विश्वकप क्रिकेट : आज दुई खेल हुँदै
प्रकाशित मिति
२०७६ जेष्ठ ३२ गते, शनिबार ०८:०६
विश्वकपको साविक विजेता अष्टेलियाका लागि जारी एकदिवशीय विश्वकपमा आज श्रीलंकाबिरुद्धको खेल अंक तालिकाको शीर्ष स्थानमा पुग्ने अवसर रहेको छ ।
अष्ट्रेलियाले आज दिउँसो नेपाली समयअनुसार सवा ३ बने प्रतियोगितामा कमजोर देखिएको पूर्व विजेता श्रीलंकाबिरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

शुक्रबार राति वेष्ट इण्डिजलाई ८ विकेटले हराएसँगै इंग्ल्याण्ड दोस्रो स्थानमा उक्लिएपछि ४ खेलबाट ६ अंक जोडेको अष्ट्रेलिया अंकतालिकाको तेस्रो स्थानमा छ । इंग्ल्याण्डको पनि समान ६ अंक नै छ भने न्युजिल्याण्ड ७ अंकसहित शीर्ष स्थानमा छ ।

श्रीलंकालाई पराजित गरेमा अष्ट्रेलिया शीर्ष स्थानमा पुग्नेछ । यसअघि पाकिस्तानलाई ४८ रनले पराजित गरेको खेलमा ओपनर डेविड वार्नरले शतक प्रहार गरेका थिए ।
अष्ट्रेलियाले यस विश्वकपमा सन्तुलित प्रदर्शन गरिरेको छ । बल टेम्परिङ प्रकरणपछि प्रतिबन्ध झेलेर पुनरागमन गरेका वार्नर र स्टिभ स्मिथले आफूलाई पुनः प्रमाणित गरिसकेका छन् । श्रीलंकाबिरुद्धको खेलमा पनि उनीहरु नै निर्णायक हुन सक्नेछन् ।
बलिङमा मिचेल स्टार्कको फाष्ट बलिङ निर्णायक बनिरहेको छ । अष्ट्रेलियालाई स्पिन आक्रमण अहिले चिन्ताको विषय हो । नाथान ल्योनले श्रीलंकाबिरुद्धको खेलमा टिममा फर्कने अपेक्षा गरिएको छ ।
प्रतियोगिताको सुरुआती २ खेलको विश्लेषण गर्दा श्रीलंकाली टोली यसपल्ट निकै कमजोर देखिएको छ । इंग्ल्याण्डको पीचमा उसका ब्याट्सम्यानहरुले अफगानिस्तानबिरुद्ध समेत संघर्ष गर्नुपरेको थियो ।
अष्ट्रेलियाबिरुद्ध जित हासिल गर्ने हो भने श्रीलंकाले ब्याटिङ बलिङ र फिल्डङ गरी तीनै पक्षमा आफ्नो स्तर सुधार गर्नुपर्नेछ ।
एन्जेलो म्याथ्युज, लसिथ मालिंगा, थिसरा परेराजस्ता अनुभवी खेलाडीले आफ्नो लय भेट्टाउन सकिरहेका छैनन् । अष्ट्रेलियाजस्तो टोलीबिरुद्ध उनीहरुकै निर्णायक प्रदर्शनको आशा गरिन्छ ।
यसैगरी आजै हुने अर्को खेलमा अफगानिस्तान र दक्षिण अफ्रिका भिडदै छन । अफगानिस्तान र दक्षिण अफ्रिकाले इंग्ल्याण्डमा जारी एकदिवशीय विश्वककपमा अहिलेसम्म जित हासिल गर्न सकेका छैनन् ।
शनिबार कार्डिफमा नेपाली समय अनुसार साँझ सवा ६ बजेदेखि सुरु हुने खेलमा यी दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।
दक्षिण अफ्रिका इंग्ल्याण्ड, बंगलादेश र भारतसँग पराजित भएको छ भने वेष्ट इण्डिजबिरुद्धको खेल वर्षाले रद्ध भएको थियो ।
सेमिफाइनला पुग्ने झिनो आशा कायमै राख्न दक्षिण अफ्रिकाले अफगानिस्तानबिरुद्ध जित अत्यावश्यक छ । तर त्यसका लागि उसको ब्याटिङमा सुधार हुनु आवश्यक छ ।
यता सुरुआती तीन खेलमा पराजित भएपछि अफगानिस्तान अंकतालिकाको पुछारमा छ । बलिङपक्ष उत्कृष्ट भए पनि ब्याटिङमा अनुभवको कमी देखिएको छ । मोहम्मद साहजाद फिटनेसका कारण टिमबाट निकालिएपछि अफगानी ब्याटिङ अझै कमजोर बनेको छ ।
निराशाजनक सुरुआत गरेको दक्षिण अफ्रिकालाई पराजित गर्न सकेमा दोस्रोपल्ट विश्वकप खेलिरहेको अफगानिस्तानका लागि ठूलो सफलता हुनेछ । त्यसका लागि अफगानिस्तानले कागिसो रावाडा र इमरान ताहिरको नेतृत्वमा रहेको अफगानी बलिङ आक्रमणको सामना गर्नुपर्नेछ ।




प्रतिकृया