बालुवाटारको ‘मारिया हस्पिटल’ सिल, तीन चिनियाँ चिकित्सकको दर्ता निलम्बन
प्रकाशित मिति
२०८३ जेष्ठ २८ गते, बिहीबार १०:२०
२८ जेठ २०८३ काठमाडौं – नेपाल मेडिकल काउन्सिलले काठमाडौंको बालुवाटारस्थित ‘मारिया हस्पिटल’ (मारिया हेल्थ सेन्टर प्रा.लि.) मा सिलबन्दी गरेको छ। काउन्सिलको स्थलगत अनुगमनमा अस्पताल आवश्यक अनुमति र क्लिनिकल मापदण्ड पूरा नगरी गैरकानुनी रूपमा सञ्चालन भइरहेको भेटिएपछि उक्त कदम चालिएको हो।

काउन्सिलका अनुसार अनुगमनका क्रममा विदेशी चिकित्सकमार्फत अवैध रूपमा बिरामीको स्वास्थ्य परीक्षण गराइरहेको पाइएको थियो। त्यसपछि काउन्सिलले अस्पतालविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।

घटना सार्वजनिक भएपछि चिकित्सा अभ्यासमा संलग्न तीन चिनियाँ चिकित्सकको अस्थायी दर्ता तत्कालका लागि निलम्बन गरिएको छ। साथै अस्पतालको बोर्डमा नाम राखी आचारसंहिता उल्लंघन गरेको आरोपमा संलग्न नेपाली चिकित्सकहरूलाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।

काउन्सिलले अस्पताललाई भौतिक रूपमा बन्द गराउन तथा सञ्चालकमाथि आवश्यक कारबाही अघि बढाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरिसकेको जनाएको छ। साथै भिसा सर्त विपरीत गतिविधिमा संलग्न विदेशी नागरिकहरूको भिसा र श्रम इजाजत खारेज गर्न सम्बन्धित निकायमा विस्तृत प्रतिवेदन पठाइएको छ।
नेपाल मेडिकल काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेले जनस्वास्थ्यसँग खेलबाड गर्ने तथा काउन्सिलको आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई कानुनअनुसार कडा कारबाहीको दायरामा ल्याइने बताए।
काउन्सिलले बिना अनुमति सञ्चालन भएका स्वास्थ्य संस्था वा दर्ताविना बिरामी जाँच गर्ने चिकित्सकबारे जानकारी भए प्रमाणसहित काउन्सिल वा स्थानीय प्रशासनमा उजुरी दिन सर्वसाधारणलाई आग्रह गरेको छ। उजुरीकर्ताको गोपनीयता पूर्ण रूपमा सुरक्षित राखिने पनि काउन्सिलले जनाएको छ।






प्रतिकृया