लिभरपुलले जित्यो च्याम्पियन्स लिगको उपाधि
प्रकाशित मिति
२०७६ जेष्ठ १९ गते, आईतवार ०८:४९
गौरब निरौला। युरोपकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि इंग्लिस क्लब लिभरपुलले उचालेको छ । आइतबार राति भएको फाइनल खेलमा लिभरपुलले टोटनह्याम हटस्परलाई २–० गोलले हराउँदै उपाधि उचालेको हो ।
साबिकको उपविजेतासमेत रहेको लिभरपुललाई उपाधि दिलाउन मोहम्मद सालाह र डाइभक ओरिजीले समान एक–एक गोल गरे । सालाहले खेलको दोस्रो मिनेटमै गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।

सालाहको गोलमा नै लिभरपुलले पहिलो हाफभरि १–० को अग्रता लिएको थियो । यस्तै खेलको ८७औं मिनेटमा डाभक ओरिजीले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए ।

जारी खेलको पहिलो मिनेटमै टोटनह्यामका मोउसा सिसिकोले बक्सभित्र ह्याण्ड गरेपछि स्लोभेनियाका रेफ्री दामिर स्कोमानियाले लिभरपुललाई पेनाल्टीको अवसर दिएका थिए ।
साडियो मानेले चतुर्याईंपूर्वक प्रहार गरेको बल सिसिकोको छातीमा लागेर हातमा छुँदै भूईंमा झरेको थियो । टोटनह्यामका खेलाडीले अपील गरे पनि रेफ्रीले भार मार्फत आफ्नो निर्णय परिवर्तन गरेनन् ।
पेनाल्टीमा मोहम्मद सालाहले लेफ्ट फुटेट शर्टमार्फत उत्कृष्ट गोल गरी दोस्रो मिनेटमै अग्रता दिलाएका हुन् ।
च्याम्पियन्स लिग फाइनलमा छिट्टो गोल गर्ने सालाह दोस्रो फुटबलर बनेका छन् । यसअघि सन् २००५ को फाइनलमा एसी मिलानका पाउलो माल्दिनीले लिभरपुलबिरुद्ध ५० सेकेण्डमै गोल गरेका थिए ।
१ गोलले पछि परेको स्थितिमा खेलमा फर्कने टोटनह्यामको प्रयास पहिलो हाफमा सफल भएन । उसले पहिलो हाफको अधिकांश समय बल नियन्त्रणमा राखे पनि गोल गर्न सकेको थिएन ।




प्रतिकृया