नकारात्मक जागरण तर्फ नेपाली युवा
प्रकाशित मिति
२०७८ आश्विन ७ गते, बिहीबार १२:५०
अशोक राउत, काठमाण्डौं: वर्तमान नेपाली समाजमा समग्र राजनितिमा चासो राख्ने जमातको संख्या थपिदै गएको छ । राजनिती प्रति आम सर्वसाधारण नागरिकको चासो वढ्नु लोकतन्त्रको सवल पक्ष हो । राजनितिले नै समग्र समाज, राष्ट्र र विश्वलाईनै मार्गदर्शन गर्ने हुनाले यस प्रति आम नागरिकको चासो , चिन्ता र जानकारीले समाज रुपान्तरणको मार्गमा सकारात्मक वल पुग्छ। यसकारण लोकतन्त्रको वलियो र सवल पक्ष भनिएको हो तथापी निरंकुश शासन व्यवस्थामा पनि आमनागरिकको चासो लाई पुरै ईन्कार गरिएको हुदैन।
तर निरंकुश शासन व्यवस्थालाई अहिलेको समग्र विश्वले ईन्कार गरेको सन्दर्भमा यस तर्फ चर्चा गर्नु खासै उचित देखिदैन । समाजमा हरेक सामाजिक राजनितिक कुराको चासो, चर्चा र चिन्ता हुनुले त्यस समाजमा वर्तमान समयमा शिक्षाको प्रभाव के कती मात्रमा परेको छ भन्ने कुराको निर्धारण गर्दछ। त्यसैले यसलाई समाज रुपान्तरणको मुख्य तत्व भन्ने गरिन्छ त्यसै गरी दोस्रो तत्वको रुपमा संचार क्षेत्रलाई लिने गरिन्छ , तिव्र गतिमा विकास हुदै गएको संचारको पहुँच कती मात्रामा आम सर्वसाधारण सम्म पुगेको छ भन्ने कुराको पुष्टि पनि उक्त समाज द्वारा सिर्जनाहुने क्रिया प्रतिकृयाको परिणाम हेरेर थाहा पाउन सकिन्छ ।

वर्तमान नेपाली समाजमा उल्लेखीत दुवै तत्वहरुको विकास क्रमश: सन्तोषजनक रुपमा भएको पाईन्छ । विगतका दशकहरुमा निकै थोरै मात्रामा आम नागरिकहरुले शासकको गुण, व्यवहार र शैलिलाई आफ्नै मौलिक तरिकाले व्याख्या विश्लेषण गर्ने तथा नकारात्मक कुराको खण्डन गर्ने, सकारात्मक कुराको ग्रहण गर्ने गर्थे। निकै थोरै मानिसहरुमा शिक्षा र संचारको पहुँच थियो जसले गर्दा समाजिक राजनैतिक जागरणमा आम नागरिकको चासो निकै कम थियो ।

अहिलेको सन्दर्भमा आम नागरिकहरु पहिले जस्तो शासकको गुण, व्यवहार र शैलिलाई जस्ताको तस्तै स्विकार गर्न कदापी सक्दैनन। समाजमा शिक्षाको स्तर निकै परिवर्तन भई आम संचारका कुनै न कुनै माध्यममा धेरै जसो आम सर्वसाधारणको पहुँचमा भएको वृद्धिले यसमा महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको छ ।
व्यक्तिहरुमा आएको यस खालको परिवर्तनले गर्दा राजनितिकर्मी र सो सम्वन्धी चासो राख्ने जो कसैलाई पनि हिजोको जस्तो सामान्य खालको चिन्तनले आफ्नो क्षेत्रमा रहिरहन सक्ने वातावरण अवका दिनहरुमा रहन्न। यता तर्फ राजनितिकर्मीले वेलैमा आफुलाई समयानुकुल रुपान्तरण गर्नपर्ने अवस्था छ ।
अर्को तर्फ आम युवा पंक्तिमा आएको जागरणले पनि सामाजिक राजनितिक क्षेत्रमा महत्वपुर्ण ईटा थपिएको छ। शासकका हरेक कृयाकलापको नजिकवाट नियाल्न, र पाईला पाईलामा खवरदारी गर्न एउटा जागरुक युवाको महत्वपर्ण दाईत्व हो, तर खवरदारीका निम्ति पनि राजनितिक चेतना चाहिन्छ । समाजमा युवाहरुमा आएको जागरणले राजनितिमा मौलाउदै गएको तिव्र अवसरवाद र व्यक्तिवादालाई परास्त गर्न महत्वपुर्ण औजारको कार्य गर्दछ । अहिलेको समयमा विभिन्न रुप लिएर देखा परेको अवसर वाद र व्यक्तिवादी प्रवृत्तिका विरुद्ध युवाहरुले थकान बिहिन अनवरत रुपमा निर्मम संघर्ष चलाउनु पर्दछ । जनताको क्रान्तिकारी आन्दोलनलाई अगाडी वढाउने,समाजमा जागरण सिर्जना गर्ने हो भने अवसर वाद भनेको मज्दुर आन्दोलन भित्रको पुँजीवादी प्रभाव हो भन्ने न्यनतम राजनितिक चेतना आम युवामा रहनु जरुरी छ ।
तर जागरणका नाममा सवै खाले अवसरवाद र व्यक्तिवादलाई परास्त गर्नको लागि स्वतन्त्र विवेक गुमाई अर्को व्यक्तिवादको आवरणमा एउटा व्यक्तिवादालाई खेदो खन्ने प्रवृत्तिको युवाहरु द्वारा मलजल गरिनु अहिलेको दुर्भाग्य हो । हरेक कुराको विकल्प हुने गर्दछ , अर्थशास्त्रको नियम अनुसार जुन सुकै तथ्यको निष्कर्ष निकाल्दा अन्य कुराहरु यथावत रहेमा वा अन्य कुराहरु चलायमान भएमा माग र मुल्यको सम्वन्ध तथा पुर्ति र मागको सम्वन्ध र त्यसले वजारमा पार्ने प्रभावको वारेमा व्याख्या गरिन्छ। सोही कुरा राजनितिमा लागु हुने गर्दछ । यसको तात्पर्य के हो भने जागरण भनेको विरोध मात्र होईन विकल्प पनि हो ।
समाजमा वाद, प्रतिवाद र सम्वादको माध्यमवाट विकल्प प्रस्तुत गर्नु भनेको उक्त समाजमा सकारात्मक जागरण पैदा गर्नु हो। अहिलेको युवा पुस्तामा नेपाली आर्थीक, राजनितिक धरातलको गहिरो अध्ययन नगरी अन्य मलुकको नक्कल गर्ने प्रवृत्ति र वैधानिक अवसरहरुको प्रयोग गर्न ईन्कार गरी विभिन्न रुपमा देखा परेका गलत क्रियाकलापको ढाकाछोप गर्ने माध्यम वनेको छ । उदाहरणको रुपमा भर्खरै वुटवलमा भएको घटनालाई लिन सकिन्छ। आफ्नै पार्टीका युवाको भावनामा खेलेर निजलाई माध्यम वनाई आफ्नै पार्टीका मेयर विरुद्ध मुक्का प्रहार गराई अदृश्य तत्वले आफ्नो कुकर्मलाई ढाकछोप गर्ने माध्यव वनाएको पाईन्छ ।
सामाजिक संजालमा निम्नस्तरका टिका टिप्पणी वाहेक समाजले उक्त घटनाको न त जिम्मेवारी लिएको छ , न त खुलेर विरोध गर्न सकेको छ । यसवाट के बुझिन्छ भने समाजमा स्वतन्त्र राजनितिक निर्णय गर्न सक्ने जमातको संख्या अझै न्युन छ ।
समाज अझै व्याप्त गुटवन्दी र नातावाद तथा अवसरवादको चपेटामा परिरहेको छ । अन्त्यमा एक युवाले आवेगमा सिर्जना गरेको विद्रोहले उल्टै तमाम युवाहरुलाई तनाव सिर्जना गरेको छ । हो जन प्रतिनिधी हरुले आफुले दिने दैनिक प्रशासनिक सेवा समेत उपलब्ध गराउन नसकेकेको कुरा साँचो हो, चुनावको वेला गरेका वाचा पुरा नगरेका साँचो हो। जसको सिकार स्वयं पंक्तिकार पनि हो, मेरा पनि थुप्रै असहमतिहरु छन जुन समयक्रम संगै उजागर हुनेनै छन । यसरी जागरणमा आएको नकारात्मक प्रवृत्तिले परिवर्तन द्वारा प्राप्त उपलव्धिलाई अनुपयोगी तथा भुत्ते पार्ने खतारा निम्तिन सक्छ भन्ने मेरो मत हो। त्यसैले अहिलेको समयमा आएको जागरणलाई अवसरवाद र व्यक्तिवादका विरुद्ध चरण चरणमा निर्मम तर वैधानिक संघर्ष गर्दा साँचो अर्थमा समाजवादको जन्म हुनेछ। जुन एउटा सकारात्मक तर महान उपलब्धि हनेछ । त्यसको लागि युवाहरुमा त्याग तपस्या र लगनसिलताको खाचो छ ।
युवाहरु विद्रोहका वन्दुक मात्र होईनन सिर्जनाका सम्वाहक समेत हुन भन्ने कुराको साँचो अर्थमा प्रयोग सिद्ध गर्ने वेला आएको छ । त्यसैले नकारात्मक टिका-टिप्णीहरुमा रमाउनु भन्दा देशलाई केही सिर्जनसिल योगदान दिन सक्ने विषयको खोजी गरौ ।
आलेखमा प्रकाशित बिचार लेखकका निजी बिचार हुन। लेखक समसामयिक बिषयमा कलम चलाउछन्।




प्रतिकृया