• ४ साउन २०८३, सोमबार
  • ३:४८ बिहान

कोभिड–१९ बाट आक्रान्त वर्तमान परिस्थिति र आन्तरिक मूल्याङ्कनको सन्दर्भ

प्रकाशित मिति

२०७८ जेष्ठ २४ गते, सोमबार ०३:३५

बुद्धिकुमार घो – प्रधानाध्यापक, आदर्श मा.वि, लायकु थिमि.

कोभिड–१९ बाट आक्रान्त वर्तमान परिस्थिति र आन्तरिक मूल्याङ्कनको सन्दर्भ
१. विषय प्रवेश – यतिबेला हाम्रो देश विश्वव्यापी कोभिड–१९ महामारीको दोस्रो भेरिन्यन्तको देशव्यापी फैलावतबाट आक्रान्त छ । नयाँ वर्ष २०७८ प्रारम्भ भएको दोस्रो हप्तादेखि शुरूभएको सोको प्रकोप झन झन बढ्दै गई जिल्ला प्रशासन कार्यालय मार्फत विभिन्न जिल्लाहरूमा आ–आफ्नो परिवेश अनुसार निषेधाज्ञा जारी गनृुपर्ने स्थिति सृजना हुँदै गएको देखिन्छ । शुरूमा काठमाण्डौं उपत्यकाका तीन जिल्लसहित १४ वटा जिल्लाहरू उच्च जोखिममा रहेको भनिएकोमा पछिल्लोपल्ट देशका ७२ वटा जिल्लाहरूमा निषेधाज्ञा लागु गरिएको तथ्य बाहिर आएको छ ।

Kamana Sewa

स्वास्थ्य मन्त्रालयबाट जारी हुँदैआएको विज्ञप्तिको आधारमा जेष्ठको दोस्रो हप्ता पीसीआर परीक्षण र संक्रमितहुने दर अत्यधिक रहेकोमा तेस्रोहप्ता तिर सोको परीक्षणको संख्या घटेसंगै संक्रमित संख्या पनि घटेको देखिएको छ यद्यपि संक्रमित हुने दर र संक्रमण हुने दरमा तात्विक अन्तर नदेखिएको कुरा तुलनात्मक अध्ययनबाट प्रष्ट हुन्छ । यसबाट देशको समग्र क्षेत्र र जनजीवन अत्यन्त प्रभावित हुन पुग्यो । यससंगै देशको शैक्षिक क्षेत्र पनि अछुटो रहन सकेन । विद्यालय महाविद्यालयहरू फेरी थप्प हुन पुगे । विद्यलय तहको वार्षिक परीक्षाको तयारीमा रहेका देशका अधिकाँश विद्यालय तथा अध्ययनरत लार्खौ विद्याथीहरू अन्योलग्रस्त हुन पुगे भने तमाम अभिभावकहरू आफ्ना सन्तानहरूको भविष्यप्रति चिन्तित हुन थाले । यद्यपि विश्वव्यापी बनेको यो महामारीमा तत्कालको पढाई भन्दा ज्यान ठूलो भन्ने मनसायले सबैले परिस्थितिको उपजकोरूपमा लिएको नै देखियो ।

Classic Tech Desktop

२. वार्षिक परीक्षा र एस.ई.ई स्थगन
कोरोनाको बढ्दो चपेटासंगै जेष्ठको पहिलो हप्तादेखिका लागि तय गरिएका देशका प्रायः सबै सामूदायिक विद्यालय तथा कतिपय नीजी विद्यलयको विद्यालय तहको वार्षिक परीक्षाहरू स्थगित हुन पुगे । राष्ट्रिय स्तरमा सञ्चालन हुने जेष्ठ १३ का लागि तय कक्षा १० को एस.ई.ई परीक्षा र जेष्ठ २६ गतेदेखिका लागि तय कक्षा १२ को बोर्ड परीक्षा स्थगित भएपछि पालिकास्तरमा सञ्चालन हुने कक्षा ८ को आधारभूत तहको परीक्षा र विद्यालय स्वयँले गर्ने अन्य कक्षाहरूको वार्षिक परीक्षा समेत अन्योलमा पुग्यो । नेपाल सरकारले २०७८ असार १ गतेदेखि यसवर्षको लागि विद्यालय तहको नयाँ शैक्षिक सत्र कायम गरेकाले जेष्ठको पहिलो सातादेखि देशका विभिन्न पालिकाहरूले आधारभूत तहको वार्षिक परीक्षाको नतिजा विद्यालयको आन्तरिक मूल्याङ्कन प्रक्रियमार्फत गर्ने गरी पालिकास्तरीय निर्देशन तथा कार्यविधि जारी गर्न थाले भने कतिपयले वैकल्पिक विधि र प्रक्रियामार्फत परीक्षा नै सञ्चालन गर्ने निर्देशन पनि जारी गरेको देखियो ।


नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको राष्टिय परीक्षा बोर्डद्वारा एस.ई.ई. र कक्षा १२ को बोर्ड परीक्षा सञ्चालन सम्बन्धी सुझाव दिन गठित कार्यदलको प्रतिवेदनका आधारमा जेष्ठको १७ गते मन्त्री परिषदको निर्णयबाट यसवर्ष पनि एस.ई.ई. परीक्षा सञ्चालन नगरी विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरे पश्चात विद्यालय तहको सबै कक्षाको वार्षिक परीक्षाको नतिजा आन्तरिक मूल्याङ्कनबाट नै हुने निश्चित भएको छ । यद्यपि, कतिपय पालिकाहरूको निर्देशन तथा विद्यालय आफनै तजवीजमा एकमहिना भन्दा बढी समयदेखि अनलाइन कक्षामा सहभागी हुँदै आएको विद्यार्थीलाई कुनै परिक्षा नलिई शैक्षिक सत्रको सेसन अन्त भएको घोषणा गर्न असहज महशुस गरी जेष्ठको तेस्रो सातादेखि अनलाइनमार्फत भए पनि अन्तिम परीक्षा सञ्चालन गरेको देखिन्छ । यसबाट प्राप्तहुने नतिजाको केही अंश आन्तरिक मूल्याँङ्कनका लागि उपयोगी हुने देखिन्छ ।


३. एस.ई.ई. परीक्षामा सम्मिलित हुने विद्यार्थीहरूको अवस्था : गतवर्ष र यसवर्ष
यसै परिप्रेक्षमा आन्तरिक मूल्याङ्कन भित्र समेट्नुपर्ने आधार र विषयवस्तुका सन्दर्भमा वृहत छलफलको आवश्यकता महशुस गरिएको छ । एस.ई.ई. को आन्तरिक मूल्याङ्कनकै सवालमा गतवर्ष र यसवर्ष आन्तरिक मूल्याङ्कनका आधारहरूमा तात्विक भिन्नता हुने कुरा ती विद्यार्थीहरूको देहायको भिन्नतालाई नजरअन्दाज मिल्दैन ।


तालिक १ : एस.ई.ई. परीक्षामा सम्मिलित हुने विद्यार्थीहरूको अवस्था (गतवर्ष र यसवर्ष)
गतवर्ष (SEE 2076) मा दिने विद्याथीको अवस्था

१. पाठ्यपुस्तक २०७५ चैत्र-२०७६ वैशाखको शुरूमै उपलब्ध भएको र वैशाखको अन्तसम्ममा प्रायः सबैले प्राप्त गरिसकेको ।

२. शैक्षिक सत्रको प्रारम्भ समय वैशाखको शुरूदेखि एस.ई. ई. परीक्षाको अघिल्लोदिन (२०७६चैत्र ५) सम्मनै भौतिक उपस्थितिमा पढ्ने अवसर पाएको

३. पाठ्यक्रममा आधारित निर्धारित कोर्ष पूरा गर्नलाई कुनै अनलाइन कक्षा वा कुनै प्रकारको वैकल्पिक प्रणालीमा भरपर्नु नपरेको

४. विद्यालयस्तरबाट लिइने आन्तरिक परीक्षा अन्तर्गतको प्रथम, दोस्रो त्रैमासिक र सेन्टअप लगायतका सबै परीक्षाहरू भातिक उपस्थितिमै सहजतापूर्वक सञ्चालन, सोको नतिजा प्रकाशन र विद्यालयको आ–आफ्नो परिवेश र आवश्यकता अनुसार (बोडर्स, डे बोडर्स) मा राखी एस.ई.इं. तयारी विशेष कक्षाहरूसमेत सञ्चालन गर्न भ्याएकाले विद्यार्थीहरूको स्तर र परीक्षमा विश्वसनीयता रहनु

५. विद्यार्थीको आन्तरिक मूल्याङ्गकनका लागि विश्वसनीय परीक्षका प्रशस्त आधार विद्यमान रहेको

६. विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनका लागि सबै विद्यार्थीहरूको भौतिक उपस्थितिमा सञ्चालित वास्तविक एवम् मयार्दित सेन्टअप लगायकतका परीक्षाहरूको नतिजा विद्यालयमा उपलब्ध रहेको


यसवर्ष(SEE 2077) दिने विद्याथीको अवस्था

१. पाठ्यपुस्तक २०७७ असारदेखिमात्र उपलब्ध हुन थालेको र आश्विन सम्म मात्र प्रायः सबैले लिन पाएको ।

२. वैशाख देखि मंसीर महिनासम्म सिङ्गोदेश लकडाउनमा रहेकाले पुष मध्य वा माघको शुरूदेखिमात्र भौतिकरूपमा उपस्थित भई पढ्ने अवसर पाएको

३. निर्धारत कोर्षको विषयवस्तु अध्ययन गर्न भौतिक उपस्थितिको पठनपाठन अघिको लकडाउन अवधि र सो पछिको निषेधाज्ञा अवधिमा टीभी, रेडियो कक्षा तथा अनलाइन कक्षामामा भरपर्नु परेको र कतिपय यी सुविधाबाट पनि बञ्चित भई पढ्नै नपाएको

४. भौतिक उपस्थितिको कक्षा सञ्चालनका करीव तीन महिना बाहेकका अन्य दिनहरूमा परीक्षा, पढाई सबै अनलाइन विधिमा निर्भर रहनु परेको र सोको पहुँचमा नरहेका विद्यार्थी हरू परीक्षा र पढाईबाट पनि बञ्चित हुनुपरेको । प्रायः परीक्षाहरू अनलाइन प्रक्रियामार्फत नै सञ्चालन हुने गरेको । अनलाइन परीक्षामा विद्यार्थी स्वँय घरबाट सहभागी हुनेहुँदा सोको विश्वसनीयतामा स्वाभाविक प्रश्न उठ्नु ।

५. विद्यार्थीको आन्तरिक मूल्याङ्कनका लागि परीक्षाहरूमात्र पूर्णतः विश्वस्नीय आधार मान्न सकिने स्थिनि नरहेको

६. थोरै अवधिको भौतिक उपस्थितिको कक्षा सञ्चालनको क्रममा लिइएको परीक्षा र अनलाइन परीक्षाहरूका नतिजा विद्यालयसंग रहेपनि ती विश्वसनीय, मयार्दित वा वास्तविक परीक्षाको नतिजा उपलब्ध नरहेको


यस आधारमा विश्लेषण गर्दा गतवर्ष जस्तो विद्यालयले सञ्चालन गरेका परीक्षाहरूलाईमात्र आधार मानेर यसवर्ष एस.ई.ई. परीक्षामा सम्मिलित हुने विद्यार्थीहरूको आन्तरिक मूल्याङ्कन गर्ने स्थिति छैन । कक्षा १० बाहेक अन्य विद्यार्थीहरूको स्थिति पनि यो भन्दा फरक छैन । तसर्थ यसवर्ष एस.ई.ई. दिने लगायत अन्य कक्षाका विद्यार्थीहरूको आन्तरिक मूल्याङ्कनका लागि ती परीक्षाहरू लगायत अन्य कुराहरूलाई समेत आधार मान्नुपर्ने हुन्छ । के के हुन सक्छन् त अन्य आधारहरू ? यस सम्बन्धमा पनि चर्चा गरौं ।


४. आन्तरिक मूल्याङ्कनका लागि संभावित आधारहरू
भनिन्छ, सिकाइ कहिल्यै नरोकिने निरन्तर प्रक्रिया हो । कोभिड–१९ महामारीबाट उत्पन्न परिस्थितिवस् विद्यार्थीहरूको भौतिक उपस्थितिको पढाई रोकिएको हो सिकाइ रोकिएको होइन । हरेक मानिसले जीवनभर सिकिरहने गर्छन् । अझ विद्यालय उमेरका विद्यार्थीहरू त त्यसै पनि सिक्ने र नविन ज्ञान हासिल गर्ने मामिलामा अत्यन्त उर्वर समय मानिन्छ । उनीहरू जहाँ रहे पनि केही न केही सिकिरहेकै हुन्छ र ज्ञान पाइरहेकै हुन्छन् । यसमा परिवारभित्रको रवातावरणले महत्वपूर्ण भूमिक खेल्नेमा कसैको दुइमत नहोला । निषेधाज्ञाले विद्यार्थीहरू बाहिरी वातावरणमा घुलमिल हुन पाएका छैनन् । साथी संगीहरूसंग भेटघाट गर्न पाएका छनन् ।


उनीहरू परिवारभित्र छन् । यद्यपि परिवारभित्र आमाबाबु, अभिवावककोरुपमा रहेका अग्रज बाजेबज्यै दाजु भाउजु, दिदी बहिनी काका काकी लगायत सबैले बोल्ने बोली वचन, गर्ने व्यवहार, वरिपरिको वातावरण , रेडियो, टीभीले प्रवाह गर्ने ज्ञान, इमेल इन्टरनेट तथा सामाजिक सञ्जालबाट प्राप्तहुने ज्ञान आदिबाट विद्यार्थीले निरन्तर केही न केही सिकिरहेका हुन्छन् । पहूँच पुगेकाले अनलाइन कक्षामार्फत शिक्षकहरूबाट पाठसंग सम्बन्धित विषयमा सिकाइ प्राप्त गरिरहेकै हुन्छन् । त्यसैले यस्तो परिस्थितिमा विद्यार्थीहरूको आन्तरिक मूल्याङ्कनका लागि विद्यालयले सञ्चालन गरेका विषयगत परीक्षामा मात्र सिमित रहनु सर्वथा अनुचित हुन्छ । यस्तो आवस्थामा विद्यार्थीहरूले प्राप्त गरिरहेको ज्ञान, सीप र धारणा तथा व्यवहार परिवर्तनलाई पनि मूल्याङ्कनको विषयवस्तु बनाउनु उचित हुन्छ । अतः अहिलेको परिवेशमा विद्यार्थीहरूको आन्तरिक मूल्याङ्कनका लागि निम्न विषय क्षेत्रलाई आधार लिनु वान्छनीय देखिन्छ ।


तालिका २ : आन्तरिक मूल्याङ्कनका संभावित विषय क्षेत्रहरू
क्र.सं. विषयक्षत्रहरू कैफियत
१. विद्यार्थीहरूको भौतिक उपस्थितिमा भएका परिक्षामा प्राप्त गरेको नतिजा
२. अनलाइन मार्फत भएका परीक्षामा प्राप्त गरेको नतिजा

३. भौतिक उपस्थितिको कक्षामा विद्यार्थीहरूको हाजिरी
४. भौतिक उपस्थितिमा विद्यार्थीहरूले गरेका कक्षाकार्य र गृहकार्य
५. भौतिक उपस्थितिमा विद्यार्थीहरूले विद्यालयसमयमा देखाएको व्यवहार, दैनिक क्रियकलाप
६. भौतिक उपस्थितिको कक्षा समयमा विषय शिक्षकले दिइएका परियोजना कार्यको नतिजा
७. विद्यालयका विभिन्न अतिरिक्त क्रियकलापमा सहभागिता, प्रदर्शित अनुशासन तथा नतिजा
८. अनलाइन कक्षामा विद्यार्थीहरू सहभागिता, सक्रियता र शिक्षकहरूप्रति देखाएको व्यवहार (अन्तरक्रिया, बोलीवचन आदि)
९. अनलाइन कक्षा अवधिमा कक्षामा प्रवेश नगरी सामाजिक सञ्जाल वा मेसेन्जर लगायतमा उनीहरूले गरेका पोष्ट वा टिकाटिप्पणी
१०. विद्यालयको भौतिक सम्पती माथिको दृष्टिकोण र व्यवहार


५. विद्यालयले तय गरेको अन्तरिक मूल्याङ्कनको मापदण्ड
विद्यालय तहको शैक्षिक सत्र २०७७ मा अध्ययनरत विद्यार्थीको पठनपाठनको स्थिति एकनाशको रहन सकेन । यस अवधिमा विभिन्न पालिकाहरू अन्तर्गनतका विद्यालयको अवस्था फरक फरक रहयो । भौतिकरूपमा कक्षा सञ्चालनको अवस्था, अनलाइन कक्षा सञ्चालनको अवस्था, भौतिकरूपमा परीक्षा कक्षा सञ्चालनको अवस्था र अनलाइन परीक्षा सञ्चालनको अवस्था, ती परीक्षामा विद्यार्थी सहभागिताको अवस्था एकनाशको नभर्ई आ–आफ्नै खालको रहयो । सबैको आ–आफ्नै कथाव्यथा थिए । तसर्थ आन्तरिक मूल्याङ्कनको अवस्था पनि एकनाशको हुनसक्ने स्थिति देखिंदैन । यसको मूल्याङ्कनको लागि लिनुपर्ने आधार फरक फरक रहनु स्वाभाविक थियो ।


यसै परिप्रेक्षमा हाम्रो विद्यालयको विद्यार्थीहरूको भौतिक उपस्थितिमा भएको पठनपाठन र परीक्षा सञ्चालन एवम् अनलाइनमार्फत भएको पठनपाठन र परीक्षा सञ्चालनकासाथै विद्यार्थीहरूको हाजिरी, व्यवहार, परियोजना कार्य लगायतको स्थितिलाई ध्यानमा राखी देहाय अनुसारको आन्तरिक मूल्याङ्कनको मापदण्ड तय गरिएको छ । यसै आधारमा आफ्ना एस.ई.ई. मा सम्मिलित हुने विद्यार्थी, कक्षा ८ को आधारभूत तहमा सम्मिलित हुने विद्यार्थी लगायत सबै कक्षाका विद्यार्थीहरूको आन्तरिक मूल्याङ्कन गर्न यो आधार तय गरी सोही बमोजिम प्रक्रिया अघि बढिरहेको छ ।


तालिका ३ : आदर्श मा.वि., लायकुको आन्तरिक मूल्याङ्कनको मापदण्ड

क्र.सं मूल्याङ्कनको विषय क्षेत्र मूल्याङ्कनको दायरा मूल्याङ्कन कर्ता अंकभार (प्रतिशत)
१. विद्यालयद्वारा सञ्चालित विभिन्न परीक्षाहरूको नतिजा विषयगत विषय शिक्षक ५०
२. भौतिक उपस्थितिको कक्षामा विद्यार्थीको गतिविधि (कक्षाकार्य-गृहकार्य) विषयगत ,, १०
३ अनलाइन कक्षामा विद्यार्थी सहभागिता-सक्रियता विषयगत ,, १०
४. परियोजना कार्यमा विद्यार्थीले प्राप्त गरेको नतिजा विषयगत ,, १०
५. भौतिक उपस्थितिको कक्षामा विद्यार्थीको हाजिरी समग्र कक्षा शिक्षक १०
६. भौतिक उपस्थितिमा विद्यार्थीहरूले विद्यालयमा देखाएको दैनिक व्यवहार समग्र प्रशासन १०
जम्मा -१००


अन्तमा,
संसारमा मानिसले नसोचेका र नरूचाएका घटनाहरू घटिरहन्छन् । विभिन्न आपतविपतहरू आइरन्छन् । त्यस्तै आपतहरूको श्रृंखलामा वर्तमान विश्वलाई एकसाथ गाँजेर आइपरेको यो कोभिड–१९ को महामारी संधै रहनेछैन । मानिसकै ज्ञान, बुद्धि, विवेक तथा सुझबुझपूर्ण वैज्ञानिक खोज अनुसन्धानले यो समस्याबाट मानवजातीले अवश्य विजय हासिल गर्ने नै छ । यस्तो विषम परिस्थितिमा सजगतापूर्वक हामी आफू बाँचेर हाम्रा भविष्यका पुस्तालाई सही लागि मार्गमा दोहोर्याउनकै लागि पनि उनीहरूको शैक्षिक क्षेत्रको मूल्याङ्कनलाई वस्तुपरक एवम् यथार्थपरक बनाउनु आजको आवश्यकता हो ।

प्रतिकृया