भन्सार सेटिङको आशंकामा बिवाईडीका सयौं गाडी छानबिनमा, सशस्त्रले लियो नियन्त्रणमा
प्रकाशित मिति
२०८३ जेष्ठ २१ गते, बिहीबार ११:११
२१ जेठ २०८३ काठमाडौं – बिवाईडी ब्राण्डका विद्युतीय सवारीसाधनको भन्सार प्रक्रियाबारे प्रश्न उठेपछि सशस्त्र प्रहरीले ७७४ वटा गाडी नियन्त्रणमा लिएर छानबिन सुरु गरेको छ। प्राप्त जानकारीअनुसार नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्र्याइएका ती गाडीहरू मुस्ताङका विभिन्न स्थानमा राखिएको अवस्थामा नियन्त्रणमा लिइएको हो। गाडीहरू बजेट लागू हुनुअघि नै भन्सार जाँचपास गरिएको आशंका गरिएको छ।

स्रोतका अनुसार जेठ १३ र १४ गते ठूलो संख्यामा विद्युतीय गाडीको भन्सार महसुल तिरिएको देखिएको छ। केही गाडी नेपालतर्फको भन्सार यार्डमा नआइपुग्दै वा नाकामा प्रवेश नगरेकै अवस्थामा भन्सार प्रक्रिया पूरा गरिएको हुन सक्ने दाबीसमेत सार्वजनिक भएको छ। यद्यपि, यसबारे आधिकारिक पुष्टि हुन बाँकी छ।

घटनापछि सशस्त्र प्रहरीले विभिन्न टोली परिचालन गरी कागजात, भन्सार अभिलेख तथा सवारीसाधनको अवस्थाबारे अनुसन्धान थालेको छ। छानबिनका क्रममा भन्सार कार्यालयसँगको समन्वयमा आवश्यक कागजात परीक्षण गरिने जनाइएको छ।

यसैबीच, बिवाईडीको नेपालका लागि आधिकारिक वितरक कम्पनी साइमेक्स इंककी अध्यक्ष यमुना श्रेष्ठले कम्पनीले गाडीहरू जेठ ११ गते नै नेपाल भित्र्याएको दाबी गरेकी छन्। उनले कम्पनीको पक्ष र प्रमाणहरू सार्वजनिक गर्न प्रेस विज्ञप्ति जारी गरिने बताएकी छन्।
घटनाबारे सम्बन्धित निकायको अनुसन्धान जारी रहेकाले भन्सार प्रक्रिया कानुनसम्मत थियो वा थिएन भन्ने विषय छानबिनपछि मात्र स्पष्ट हुने बताइएको छ।




प्रतिकृया