• ४ साउन २०८३, सोमबार
  • ९:२७ बेलुका

कृषि क्षेत्रको प्रवर्द्धनका लागि पशुमैत्री पार्क बनाइने

प्रकाशित मिति

२०७७ चैत्र ६ गते, शुक्रबार १२:०९

हेटौंडा : मकवानपुरगढी गाउँपालिकाले पशुमैत्री पार्क निर्माण गर्ने भएको छ । स्थानीय नागरिकको सहभागिता तथा प्रदेश र केन्द्रीय सरकारसँगको सहकार्यमा गाउँपालिकाले पार्क निर्माण गर्ने भएको हो ।

मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर–३ कालीखोलास्थित सामरीमा बहुवर्षीय योजनाअन्तर्गत पार्क निर्माण गर्न लागिएको हो । पशुमैत्री पार्क निर्माणका लागि कुल ७ करोड ३ लाख ७६ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

Kamana Sewa

पार्क निर्माणका लागि चालु आर्थिक वर्षमा बागमती प्रदेश सरकार मातहतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको स्वीकृत कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँ बजेट विनियोजन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले बताए ।

Classic Tech Desktop

बजेट विनियोजन भएसँगै पार्क निर्माणका लागि गाउँपालिकाका अधिकृत पुडासैनी र निर्देशनालयका निमित्त निर्देशक रामप्रकाश प्रधानबीच सम्झौतापत्र हस्तान्तरण भएको छ ।

सम्झौता अनुसार पहिलो चरणअन्तर्गत निर्देशनालयबाट १० लाख, गाउँपालिकाबाट १० लाख र समुदायबाट २ लाख ७८ हजार रुपैयाँबराबरको निर्माण कार्य गर्नुपर्ने छ ।

प्रशासकीय अधिकृत पुडासैनीका अनुसार पार्क निर्माणको पहिलो चरणको काम केही समयमै थालिने छ ।

कृषि र पशु क्षेत्रको विकास एवम् प्रवर्द्धनका लागि पार्क निर्माणको योजना अघि सारिएको उनको भनाइ छ । ‘मकवानपुरगढी गाउँपालिकाका अधिकांश व्यक्ति कृषि क्षेत्रमा आवद्ध छन्, उनीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ पार्क निर्माणको योजना बनाएको हो,’ उनले भने ।

पार्कमा विभिन्न प्रजातिका गाई, भैँसी, बाख्रा लगायतको आकृति, तालिम केन्द्र, रमणीय बगैँचा, नमूना घाँसका प्रजाति, दाना उत्पादन केन्द्र, सहकारी भवन, पराल राख्ने स्थान, पानी ट्याङ्की, स्विमिङ पुल, चमेना गृह, पिकनिक स्थल, शौचालय, आराम स्थल, पदमार्ग लगायतका भौतिक संरचनाहरु निर्माण गरिने प्रशासकीय अधिकृत पुडासैनीले बताए ।

पार्क निर्माणको योजनासहित प्रदेश र संघीय सरकारसँग बजेट माग गरेको र बजेट प्राप्त भए करिब २ वर्ष भित्रमा निर्माण सम्पन्न हुने प्रशासकीय अधिकृत पुडासैनीको भनाइ छ ।

प्रतिकृया