• ३ असोज २०८३, शनिबार
  • ८ः३८ राती

माउन्ट एभरेष्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

प्रकाशित मिति

२०८३ जेष्ठ २१ गते, बिहीबार १०:०३

२१ जेठ २०८३ काठमाडौं – माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि असार ३ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेपछि सर्वसाधारण लगानीकर्ताका लागि १४ लाख २७ हजार ६ सय कित्ता शेयर बिक्री खुला गर्न लागेको हो।

National Life

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका यी शेयरको कुल मूल्य १४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबर रहेको छ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा असार ८ गते र पर्याप्त आवेदन नपरेमा ढिलोमा असार १७ गते बन्द हुनेछ।

कम्पनीले जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत बराबर २५ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। जसमध्ये ८ लाख ६० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा, १ लाख ७२ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ३४ हजार ४ सय कित्ता कर्मचारी तथा ८६ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँट गरिसकिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

कम्पनीलाई क्रेडिट मूल्याङ्कन संस्था केयर रेटिङ नेपालले ‘डबल बी प्लस’ श्रेणीको इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

कम्पनीले सञ्चालन गरिरहेको १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ९३ लाख रुपैयाँभन्दा बढी रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखाबाट तथा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

प्रतिकृया