• 9:07 pm

सन २०२० मा लक्ष्य भन्दा ८८.५ प्रतिशत कम पर्यटक

प्रकाशित मिति

२०७७ चैत्र ६ गते, शुक्रबार १२:०१

काठमाडौं: सन् २०२० मा सरकारले लक्ष्य लिएको भन्दा साढे ८८ प्रतिशत कम पर्यटक आगमन भएको छ । सरकारले सन २०२० मा २० लाखको हारहारीमा पर्यटक भित्राउने लक्ष्य राखेको थियो । तर, त्यो बर्ष २ लाख ३० हजार ८५ जना पर्यटक मात्र नेपाल भित्रिएका छन् । सरकारले सन् २०२० लाई भ्रमण बर्षको रुपमा मनाएर यतिका पर्यटक भित्राउने लक्ष्य लिएको थियो ।

 

तर, चीनको उहान प्रहान्तबाट महामारीको रुपमा फैलिएको कोरोना भाइरसले नेपालको भ्रमण वर्ष कार्यक्रमलाई नराम्रो संग प्रभाव पा‍र्यो । त्यसपछि भ्रमण बर्षको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको थियो । त्यसमाथि कोरोना कहर संगै विश्वव्यापी लकडाउनका कारण विश्वभर आन्तरिक र बाह्य पर्यटक नै ठप्प भयो । त्यसकै कारण नेपालमा पर्यटकको आगमन कम भएको हो । विश्व पर्यटन संगठनका अनुसार सन् २०२० मा विश्वभर पर्यटन ७५ प्रतिशतले घटेको छ । यसले विश्वभर करिब ९ देखि १२ खर्ब अमेरिकी डलरको नोक्सानी हुने जनाएको छ ।

 

नेपालको हकमा विदेशी पर्यटक मार्फत वार्षिक रूपमा ९० अर्ब रुपैयाँको हाराहारी आम्दानी हुदैं आएको थियो । अहिले पर्यटन क्षेत्रबाट १० अर्ब रुपैयाँ मासिक गुमेको छ । हालसम्म पर्यटन क्षेत्रले ९० अर्ब रुपैयाँभन्दा बढी गुमाइसकेको छ । पर्यटन क्षेत्र उकास्न राष्ट्र बैंकले आफ्नो वित्तीय नीतिमार्फत पनि विभिन्न कार्यक्रमहरू ल्याएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

सन् २०२० मा महामारीमा सीमानाका बन्द हुँदा विमानस्थल र एयरलाइन्सहरू ठप्प भएका थिए । पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२० भित्र २ लाख ३० हजार ८५ जना पर्यटक भित्रिएका थिए । यसमध्ये बढी संख्या जनवरी देखि मार्चसम्म मात्र रहेको छ । सन २०२० को जनवरीमा ७९ हजार ७ सय २ जना पर्यटकको आगमन भएको थियो भने फ्रबअरीमा महिना वर्षकै सबैभन्दा बढी पर्यटकको आगमन भएको थियो । फ्रबअरी महिनामा ९८ हजार १ सय ९० जना पर्यटकको आगमन भएको थियो र मार्च महिनामा ४२ हजार ७ सय ७६ जना पर्यटक भित्रिएका थिए ।

भ्रमण वर्षका रुपमा सुरुवात गरिएपछि मार्च र अप्रिलपछि नेपालमा लकडाउन सुरु भयो । त्यसपछि भने पर्यटक आगमन बन्द भएको थियो । सरकारले गत अक्टोवर १७ बाट पर्यटकका लागि समेत नेपाल खुला गरेपछि भने क्रमशः पर्यटक आगमन बढ्न थालेको नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । बोर्डका अनुसार नोभेम्बर महिनामा मात्र १९४७ जना पर्यटक नेपाल आएका छन् ।

यसअघि अक्टोवरमा १८७४ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए । बोर्डका अनुसार नोभेम्बरमा अमेरिकाबाट ४४७, बेलायतबाट २९५ र चीनबा २ सय ९ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

भारतबाट १ सय २३ र रुसबाट १ सय २ जना नेपाल आएको तथ्यांक छ । क्यानडाबाट ५८, जापानबाट ३७, दक्षिण कोरियाबाट ३५, अष्टे्रलियाबाट ३४, फ्रान्सबाट ३३ र बेल्जियमबाट २८ जना नेपाल भ्रमणमा आएका छन् ।

सन् २०१९ मा नेपालमा ११ लाख ९७ हजार १ सय ९१ जना पर्यटक भित्रिएका थिए । यो संख्या गत वर्षभन्दा ९५ हजार ६ सय १७ ले बढी हो । आगमन वृद्धिदर ८ प्रतिशत मात्रै हो । यही अनुपातमा वृद्धि भए सन् २०२० मा १३ लाख ५० हजार पर्यटक नेपाल भित्रिने थिए । सन् २०२० मा सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको थियो । तर, कोरोना भाइरसको संक्रमणसँगै उक्त लक्ष्यसहितको भ्रमण वर्षको कार्यक्रम रद्द भएको हो ।

प्रतिकृया