• 11:38 am

२० वर्षपछि इराकसँग फुटबल खेल्दै नेपाल, विश्वकप खेलिसकेको टोलीविरुद्ध अनुभव बटुल्ने अवसर

प्रकाशित मिति

२०७८ जेष्ठ १५ गते, शनिबार १०:४३

काठमाडौँ: मैत्रिपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा शनिबार राती नेपालले इराकसँग खेल्दै छ। इराकको राष्ट्रिय रंगशालमा हुने यो खेल शनिबार राति नेपाली समयअनुसार सवा १० बजे सुरु हुने छ। इराक फुटबल संघको निमन्त्रणमा नेपाल त्यहाँ गएको हो। विश्वकप फुटबलको एसियाली छनोटका बाँकी खेलहरु खेल्नुअघि नेपालले इराकसँग खेलेर मनोबल बलियो बनाउने प्रयाश गर्दै छ।


नेपालले विश्वकपको एसियाली छनौटअन्तर्गत दोस्रो चरणको बाँकी खेलहरु जुन ३ तारिखमा चाइनिज ताइपेई, जुन ७ तारिखमा जोर्डन र जुन ११ तारिखमा अस्ट्रेलियासँग खेल्दै छ। यी सबै खेलहरु कुवेतमा हुनेछन्। इराकसँग खेलेर नेपाल कुवेत जाने छ। अन्तर्राष्ट्रिय फुटबलमा इराक निकै सशक्त टोली रहेको छ। उसँग विश्वकप खेलेको अनुभव पनि छ। फिफा बरियतामा हाल ६८ औँ स्थानमा रहेको छ। नेपाल भने १७१औँ स्थानमा रहेको छ।


नेपाल र इराक २० वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा भिड्न लागेका हुन्। यसअघि यी दुई टोली अन्तिमपटक विश्वकप छनौटमा प्रतिस्पर्धा गरेका थिए। सन् २००२ मा भएको एसियाली छनौटमा यी दुई टोली दुईपटक भिडेकामा पहिलो खेलमा ९-१ गोलले पराजित भएको थियो भने दोस्रो खेलमा ४-२ गोलले पराजित भएको थियो।


पछिल्लो समय नेपालले बलिया टोलीहरुसँग खेल्ने मौका पाइरहेको छ। जारी विश्वकप छनौटमै नेपालले विश्वकप खेल्दै आएको अस्ट्रेलियासँग पहिलो खेल खेलिसकेको छ। त्यस खेलमा नेपाली टोली ५-० गोलले पराजित भएको थियो। विश्वकप छनौटमा कडा दावेदारी दिइरहेको जोर्डनसँग ३-० गोलको हार ब्यहोरेको थियो। बलिया टोलीहरुसँग कसरी खेल्नुपर्छ भन्ने अनुभव नेपाली टोलीसँग छ। विश्वकप छनोटमा नेपालको सम्भावना लगभग सकिएकाले नेपाली खेलाडी र टोलीलाई दबाबरहित भएर खेल्ने अवसर छ।


नेपालले जारी विश्वकप छनौटको दोस्रो चरणमा ५ खेल खेलेकामा एउटामा मात्र जित हात पारेको छ। नेपालले चाइनिज ताइपेइलाई २(० गोलले हराएको थियो। इराक उच्च लयमा देखिन्छ। उसले पछिल्ला ६ खेलमा तीन जित र तीन बराबरीको नतिजा निकालेको छ। यसबीचमा उसले कुवेतलाई २-१ तथा उज्वेकिस्तानलाई २-१ र १-० गोलले हराएको छ भने जोर्डन, ताजिकिस्तान र यूएईसँग बराबरी खेलेको छ।


१८ महिनापछिको जित र गोलयता खेल्दै

नेपालले पछिल्लो अन्तर्राष्ट्रिय खेलमा बंगलादेशलाई २-१ गोलले हराएको थियो। घरेलु मैदानमा आयोजित त्रिदेशीय आमन्त्रण फुटबलमा नेपालले गत मार्चमा बंगलादेशसँग फाइनल खेलेको थियो। त्यसअघि नेपाली टोली लगातार ७ खेलमा जितबिहीन र गोलविहिन बनेको थियो। नेपालले त्यसअघि अन्तिमपटक चाइनिज ताइपेईलाई हराएको थियो, सन् २०१९ को सेप्टेम्बरमा भएको विश्वकप छनोट खेलमा। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीका लागि नेपालको यो पहिलो अफिसियल खेल हुने छ।


उनले केही अनुभवी खेलाडीलाई हटाएर युवा खेलाडीलाई टोलीमा समेटेका छन्। उनले टोलीको प्रदर्शनको पूर्ण जिम्मेवारी आफूले लिने बताइरहेका छन्। नेपाली टोली पहिलोपटक सेतो जर्सीमा उत्रँदै छ। यसअघि नेपाली टोली रातो र निलो रङ्गको जर्सीमा उत्रने गरेको थियो।

प्रतिकृया