बाढीपछि ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्ब क्षतिको प्रारम्भिक अनुमान
प्रकाशित मिति
२०८३ आश्विन ७ गते, बुधबार ०१:२६
७ असोज २०८३ काठमाडौं — भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले जलविद्युत् आयोजना, प्रसारण संरचना र जनशक्तिमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ८ सयभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बताएका छन्।
बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन प्रारम्भिक रूपमा ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको जानकारी दिए।
उनका अनुसार माथिल्लो त्रिशूली–१ आयोजनामा कार्यरत ४३९ जना, माथिल्लो त्रिशूली–३ ‘बी’का १७८, रसुवागढीका ९३, लाङटाङ खोलाका ३९ र माथिल्लो त्रिशूली–३ ‘ए’का ३९ जना सम्पर्कविहीन छन्। सम्पर्कविहीन हुनेमा नेपाल विद्युत् प्राधिकरणका ४७ कर्मचारीसमेत छन्।
बाढीका कारण ११ वटा विद्युत् उत्पादन केन्द्र बन्द हुँदा राष्ट्रिय विद्युत् प्रणालीमा ४१० मेगावाट विद्युत् उपलब्धता घटेको छ। निर्माणाधीन ५०८ मेगावाट क्षमताका ६ वटा आयोजनामा समेत क्षति पुगेको सरकारले जनाएको छ।
बाढीमा ज्यान गुमाएका वा बेपत्ता भएका प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल ५ लाख रुपैयाँ राहत तथा आगामी ६ महिनासम्म सम्बन्धित कर्मचारीले पाउने तलबको ५० प्रतिशत उपलब्ध गराउने निर्णय गरिएको मन्त्री श्रेष्ठले जानकारी दिए।






प्रतिकृया