सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, भक्तपुर पर्यटन तथा व्यापार महोत्सव शुरू
प्रकाशित मिति
२०७९ चैत्र २४ गते, शुक्रबार ०९:५९
चैत २४, २०७९, काठमाडौँ: नयाँ वर्ष २०८० को अवसरमा ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव शुरू भएको छ । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा बिहिवारदेखि महोत्सव शुरू भएको हो ।
मेलाको शुभारम्भ गर्दै नेकपा एकिकृत समाजबादीका उपाध्यक्ष एवं कृषि तथा पशुपन्छी विकाश मन्त्री डा.वेदुराम भुषालले मेला र महोत्सवले स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिनु पर्ने बताए । मन्त्री भुषालले ५१ प्रतिशत किसान भएको देशमा कृषि उत्पादन आयात गर्नु दुस्खद भएको बताउँदै मेलामा कृषिलाई प्राथमिकता दिन आग्रह गरे ।
कृषि प्रधान मुलुक पछिल्लो समय कृषि उत्पादनमा कमि आउँदा करिब २४ प्रतिशत मात्रै कृषि उत्पादनले राष्ट्रिय आयमा योगदान गरेको मन्त्री भुषालको भनाइ थियोे । “हाम्रो अर्थतन्त्रलाई सवल बनाउन, हामी स्वस्थ हुन मौलिक (अर्गानिक) कृषि उत्पानदलाई समावेश गर्नु पर्दछ,” मन्त्री भुषालले भने । भक्तपुर किसानहरुको जिल्ला भएकाले जुजु धौःको प्रचारमा सबै जना लाग्नु पर्नेमा कृषि मन्त्री भुषालले जोड दिए ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी खग्रेन्द्र प्रसाद रिजालले विगतका वर्षहरुमा जस्तै महोत्सवमा शान्तिपूर्ण ढंगले सहभागी हुन सबैमा आग्रह गरे । बिस्काः जात्रालाई ध्यान दिएर भक्तपुरमा जात्रा अवधिभर सबै जनाको सहमतिमा खुल्ला रुपमा मदिरा बिक्रि वितरणमा रोक लगाईएको प्रमुख जिल्ला अधिकारी रिजालको भनाइ थियो ।
कार्यक्रममा एकिकृत समाजवादीका भक्तपुर अध्यक्ष श्याम बस्नेत, औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महत, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति र महोत्सवका संयोजक दीपक थापाले महोत्सवले भक्तपुर सांस्कृति तथा पर्यटन विकाशमा सहयोग पुग्ने बताए । महोत्सव आयोजक समितिका संयोजक दिपक थापाले पहिलो दिननै उत्साहजनक सहभागिताले आफुहरुलाइ हौसियाएको बताए ।
औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा महोत्सव आयोजना भएको हो । महोत्सवमा मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्री, खाद्यान्न, बिभिन्न्न प्रकारका लत्ताकपडा बिक्रीका लागि राखिएको छ । त्यसरी बिक्री गरिने सामानमा २० देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाइएको आयोजक संस्थाका अध्यक्ष सन्दिप महतले बताए ।
महोत्सवमा दैनिक सांगीतिक प्रस्तुती हुने आयोजकले जानकारी दिएको छ । मेलामा प्रवेश शुल्क ५० र ७० रहेकोमा विद्यार्थी र जेष्ठ नागरिकलाई छुटको व्यवस्था गरिएको महतले बताए । महोत्सव यहिँ चैत्र २३ गतेदेखि २०८० साल बैशाख ३ गतेसम्म ११ दिनसम्म चल्नेछ ।
प्रतिकृया