अमेरिका जाँदै प्रधानमन्त्री शाह, विमानस्थलमा पुरानो बिदाइ परम्परा तोडिँदै
प्रकाशित मिति
२०८३ आश्विन ६ गते, मंगलवार ११:५०
६ असोज २०८३ काठमाडौं — प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दैछन्। उनको विदेश भ्रमणका क्रममा विगतमा देखिँदै आएको औपचारिक बिदाइको शैली भने नदेखिने भएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री शाहले विदेश प्रस्थान गर्दा नेपाली सेनाको सलामी लिने छैनन्। साथै, मन्त्री, सरकारी पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीहरू विमानस्थलमा पुगेर लाइन लागी बिदाइ गर्ने परम्परा पनि यसपटक नरहने भएको छ।
प्रधानमन्त्री शाह आज बिहानैदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियमित काममा व्यस्त छन्। उनी साँझ करिब ७ बजे अमेरिकाका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिएकी छन्।
प्रधानमन्त्री विमानस्थल पुग्नुअघि नै भ्रमण टोलीका सदस्यहरू विमानस्थल प्रवेश गर्नेछन्। उनी भीआईपी कक्षको बाटो हुँदै सिधै विमानतर्फ जाने र भीआईपी कक्षमा समय नबिताउने तयारी छ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार विदेश भ्रमणका क्रममा स्वागत तथा बिदाइका नाममा सरकारी पदाधिकारी र कर्मचारीहरू विमानस्थलमा ठूलो संख्यामा उपस्थित हुने विगतको परम्परा तोड्न लागिएको हो। अहिलेको विपद्को परिस्थितिमा अनावश्यक तामझाम नगर्ने प्रधानमन्त्रीको धारणा रहेको स्रोतले जनाएको छ।
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको जलवायु संकट, प्राकृतिक विपत्तिबाट भइरहेको क्षति तथा जलवायु न्यायका विषयमा नेपालको धारणा राख्ने कार्यक्रम छ।






प्रतिकृया