पर्यटन व्यवसाय सञ्चालन कार्यविधि जारी
प्रकाशित मिति
२०७७ असार ९ गते, मंगलवार १०:०९
काठमाडौं, कोभिड–१९ सङ्क्रमणका कारण सबैभन्दा धेरै पर्यटन व्यवसाय सञ्चालनका लागि सरकारले क्षेत्रगत कार्यविधि जारी गरेको छ । महामारी नियन्त्रणका लागि जारी बन्दाबन्दीका कारण नेपालको पर्यटन व्यवसाय धराशयी बन्न पुगेकोले भविष्यमा सुरक्षात्मक रूपमा सञ्चालन गर्ने उपयाबारे संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको निर्देशनमा नेपाल पर्यटन बोर्डले कार्यविधि तयार गरेको हो ।
सोमबार आयोजित एक भर्चुअल मिटिङमा मन्त्री योगेश भट्टराईले उक्त कार्यविधि औपचारिक रूपमा सार्वजनिक गरेका हुन् ।

तत्काल बाह्य पर्यटन सम्भव नभए पनि आन्तरिक पर्यटन व्यवसाय सञ्चालनको उद्देश्यसहित कार्यविधि तयार गरिएको बोर्डले जनाएको छ । कार्यविधिमा होटल, रेस्टुराँ, पर्यटनसम्बन्धी कार्यालय व्यवस्थापन र पर्यटन सवारी सञ्चालनका लागि छुट्टाछुट्टै मापदण्ड तोकिएको छ ।

यी सबै क्षेत्रमा ज्वरो जाँच, निर्मलीकरण, मास्क र सामाजिक दूरी कायमलाई अनिवार्य गरिएको छ । होटलका लागि पाहुनाले ल्याउने सामान निर्मलीकरण गर्नुपर्ने, पाहुनाको पछिल्लो ३० दिनको यात्रा विवरण र सम्पर्क नम्बर राख्नुपर्ने, कोभिड–१९ को लक्षण देखिएका पाहुनालाई स्वास्थ्यकर्मीसँग जुनसुकै बेला सम्पर्क गराउने व्यवस्था गर्नुपर्ने, होटल लबी र कोठा तथा शौचालयको नियमित सरसफाइ हुनुपर्ने, स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, स्विमिङ पुल, जिम तथा हेल्थ क्लब सञ्चालन गर्न नहुने, हातले छुने वस्तुको प्रयोग कम गराउने, डिजिटल कारोबारलाई जोड दिनुपर्ने, फोहोरको उचित व्यवस्थापन गर्नुपर्नेजस्ता कार्यविधि तोकिएको छ ।




प्रतिकृया