान्डिङ, सीएसआर तथा मार्केटिङ प्रमुख सुशील पौडेलले लक्ष्य निर्धारण, भविष्यको दिशा तथा उचित मार्गदर्शनका विषयमा प्रस्तुति दिएका थिए। उनले विद्यार्थीलाई आफ्नो रुचि, क्षमता र प्राथमिकता पहिचान गरी स्पष्ट लक्ष्य तय गर्न तथा त्यसलाई चरणबद्ध योजनामा रूपान्तरण गर्न प्रेरित गरे।

कार्यक्रममा वित्तीय साक्षरता, बचत तथा लगानी, आवश्यकता र चाहनाबीचको भिन्नता, पैसाको योजनाबद्ध प्रयोग तथा जिम्मेवार आर्थिक व्यवहारबारे पनि व्यवहारिक उदाहरणसहित छलफल गरिएको थियो।विद्यार्थी अवस्थादेखि नै आर्थिक निर्णयप्रति सचेत बन्ने बानीले भविष्यमा जिम्मेवार आर्थिक व्यवहार विकास गर्न सहयोग पुग्ने विषयमा कार्यक्रममा जोड दिइएको थियो।

यसैगरी, व्यक्तिगत तथा व्यावसायिक विकासमा मार्गदर्शक र विद्यार्थीबीचको सम्बन्ध तथा सही मार्गदर्शनको महत्वबारे पनि छलफल गरिएको थियो। विद्यार्थीले आफ्ना जिज्ञासा, भविष्यका योजना तथा करिअरसम्बन्धी सोच वक्तासँग राखेका थिए।

बैंकले यस्ता कार्यक्रमले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै वित्तीय सचेतना, व्यवहारिक सीप तथा भविष्यप्रति स्पष्ट दृष्टिकोण विकास गर्न सहयोग पुग्ने अपेक्षा गरेको जनाएको छ। कामना सेवा विकास बैंकले वित्तीय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थी, युवा तथा समुदायमा वित्तीय चेतना, जिम्मेवार आर्थिक व्यवहार र जीवन उपयोगी सीपको विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

प्रतिकृया