ग्रामिण पर्यटन: कोदोको पुवा, सेल रोटी, गुन्द्रुक र भट्टको तरकारीमा लोभिन्छन पर्यटक
प्रकाशित मिति
२०७७ चैत्र २१ गते, शनिबार ०१:५८
बागलुङ: कोरोना महामारीको चपेटामा परेका बागलुङका घरबास होमस्टेमा आन्तरिक पर्यटक देखिन थालेका छन् । एक वर्षपछि ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टेमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । जिल्लामा पहिलो पटक सञ्चालनमा आएको अतिथि सत्कार सामुदायिक घरबास भकुण्डेमा पछिल्लो एक महिना यता बिदाका दिनहरुमा पर्यटक पुग्ने गरेका छन् । जिल्लाका झण्डै ३ दर्जन गाउँमा होमस्टे सेवा सञ्चालनमा छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ पछि ठप्प बनेका अघिकांश घरबास सेवा विस्तारै सुरु हुन थालेको अतिथि सत्कार सामुदायिक घरबास बागलुङ नगरपालिका–१० भकुण्डेका अध्यक्ष खिमबहादुर थापाले बताए ।
कोभिडको जोेखिम कम हुँदै गएकाले आन्तरिक पर्यटनलाई खुला गरिएका घरबास पहिलेका जस्तो भरिभराउ भने हुन सकेका छैनन् । तर कोरोना महामारीको समयमा ठप्प रहेका घरबासमा बिस्तारै चहलपहल देखिन थालेको हो ।
काठेखोला गाउँपालिका–७ रेशमा सञ्चालनमा रहेको डोटा देउराली सामुदायिक घरबासमा पनि आन्तरिक पर्यटक पुग्न थालेका छन् । स्थानीय खानाको स्वाद र घरबास आसपासमा रहेका पर्यटकीय क्षेत्रमा घ्ुम्नका लागि त्यहाँ पुग्नेहरुको संख्या धेरै छ ।

घरबासबाट देखिने प्राकृतिक दृश्यका साथै स्थानीय जातजातिको मौलिक कलाले होमस्टेमा आउनेको मन जित्दै आएको छ । अहिले आन्तरिक पर्यटक आउने क्रम शुरु भएको डोटा देउराली सामुदायीक घरबास रेशका सञ्चालक बिष्णुबहादुर थापाले बताए । ‘स्थानीय कुखरा र कोदोको ढिँडो खोज्दै बजारदेखि गाउँ आउनेहरु धेरै छन्,’ थापाले भने, ‘एक वर्ष हात पट्याएर बसियो, अहिले बिस्तारै मान्छे आउन थालेका छन् ।’
कामको शिलशिलामा गाउँमा पुग्नेहरुका लागि समेत गतिलो आवास बन्ने गरेका छन् यहाँका घरबास । विभिन्न योजना र परियोजनाका कामहरु लिएर गाउँ पुग्नेहरु घरबासमा बसेर रमाउने गरेको थापाले बताए । बागलुङका गाउँमा रहेका होमस्टेलाई व्यावसायिक रुपमा भन्दा पनि सेवामुखी बनाइएको छ । कतिपय ठाउँमा होमस्टे चलाएर नै दैनिक गुजारा चलाउने स्थानीयको दैनिकी रहने गरेको भएपनि केही गाउँका घरबासहरु सेवा मुलक हिसाबले नै सञ्चालनमा छन् ।

खानाका रुपमा कोदोको पिठोबाट बनाइएको पुवा, सेल रोटी, गुन्द्रुक र भट्टको तरकारी, स्थानीय जातका गोलभँेडाबाट बनाएको चटनी, स्थानीय रुपमा उत्पादन भएका मकैलगायतका स्थानीय खानाले धेरैलाई लोभ्याउँछ । ‘कोरोना महामारीको दोस्रो लहरको त्रास छ, तैपनि गाउँघरमा चहलपहल बिस्तारै बढ्दै छ,’ रेश सामुदायिक घरबासकी सञ्चालिका उजेली शर्माले भनिन्, ‘पाहुना आएपछि काम बढ्छ, काम बढ्दा आम्दानी नहुने कुरै भएन् ।’
रेशका अधिकांश घरमा स्थानीय जातका कुखुरा पालिएको र नजिकैको जंगलमा पाइने बाँकोबाट गुन्द्रुक बनाएर राखिएको छ । कोरोना महामारीपछि विस्तारै बढेको चहलपहलले घरबास सञ्चालकहरुमा उत्साह छाएको छ ।




प्रतिकृया