कर्मचारीहरुको व्यवस्थापन बारे छलफल : प्रत्यारोपण केन्द्र
प्रकाशित मिति
२०७६ जेष्ठ १४ गते, मंगलवार ११:१३
भक्तपुर । लोकसेवा आयोगको परीक्षामा हुनसक्ने अनुतीर्ण करारका कर्मचारीहरुको व्यवस्थापनबारेमा छलफल भइरहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका लागि लोकसेवाबाट स्थायी पदपूर्ति गर्न विज्ञापन प्रकाशित गरेपछि त्यहाँ कार्यरत पुराना कतिपय नर्सहरु आन्दोलनमा उत्रिएका छन् । प्रत्यारोपण केन्द्र प्रशासनले पाँच महिनादेखि पुराना कर्मचारीलाई स्थायी, काम र अनुभव हेरेर बढुवा गर्नुपर्ने, आफ्ना मान्छेलाई भन्दा काम गरेकैलाई प्रोत्साहन गर्नुपर्ने, जोखिम भत्ता प्रदान गर्नु पर्नेसहितका मागसहित उनीहरूले आन्दोलन थालेका थिए।

अस्पताल प्रशासनद्धारा जारी विज्ञप्तीमा केन्द्रमा कार्यरत कर्मचारीहरुकै माग बमोजिम लोकसेवा आयोगबाट स्थायी पदपूर्ती प्रक्रिया शुरु भइसकेको भन्दै आमरण अनशनमा बसेकी स्टाफ नर्सलाई अनशन तोड्न अनुरोध गरिएको छ ।
केन्द्रका निर्देशक डा।पुकारचन्द्र श्रेष्ठ, केन्द्रका चिकित्सक ,नर्स तथा कर्मचारीहरुको रोजगारी सुनिश्चित गर्न नै लोकसेवा आयोगमार्फत परीक्षा लिन लागिएको स्पष्ट पारेका छन ।
केन्द्रको लागि आवश्यक चिकित्सक, नर्स, कर्मचारी गरी करिब १ सय ७० पदको लागि लोकसेवा आयोगले विज्ञापन प्रकाशन गरिसकेको छ । जसमा स्टाफ नर्सको लागि ९६ पदमा दर्खास्त आह्वान गरिएको छ । हाल केन्द्रमा करारमा ९६ जना नै नर्सहरु कार्यरत छन् । कार्यरत नर्सहरुमध्ये केही दर्जन नर्सहरु आन्तरिक रुपमै स्थायी हुनुपर्ने माग राखेर आन्दोलनमा छन् । उनीहरुले आफूहरुले वर्षौं काम गर्दा पनि केन्द्रमा काम गर्न नसक्ने गरी लोकसेवामार्फत विज्ञापन गराइएको आरोप लगाएका छन् । केन्द्रबाट आफूहरुलाई निकाल्ने नियतबाट विज्ञापन गरिएकाले आफूहरुको रोजगारी सुनिश्चित हुनुपर्ने उनीहरुको माग रहेको छ ।
यसैबीच केन्द्रले सामाजिक सञ्जालको प्रयोग गरी केन्द्रका कतिपय चिकित्सक तथा नर्सहरुद्धारा अभिव्यक्त गलत भएको ठहर गरेको छ । उसले गरीव नेपालीको आस्था र भरोसाको केन्द्रलाई तहस नहस बनाउने उद्धेश्यले त्यस्ता तथ्यहिन टिप्पणी आएको भन्दै भत्र्सना गरेको जनाएको छ ।
केही दिन अघि केन्द्रमा कार्यरत डा।सम्पूर्णमान तुलाधरले केन्द्रमा उपचार भन्दा अनियमितता, भ्रष्टाचार बढेकोे, खरीद गरिएका महंगा उपकरणहरु प्रयोग विहीन अवस्थामा रहेको र त्यसमा केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठको बदनियत देखिएको भन्दै आफ्नो फेसबुक पेजमा लेखेका थिए ।
केन्द्रले सोही टिप्पणीको जवाफ लेख्दै कपोलकल्पित र भ्रामक भनेको हो। उसले विज्ञप्तीमा मुटुको उपचार भइरहेको तर अप्रेशन नभएको बताएको छ । छ बर्षको अवधीमा ६१४ जनाको मिर्गौला प्रत्यारोपण भएकोमा ९९ प्रतिशत सफलता पाएको, पछिल्लो ४०० जनाको प्रत्यारोपणमा सतप्रतिसत सफलता हासिल गरेको, मुलुकमै पहिलो पटक कलेजो प्रत्यारोपण गरेको, मस्तिस्क मृत्यु भएका व्यक्तिबाट झिकेर ६ जनाको मिर्गौला र एक जनाको कलेजो प्रत्यारोपण गरेको विवरण सार्वजनिक गरेको छ । उसले केन्द्रबाट बार्षिक करीब ३० हजार सेसन डायलासिस हुने गरेको जनाएको छ ।
केन्द्रका निर्देशक डा।पुकारचन्द्र श्रेष्ठले हालसम्म आफ्नो कार्यक्षेत्रमा हासिल गरेका कुराहरू नयाँ पुस्तामा हस्तान्तरण गर्दै सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई शैक्षिक प्रतिष्ठानमार्फत् आफ्नो ज्ञान र सीपलाई हस्तान्तरण गर्ने ठोस योजना बनाएको बताएका छन । साथै, नयाँ वर्षको सुरुवातमै अङ्ग दानसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू भइरहेको र व्यक्तिगतरूपमा भन्दा पनि काममा अझ समर्पित भएर बढीभन्दा बढी यस क्षेत्रमा कसरी काम गर्न सकिन्छ भन्ने खोजमा रहेको उनको भनाइ रहेको छ ।
निर्देशक श्रेष्ठले नर्सहरुको यस आन्दोलनको अर्थ नरहेको बताएका छन साथै उनले कानुनसम्मत अस्पतालबाट दिनुपर्ने सबै सुविधाहरू आफुहरुले दिएको बिनाअर्थ आन्दोलन गरेर बिरामीले पाउने सेवामा असर गर्नु कुनै अर्थ नभएको जिकिर गरेका छन ।




प्रतिकृया