• २२:१५ २०८१ बैशाख ६ गते
  • 10:15 pm

“हाम्रो जनशक्ति कति कम छ भन्ने कुरा हामीले कोभिड महामारी र डेंगुको महामारीको दौरानमा देखिसकेका छौं “(भिडियाे)

प्रकाशित मिति

२०७९ चैत्र ४ गते, शनिबार ११:२२

sagar

डा. सागर कुमार राजभण्डारी नेपालका अनुभवी र लोकप्रिय स्वास्थ्य क्षेत्रको जेनरल प्रयाक्टिशनर हुन् । उनको जन्म बाग्लुङ जिल्लामा वि.स. २०१९ सालको कोजाग्रत पूर्णिमाको दिन भएको हो । उनी मध्यम परिवारमा हुर्केका हुन् । सानैदेखि पढाईमा तीक्ष्ण बुद्धि भएका राजभण्डारी बुबाआमालाई आफ्नो सफलताको श्रेय मान्दछन् । उनी ७ महिनामा जन्मेका थिए र जन्मदा उनको वजन डेढ किलो मात्रै थियो । त्यस्तो अवस्थामा जन्मेर अहिले चिकित्सक बनी देशको सेवा गर्न पाएकोमा उनी गर्व महशुस गर्दछन् । उनले कोरोना महामारीमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आफूले पु¥याएको योगदान, नेपालका विभिन्न दुर्गम क्षेत्रमा आफूले काम गरेको अनुभव र हाल सूर्यविनायक नगर अस्पतालमा काम गर्दाको अनुभव आदि सेरोफेरोमा रहेर मातृभूमिन्यूजका सम्पादक मनोजराज रेग्मीले उनीसँग गरेको प्रत्यक्ष अन्तर्वार्ताको सम्पादित अंश ।


तपाई यो अस्पतालमा काम गर्न थाल्नु भएको कति समय भयो ? यो अस्पतालमा कस्ता कस्ता प्रकृतिका रोगहरुको उपचार गरिन्छ ?

मैले यस सूर्य विनायक अस्पतालमा काम गर्न थालेको झण्डे डेढ वर्ष भयो । म यहाँ भन्दा पहिले शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा कार्यरत थिएँ । उक्त अस्पतालबाट अवकाश लिएपछि म यस अस्पतालमा कार्य गर्न थालेको हुँ । अहिले खास गरेर काठमाडौं उपत्यकाका शहरहरु मध्ये सूर्य विनायक फास्ट ग्रोइङ सिटी हो । अधिकांश मानिसहरु यहाँ बाहिरबाट बसाई सराई गरेर आउनुभएको छ । कतिपय जागिरको सिलसिलामा, कतिपय कामको सिलसिलामा काठमाडौंबाट सरेर बस्नुभएको छ । कतिपय मानिसहरुले यहाँ घर बनाएर घर परिवारको सदस्यहरुलाई राख्नुभएको छ । यहाँ आउने बिरामीहरु मध्ये धेरै जसो नसर्ने खालको रोगहरु जस्तो डाइबिटीज, प्रेसर, थाइराइड, कतिपयलाई फोक्सो सम्बन्धी दिर्घ रोगी भएका बिरामीहरु देखिएका छन् ।


अरु अस्पतालको तुलनामा नगर अस्पतालमा काम गर्न सहज छ कि चुनौतीपूर्ण छ ?

चुनौती त जताततै छ । जहाँ चुनौती छ त्यहाँ काम गर्न मज्जा पनि हुन्छ । यो अस्पतालमा मैले काम गर्न शुरु गर्दा स्ट्रक्चरहरु मात्र अलि अलि बनेका थिए । त्यस्तै यहाँ उपकरणहरु इन्स्टलमेन्ट गर्ने, यो अस्पतालको अर्गोनोग्राम बनाउनेदेखि लिएर, हुयुमन रिसोर्सहरु भर्ना गर्ने देखि लिएर यहाँका स्टाफहरुलाई तालिम दिने जस्ता काम, इमर्जेन्सी, ओपीडि, आइसीयु लगायतको व्यवस्थापन गर्न म नै लागेको छु । यो अस्पतालमा शुन्य लेभलदेखि नै शुरु गरेको भन्दा हुन्छ । यो अस्पतालको गत वर्ष २०७८ साल फागुन ७ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । लगभग १३ महिना यो अस्पतालले कार्य गरिसकेको छ । हामीले प्रत्येक दिन १०० देखि १८० सम्म बिरामीहरु परिक्षण गरेका छौं ।


नेपालको स्वास्थ्य क्षेत्रको प्रणाली अरु देशको तुलनामा के फरक छ र डाक्टर भएर काम गर्नुपर्दा कस्ता कस्ता किसिमका चुनौतीहरुको सामना गर्नुभएको छ ?

एक्काइसौं शताब्दिमा पनि हामीले विभिन्न कठिनाईका बाबजुद विभिन्न सेवाहरु दिइरहेका छौं । वास्तवमा विद्यमान रहेको जनशक्तिको कमी, विभिन्न औषधि उपकरणको कमीको बाबजुद पनि सेवाहरु दिन बाध्य भैरहेका छौं । कतिपय स्वास्थ्यकर्मी र चिकित्सकहरुलाई जुन तलब दिइराखेको छ त्यो अन्य देशको तुलनामा एकदमै कम हो । नेपाल सरकारको क्षमता अनुसार तलब दिइराख्नु भएको छ, त्यसलाई सहर्ष स्वीकार गरेर हामीले लिइराखेका छौं । क्षमतामा हामी कम छैनौ तर स्टाफिङ प्याटर्न र टेक्नोलोजीमा केही कमी छ ।


तपाई टेकु अस्पतालमा निर्देशक भएर काम गर्दा कस्तो अनुभव रह्यो ?

अनुभव त अविष्मरणिय रह्यो । ३६ वर्षसम्म मैले नेपालको विभिन्न दुर्गम भन्दा दुर्गम ठाउँहरुमा सेवाहरु पु-याएँ । म जनरल प्रायक्टिसमा जीपी प्रयाक्टीसनर हुँ । त्यस हिसाबले थुप्रै प्रकारका सेवाहरु मैले दिइराखेको छु । सेवा गर्ने क्रममा अन्तिम ३ वर्षमा स्वास्थ्य मन्त्रालयले राष्ट्रिय क्षयरोग नियन्त्रणको निर्देशकको केन्द्रमा सेवा गर्ने मौका दियो । स्वास्थ्यको संरचनामा व्यापक परिवर्तन भएको छ । १० औं, ११ औं तहमा पुगेपछि निर्देशकहरुलाई अदली बदली गर्ने काम बारम्बार भैराखेको छ । मेरो जब २०७६ सालको फागुन महिनामा शुक्रराज ट्रपिकल अस्पतालमा सरुवा भयो, त्यस समयमा अस्पतालको अवस्था निकै नाजुक थियो । त्यहाँ विभिन्न औषधि, उपकरणको अभाव देखि लिएर बेडहरुको पनि अभाव थियो । बेडहरु पुराना थिए ।
अस्पतालजन्य फोहोर मैला व्यवस्थापन देखि लिएर गम्भीर बिरामीलाई राख्ने भेन्टीलेटर लगायत अक्सीजन प्लान्ट केही पनि थिएन । एकदमै जर्जर अवस्था थियो । त्यो अवस्थालाई मैले सहर्ष स्वीकार गरेर पहिलो चोटी लिक्वीड अक्सीजन प्लान्ट इन्स्टल गर्ने, अस्पतालभित्र नेगेटिभ प्रेसर रुम कायम राख्नको लागि उपकरण इन्स्टल गरे । म जानुभन्दा पहिले २ वटा भेन्टीलेटर थियो, म गएर २४ वटा बनाएँ, लिक्वीड अक्सिजन प्लान्ट इन्स्टल गरियो, थुप्रै सेवाहरु विस्तार गरियो । महत्वपूर्ण कुरा भनेको कोभिडको शुरुआतको समयमा टेस्ट गरेपछि सात दिनसम्म रिपोर्टको लागि कुर्नुपर्दथ्यो । त्यस अवस्थाबाट मानिसहरुलाई मुक्त गर्नको लागि मैले त्यस अस्पतलामा रहेको पुरानो पीसीआर मेसिन जुन एचआइभी एड्सको उपचारमा प्रयोग गरिन्थ्यो, त्यो मेसिनलाई प्रयोग गरेर शुरुआत ग¥यौं । मलाई गर्व लाग्दछ कि विभिन्न किसिमका श्रोत साधनको कमीका बाबजुद पनि हामीले गुणस्तरिय सेवा दिन सक्यौं, थुप्रै भन्दा थुप्रै बिरामीहरुको जीवन बचाउन सक्यौं । यो ३५, ३६ वर्षको स्वास्थ्य सेवामा काम गर्दा जुन अनुभव मैले बटुल्न पुगें, त्यो अनुभवले त्यस ठाउँमा काम गर्न मलाई धेरै सहज भयो ।


टेकु अस्पतालमा कस्ता कस्ता सरुवा रोगहरुको उपचार हुने गर्दछ ?

टेकु अस्पताल नेपालको एउटा मात्र सरुवा रोग अस्पताल हो जहाँ नेपालको ६० प्रतिशत संक्रमितको उपचार त्यहाँबाट सम्भव हुन्छ । विभिन्न किसिमका सरुवाजन्य रोगहरु जस्तै चिकेनगुनियाँ, मलेरिया, डेंगु, कालाज्वर जस्ता नयाँ नयाँ रोगहरुको पनि उपचार त्यहाँबाट हुन्छ । विभिन्न क्षयरोगको पनि उपचार भैरहेको छ भने महत्वपूर्ण उपचारको रुपमा रेबिज रोग लागेका बिरामीहरुको पनि त्यहाँ उपचार हुन्छ । टिटानसको पनि त्यहाँ उपचार हुन्छ । सरुवा रोगहरु जस्तै झाडापखाला, हैजा आदि रोगहरुको उपचार त्यहाँ हुन्छ ।


ब्याक्टेरियल र भाइरल इन्फेक्सनमा के फरक छ ? तिनीहरु कसरी पत्ता लगाइन्छ र उपचार गरिन्छ ?

अहिले जुन सिजन परिवर्तन भैरहेको छ, वातावरणले गर्दा मानिसहरुलाई असर परिराखेको हुन्छ । मौसम परिवर्तन हुँदा मानिसहरुको रोगहरुसँग लड्ने क्षमता कम हुन्छ । त्यो मौसम मात्र नभएर विभिन्न कारण हुन सक्दछ, अथवा व्यक्तिमा रहेको विभिन्न किसिमको रोगव्याधले पनि रोग प्रतिरोधात्मक शक्ति कम भएर विभिन्न भाइरस र ब्याक्टेरियाजन्य रोगले आक्रमण गर्न सक्दछ । यो खानेकुरा देखि विभिन्न कुराहरुमा निर्भर हुन्छ । कुनै कारणवश कुनै पनि व्यक्तिको शरीरमा रोगसँग लड्ने क्षमता कमी भयो भने उसलाई जुन सुकै रोगले पनि आक्रमण गर्न सक्दछ, चाहे त्यो भाइरस होस्, चाहे त्यो ब्याक्टेरिया होस् वा प्रोटोजोआ होस् ।


सिजनको कुरा गर्दा एक्कासी सिजन परिवर्तन हुँदा भाइरस जन्य रोगहरु रुघा खोकी देखि लिएर घाँटी दुख्ने, एडीना भाइरसको संक्रमण जुन एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै हावाको माध्यमबाट सर्दछ । अब ब्याक्टेरियाको कुरा गर्दा खेरि त्यो त्यसरी सर्दैन । विभिन्न किसिमका रोग व्याधिहरु जस्तै झाडापखाला, टाइफाइड, मलेरिया, हैजा यी ब्याक्टेरियाबाट सर्दछ । यी रोगहरु खानेपानी तथा खाद्यपदार्थबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सम्भावना हुन्छ । लक्षणको कुरा गर्दा झण्डै झण्डै एउटै हुन्छ, थप पुष्टि गर्नको लागि उहाँहरुको रगत परिक्षण, त्यसपछि दिशा पिशाब परिक्षण, त्यस्तै अन्य परिक्षण गरेर यो कुन प्रकारको भाइरल वा ब्याक्टेरिया वा प्रोटोजोआ वा फंगल भनेर हामीले छुट्याउँछौं ।


के अब नेपालमा कोरोना भाइरसको विरुद्ध हर्ड इम्युनिटी विकास भएको हो ? यसले कसरी मानिसहरुलाई सरुवा रोगहरुबाट बचाउँछ ?

कोभिड २, ३ वर्ष अगाडि देखिएको सरुवा रोग हो । हामी भाग्यमानी मान्नुपर्दछ कि हामीले खोपको इतिहासमा कोभिडको खोप १ वर्षमै लगाउन सक्षम भयौं । आजका दिनसम्म चौथौ, पाँचौ पटक खोप लगायौं । पहिलो खोप मैले लगाएको हो र अहिलेसम्म पाँचवटा खोप लगाइसकेका छौं । भ्याक्सिनले मानिसलाई एउटा इम्युनिटी विकास गर्ने हो, यसको मतलब खोप लगाउँदैमा त्यो मानिसलाई कोभिड नहुने भन्ने होइन, हुन सक्दछ । फरक यत्ति हो कि संक्रमित भइहालेमा पहिले जस्तो कडा भन्दा कडा लक्षण देखिंदैन । त्यसले गर्दा बिरामीलाई धेरै कडा खालको उपचार आइसीयुमा राख्ने जस्ता कार्य गर्नुपर्दैन । अहिले पनि कोभिडका रोगहरु देखिएका छन्, हिजो मात्र हामीले एकजनालाई भर्ना गरेका छौं । अहिले पनि फाट्टफुट्ट कोभिडका केसहरु देखिएका छन् । फरक यत्ति हो कि पहिले खोप नलगाउँदा गम्भीर प्रकारका लक्षणहरु देखिन्थे भने अहिले खोप लगाइसकेपछि गम्भीर लक्षण देखिएको छैन ।


अहिले मानिसले कोभिड १९ लाई सामान्य रुघा खोकीको रुपमा लिएको हुँदा पब्लिक हेल्थको प्रोटेक्टिभ उपायहरु अपनाएको देखिंदैन, मानिसहरुले मास्क लगाउन छोडिसके, ह्याण्ड स्यानिटेजशनका कुराहरु पनि छोडिसके । जताततै भीडभाड छ, सभा सम्मेलनहरु भैराखेको छ, मानिसहरुले जनस्वास्थ्यको मापदण्ड अपनाएको देखिंदैन, त्यसैले अहिले पनि नआउला भन्न सकिंदैन । मुख्य कुरा कोभिड १९ का सब भेरियन्टहरु देखिएको छ, यो परिवर्तनशिल देखिएको छ, भोलिका दिनमा विभिन्न प्रकारका लक्षण देखाउन सक्दछ । त्यो नियन्त्रण गर्नको लागि हामी तयारी रहनुपर्दछ ।

हर्ड इम्युनिटीको सन्दर्भमा त्यो भएको देखिंदैन किनभने भ्याक्सिन लगाइसकेपछि कति समयसम्म मानिसकोे शरीरमा रहन्छ भन्ने कुरा भन्न सकिने अवस्था छैन ।


सरुवा रोगहरुविरुद्ध लड्न नेपालमा के कस्ता चुनौतीहरु रहेका छन् ?

हाम्रो जनशक्ति कति कम छ भन्ने कुरा हामीले कोभिड महामारी र डेंगुको महामारीको दौरानमा देखिसकेका छौं । कुनै पनि संस्थामा सरकारले राखेका दरबन्दी अनुसार कर्मचारी छैनन् । थुप्रै ठाउँहरुमा आवश्यक पर्ने औषधि तथा उपकरणहरु पनि छैन । अहिले अनियन्त्रित रुपमा दिइएका भेन्टीलेटरहरु अस्पतालमा त्यत्तिकै थन्किएर रहेका छन् । त्यसलाई चलाउने म्यानपावरको व्यवस्थापन गर्न सकिएको छैन । त्यो चलाउनको लागि स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई तालिमको व्यवस्था गर्न सकिएको छैन । कतिपय मेशिनहरु पुराना भैसके । त्यसकारण चुनौती थुप्रै छन् । यस्ता नयाँ नयाँ सरुवा रोगहरुको व्यवस्थापन गर्नको लागि छुट्टै अस्पतालहरु स्थापना हुनुपर्दछ । सरकारले विभिन्न प्रदेश स्तरिय ७ वटा प्रदेशमा ७ वटा अलग अलग प्रदेश स्तरको सरुवा रोगको अस्पताल स्थापना गर्ने भनिएतापनि अहिलेसम्म एउटा प्रदेशमा मात्र स्थापना गर्न सकिएको छ । अरु प्रदेशमा गर्न सकिएको छैन । मलाई के लाग्दछ भने यसरी अलग अलग अस्पताल बनाउनुभन्दा पनि भैरहेका अस्पतालहरुमा त्यहाँ रहेका कर्मचारीहरुलाई र स्वास्थ्यकर्मीहरुलाई तालिम दिएर लजिस्टिक सपोर्ट गरेर सरुवा रोग व्यवस्थापन गर्ने युनिट स्थापना गर्न सकियो भने सबैभन्दा राम्रो हुन्छ ।


कोभिड १९ विश्व महामारीको विरुद्ध टेकुमा कार्यरत रहँदा कस्ता अनुभवहरु भए र यसबाट कस्ता शिक्षाहरु पाउनुभयो ?

मलाई गर्व लाग्दछ कि त्यो प्रकोपको अवस्थामा मैले जिम्मेवारी लिने मौका पाएँ, त्यो अवस्थामा अस्पतालको तयारी कसरी गर्नुपर्दो रहेछ, अस्पतालको ह्युमन रिसोर्सको व्यवस्थापन गर्न के कस्तो सहकार्य गर्ने, मन्त्रालयसँग कसरी सहयोग माग्ने, अथवा दातृसंघ संस्थासँग कसरी सहयोग माग्ने, समन्वय कसरी गर्ने भन्ने कुरा सिक्ने मौका पाएँ । साथसाथैै अर्को कुरा सबैको समर्थनले स्वास्थ्य मन्त्रालयदेखि विभिन्न संघ संस्थाको खासगरी संचारकर्मीबाट पनि मैले ठूलो सहयोग पाएँ ।


कोभिड १९ बाट कसरी बच्न सकिन्छ, जनतालाई कसरी बचाउन सकिन्छ, कस्ता लक्षणहरु देखा पर्दछन्, कस्तो अवस्थामा घरमा बस्ने, कस्तो अवस्थामा अस्पतालमा भर्ना गर्नुपर्दछ, मिडियाको प्रयोग गरेर मैले जनचेतनाको कुराहरु राख्ने गरेको थिएँ । गम्भीर प्रकारका बिरामीहरुलाई कस्तो प्रकारको औषधि प्रयोग गर्ने यी कुराहरु सिक्न सक्यौं । देशमा सरुवा रोगको छुट्टै एउटा अस्पताल हुनुपर्दछ र त्यसमा चाहिने सुविधा हुनुपर्दछ भन्ने कुरा सिक्न सक्यौं । समस्या परेपछि हामी नेपालीले गर्न सक्दछौं भन्ने कुरा देखिएको छ ।


कोभिडको महामारी केही मत्थर भए पनि भारतमा फेरि स्वाइन फलुले मानिसहरुलाई दुःख दिइरहेको छ भन्ने सुन्नमा आएको छ । यस्ता विभिन्न किसिमका सरुवा रोगहरुबाट बच्न मानिसहरुलाई के कस्ता सल्लाह र सुझाव दिनुहुन्छ ?

सबैभन्दा पहिलो कुरा त कोभिड १९ को केसहरु केही मत्थर मात्रै भएको हो, यो समाप्त भएको होइन र यो अहिले पनि छ । पहिला एउटा त्रासमय अवस्था थियो तर अहिले छैन । पहिला मानिसहरु त्रास भएर परिक्षण गर्न जान्थे, अहिले त परिक्षण पनि हुँदैन । गम्भीर प्रकृतिको बिरामीहरु जुन अस्पतालमा भर्ना हुन्छन् उनीहरुको मात्र परिक्षण हुन्छ । अहिले नेपालमा मात्र होइन विभिन्न छिमेकी मुलुकमा भाइरल इन्फेक्सनहरु देखिएको छ । स्वाइन फलुको कुराहरु, सिजनल फ्लुको कुराहरु, कोरोना भाइरसको समस्याहरु अहिले पनि नेपालमा देखिएका छन्, स्वाइन फ्लुले त्यति आतंक सिर्जना गरेको छैन, मानवमा देखिएको छैन । भाइरसले आफ्नो स्वरुप परिवर्तन गर्यो भने मानिसहरुमा पनि देखिन सक्दछ, हामी निकै चनाखो हुनुपर्दछ । त्यस्ता चीजहरुबाट बच्नको लागि पंक्षीहरुको कसरी व्यवस्थापन गर्ने, स्वाइन फ्लु लगायत अन्य एभियन इन्फ्लुन्जा भएका पशुपंक्षीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा सबैसँग व्यवस्थापन गरेर गर्नुपर्दछ । त्यसपछि मात्र हामीले त्यसलाई समयमै नियन्त्रण गर्न सक्दछौं जस्तो लाग्दछ । त्यस्तै विभिन्न किसिमका भ्याक्सिनेसनका कुराहरुमा जनतालाई सूसुचित गरेर जनतालाई तुरुन्तै लगाइदियो भने राम्रो हुन्छ । जस्तो कि सरकारले कोरोना विरुद्धको बुस्टर ल्याएको १ महिना भैसक्यो, अझ पनि वितरण हुन सकेको छैन । भ्याक्सिनहरु तुरुन्तै योजनाबद्ध रुपमा वितरण गर्ने गर्नुपर्दछ ।


यस्तो अवस्थामा हरेक दिन मिडियाहरु प्रयोग गरेर स्वास्थ्य मन्त्रालयले आफ्नो विभिन्न नेटवर्कमार्फत सूचनाहरु प्रसार गर्ने, रुघाखोकी, कोरोना भाइरस र इन्फलुन्जा भाइरसबाट बच्न के के गर्न सकिन्छ, कस्ता चीजहरु हामीले सेवन गर्ने, कस्ता व्यक्तिहरुलाई आइसोलेसनमा राख्ने जस्ता सूचनाहरु दियो भने यस्ता रोगहरुबाट बच्न सकिन्छ ।

प्रतिकृया