• १५:४० २०८० चैत्र १५ गते
  • 3:40 pm

टिबी कन्ट्रोल गर्न स्वास्थ्य मन्त्रालय तथा राष्ट्रिय क्षयरोग केन्द्रको मात्र जिम्मेवारी नभएर आ–आफ्नो संस्थाबाट जिम्मेवार हुनुपर्छः डा.राजभण्डारी

प्रकाशित मिति

२०७६ माघ २ गते, बिहीबार ०३:४०

da 1

श्वास प्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने क्षयरोगका विरामीहरु उपचारमा नआउँदा नेपालमा क्षयरोगको जोखिम बढ्दै छ । यसै रोगका कारण हरेक दिन १८–२२ जनाको मृत्यु भइरहेको छ । सन् २०३५ सम्म क्षयरोग अन्त्य रणनीति (End TB Strategy) का साथ राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रम अघि बढ्दै गइरहेको छ । हालै भइरहेको क्षयरोगको नयाँ प्रिभ्यालेन्स सर्भे (Prevalence Survey) ले क्षयरोगीहरुको संख्या करिब ६५% नाघ्ने देखाएको छ । क्षयरोग कार्यक्रमको जोखिम न्यूनिकरणका उपाय र कदमका बारेमा राष्ट्रय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा.सागर कुमार राजभण्डारीसँग गरिएको कुराकानीका सार :

नेपालमा हाल क्षयरोगको अवस्था कस्तो छ ?

नेपालमा सबै कबचलभ रोगहरुको जोखिममा क्षयरोेग पहिलो स्थानमा रहेको छ । यसको उपचार भरपर्दो र निशुल्कका साथै स्वास्थ्य संस्थाहरुमा समेत भएको सेवा रहेता पनि अझै समस्या ग्रस्त नै छ । हाम्रो प्रक्षेपणले हरेक वर्ष ४५००० नयाँ क्षयरोगीहरु थपिनु पर्नेमा ३३ हजारले मात्र राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रम अन्तर्गत उपचारमा समाहित भएका छन् । १२ हजार क्षयरोगीहरु अझै हाम्रो पहूँच देखि वाहिर रहेका छन् । जसले हरेक वर्ष १ जना क्षयरोगीले १०–१५ जना नयाँ व्यक्तिहरुलाई रोग सारिरहेका हुन्छन् ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले क्षयरोग न्यूनिकरणका लागि कस्तो कदम चालिरहेको छ ?

क्षयरोगको भयावह अवस्थालाई नियाल्दै केन्द्रले यो रोगको नियन्त्रणका लागि विभिन्न रणनीतिक योजना, कार्यक्रम निर्माण, कार्यान्वयन, अनुगमनका साथै बजेट व्यवस्थापन, औषधी उपकरणको व्यवस्थापन गर्दैछ । क्षयरोग सम्बन्धी विभिन्न खोज अनुसन्धान र देशको एकमात्रै रेफरेन्स ल्याव सञ्चालन गरी क्षयरोग निदानका नविनतम उपायहरु अपनाउँदै रोग नियन्त्रणका लागि लगातार अघि बढिरहेको छ । क्षयरोग सम्बन्धी दक्ष चिकित्सक, स्वास्थ्यकर्मी र प्रयोगशाला विज्ञहरुको क्षमता अभिवृद्धिका कार्यक्रमहरु साथै लगिरहेको अवस्था छ ।

प्रिभ्यालेन्स सर्भेले क्षयरोगको स्थिति कहाँ पुर्याएको छ ?

यो सर्भे बिल्कुल नयाँ र नेपालको इतिहासमा पहिलो पटक झण्डै ९०००० व्यक्तिमा अनुसन्धान गरी पूर्ण डिजिटल प्रविधिमा आधारित रहेर गरिएको हो । यसले क्षयरोगको अवस्थालाई अझै भयावह देखाएको छ । करिब ६५% ले क्षयरोग बढिरहेको देखाएको छ । तराई, पहाड र हिमालमा समेत त्यसै अनुपातमा क्षयरोगी भेटिएका छन् । नयाँ विकसित भइरहेका बजार, शहरहरुमा क्षयरोगीहरुको संख्या बढ्दै गइरहेको पनि देखाएको छ । धूम्रपान, मद्यपानगर्ने अव्यवस्थित वसोवास गरि बसिरहेकाहरुमा, उमेर ढल्किएकाहरुमा बढी मात्रामा देखिएको छ ।

क्षयरोगको चुनौतीलाई कसरी समाधान गर्नुहुन्छ ?

२५ वर्षदेखि डट्स कार्यक्रमअन्तर्गत क्षयरोगको प्रभावकारी उपचार कार्यक्रम शुरुवात भएको हो । विगत दश वर्षदेखि Stop TB Strategy अन्तर्गत कार्यक्रम अघि बढ्यो त्यही पनि कार्यक्रमले खासै महत्वपूर्ण उपलब्धी हासिल गर्न सकिरहेको अवस्था छैन । हाल क्षयरोग अन्त्य (End TB Strategy) अन्तरगत क्षयरोगका विभिन्न कार्यक्रमहरु सञ्चालनमा रहिरहेका छन् । क्षयरोगलाई बुझ्ने र हेर्ने दृष्टिकोण सबैको सकारात्मक र परिवर्तनशील हुनुपर्दछ । क्षयरोग स्वास्थ्यको मात्र मुद्दा नभएर समग्र विकासको मुद्दा बनाइनु पर्दछ र यसमा सबै निकायहरुको महत्वपूर्ण भूमिका रहनु पर्दछ । परिवर्तित कर्मचारी समायोजन र विभिन्न प्रादेशिक र स्थानीय सरकारहरु कार्यरत रहेको अवस्थामा यसको जिम्मेवारी सबैले लिनु पर्ने अवस्था सिर्जना भएको छ । केन्द्र देखि स्वास्थ्य चौकीहरु सम्म क्षयरोगको कार्यक्रमलाई प्रभावकारी रुपमा लैजाने योजनाले अघि बढीरहेको छ ।

डट्स कार्यक्रम अन्तर्गत शुरुमा हामी Passive Case Finding रणनीति अपनाएका थियौं । यो भनेको जसले विरामी भएको महशुस गर्छ र समस्या ग्रस्त छ, स्वास्थ्य संस्थामा गई परीक्षण गरी रोग भए– नभएको एकिन गर्नु हो । अहिलेको अवस्थामा उक्त रणनीतिले क्षयरोग बदलिएको अवस्थालाई समाधान गर्न नसक्ने भएकोले Active Case Finding रणनीति अपनाएका छौं । यो भनेको जुन समुदायमा संकास्पद क्षयरोगीहरु बढी छन्, उक्त समुदायमा नै टिम परिचालन गरी क्षयरोग निदानका विभिन्न उपायहरु, जस्तै: छातीको एक्सरे, खकार माइक्रोस्कोपी, र खकारको जीन एक्सपर्ट टेष्ट गरी क्षयरोगीहरुलाई चाँडोभन्दा चाँडो निदान गरी तिनीहरुलाई पूर्ण उपचारमा राख्नु हो । यदि कोही क्षयरोगको उपचारबाट छुटेमा एक क्षयरोगीले अर्को १०–१५ जना निरोगी व्यक्तिहरुलाई सजिलै सार्न सक्छ । ठूला अस्पतालहरुमा वहिरंग सेवामा रहेको लामो लाइनमा बसेको सेवाग्राहीहरु मध्ये क्षयरोगका लक्षण भएका व्यक्तिहरुलाई FAST प्रविधि अपनाई छिटो भन्दा छिटो एक्सरे र खकार परीक्षण गर्न पठाइ उनीहरुमा रोग भए–नभएको एकिन गराइन्छ । यस प्रविधिले लाइनमा बसेकाहरुलाई रोग सार्न नसकोस् भन्ने उद्देश्य लिइएको हुन्छ ।

२०–३०% विरामीहरु आफ्नो लक्षण लिई स्थानीय फार्मेसी, स्थानीय क्लिनिक र प्राइभेट अस्पतालहरुमा अड्कि रहेकाले PPM रणनीति कार्यक्रम अन्तरगत संकास्पद क्षयरोगीलाई प्रेषण गर्ने, उपचारमा राख्ने र यसमा सहभागि हुने फार्मेसी, चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई केही इन्टेन्सिभ दिएर राष्ट्रिय क्षयरोग कार्यक्रममा समावेश गराउनु रहेको छ ।

क्षयरोग निदान मानविनतम प्रविधिहरुलाई बढी भन्दा बढी क्षयरोगीहरु पत्तालगाउने कामलाई विस्तार गरिएको छ । झण्डै ७० वटा विभिन्न अस्पताल, संस्था र प्राथमिक स्वास्थ्य केन्द्रहरुमा Gene Xpert मेशिन स्थापना गरी रोग परीक्षण कार्यक्रम सञ्चालनमा रहेका छन् । अबको २ वर्षभित्र ७७ वटै जिल्लाका प्रमुख स्वास्थ्य संस्थाहरुमा जीन एक्सपर्ट मेशिन राख्ने प्रबन्ध मिलाएका छौं । त्यस्तै थप खकार माइक्रो स्कोपिक सेन्टरहरु पनि सञ्चालनमा ल्याउने पहलमा छौं । जीन एक्सपर्ट मेशिनले साधारण खकार माइक्रो स्कोपीबाट देख्न नसकिने क्षयरोगीलाई क्षयरोग भएको नभएको २ घण्टाभित्रै एकिन गर्नुका साथै क्षयरोगीले खाने रिफाम्पिसिन औषधी प्रतिरोधी छ छैन भन्ने समेत एकिन गर्दछ ।

MDR बहुऔषधी प्रतिरोधी क्षयरोग भएका क्षयरोगीहरुको नयाँ उपचार विधि अपनाएका छौं ति सबै MDR क्षयरोगीहरुको कल्चर प्रविधिबाट परीक्षण गरी विभिन्न क्षयरोगका औषधीहरुको प्रतिरोधात्मक असर भएको नभएको एकिन गर्ने गरेका छौं । २ वर्षभित्रै सबै प्रदेशहरुमा कमसेकम एक रेफरेन्स प्रयोगशाला स्थापना गर्ने क्रममा यो वर्ष ३ ठाउँ सुर्खेत, पोखरा र धरानमा क्षयरोग रेफरेन्स प्रयोगशाला स्थापना हुँदैछ । यसले विभिन्न ठाउँमा क्षयरोगीहरुलाई रोग निदान र उपचारमा राहतपुग्ने देखिन्छ । सबै प्रदेशहरुमा कमसेकम एउटा बहुऔषधी प्रतिरोधी क्षयरोगी (MDRTB) उपचारका लागि क्षयरोग प्रेषण केन्द्र बनाउँदैछौं । जहाँ MDR क्षयरोगीहरुले आवासीय सुविधासहित उपचार शिप विकासका कार्यक्रमहरु पनि सञ्चालन गरिनेछ ।

भावी योजनाहरु के के हुनेछन् ?

१. क्षयरोगलाई स्वास्थ्यकै मात्र नभई सामुदयिक साझा समस्याको रुपमालिएर आफ्नो क्षेत्रबाट यसलाई हेर्ने दृष्टिकोणमा परिवर्तन, सकारात्मक सोच र दायित्व आत्मबोध गराउने ।
२. संघीय प्रादेशिक र स्थानीय सरकारहरुले क्षयरोगको कार्यक्रमलाई समन्वय सहकार्य र सहअस्तित्वको आधारमा अघि बढाउने
३. सबै स्थानीय स्वास्थ्य संस्था, जिल्ला र प्रदेशमा क्षयरोगलाई व्यवस्थापन गर्ने जनशक्तिको क्षमता अभिवृृद्धि र जिम्मेवारी वहन गर्न लगाउने

अन्त्यमा तपाईको उद्देश्य ?

क्षयरोगलाई समयमै उपचार गरी पूर्ण रुपमा निको पार्न सकिन्छ । कोही क्षयरोगी पनि निदान र उपचारबाट बञ्चित हुन नपरोस् ,सबैले सहयोग गरौं ।

 

प्रतिकृया