• ५ असोज २०८३, सोमबार
  • १०ः०७ बिहान

भोलिदेखि एभरेष्ट कलरको आईपीओ खुल्ने

प्रकाशित मिति

२०८३ जेष्ठ २१ गते, बिहीबार ११:०५

२१ जेठ २०८३ काठमाडौं – एभरेष्ट कलर लिमिटेडले भोलिदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि ६ लाख ५५ हजार ७ सय कित्ता शेयर बिक्री खुला गर्न लागेको हो।

National Life

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका यी शेयरको कुल मूल्य ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबर रहेको छ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। सर्वसाधारणले जेठ २७ गतेसम्म आवेदन दिन पाउनेछन्। सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ५ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ।

कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबर ७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। जसमध्ये ७९ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ३९ हजार ५०० कित्ता सामूहिक लगानी कोष तथा १५ हजार ८०० कित्ता कर्मचारीका लागि छुट्याएर बाँडफाँट गरिसकिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आईपीओका लागि केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी–आस्बा प्रणालीमार्फत स्वीकृत बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरू तथा ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरेर आवेदन दिन सक्नेछन्।

प्रतिकृया