टी–२० विश्वकपमा ऐतिहासिक जीत: स्कटल्याण्डमाथि नेपाल ७ विकेटले विजयी, १२ वर्षपछि सफलता
प्रकाशित मिति
२०८२ फाल्गुन ५ गते, मंगलवार १०:४८
५ फाल्गुन, २०८२ काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्याण्डमाथि सानदार जित निकालेको छ। मुम्बईको वानखेडे मैदानमा भएको खेलमा नेपालले स्कटल्याण्डलाई ७ विकेटले हराउँदै १२ वर्षपछि टी–२० विश्वकपमा पहिलो जित दर्ता गरेको हो।
नेपाल राष्ट्रिय क्रिकेट टोली ले स्कटल्याण्डले दिएको १७१ रनको लक्ष्य १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। जितका नायक बने दीपेन्द्र सिंह ऐरीले आक्रामक अर्धशतक प्रहार गर्दै टोलीलाई विजयी लक्ष्यसम्म पुर्याए। उनले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। यो उनको जारी विश्वकपमा लगातार दोस्रो अर्धशतक हो।

ओपनर कुशल भुर्तेलले ४३ र आसिफ शेखले ३३ रन बनाउँदै बलियो सुरुआत दिलाएका थिए। पछि गुल्सन झाले अविजित २४ रन जोड्दै उत्कृष्ट साथ दिए।

यसअघि टस हारेर ब्याटिङ गरेको स्कटल्याण्ड राष्ट्रिय क्रिकेट टोली ले ७ विकेट गुमाएर १७० रन बनाएको थियो। माइकल जोन्सले सर्वाधिक ७१ रन बनाए। नेपालका सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए भने नन्दन यादवले २ विकेट झारे।
सुपर एट पुग्ने लक्ष्यसहित मैदान उत्रिएको नेपाल यसअघि इंग्ल्यान्ड, इटली र वेस्ट इन्डिजसँग पराजित भएपछि समूह चरणबाट बाहिरिसकेको थियो। तर अन्तिम खेल जित्दै नेपालले प्रतियोगिताको सुखद अन्त्य गरेको छ।




प्रतिकृया