• २३ भदौ २०८३, मंगलबार
  • ११ः३४ बिहान

साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो

प्रकाशित मिति

२०८३ भाद्र २३ गते, मंगलवार ११:३४

२३ भदौ २०८३ काठमाडौं — चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा घरजग्गा कारोबारसँगै यस क्षेत्रबाट संकलन हुने राजस्वमा समेत उल्लेख्य वृद्धि भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आर्थिक वर्ष २०८२/८३ को साउनको तुलनामा चालु आवको साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढेर १ लाख १४ हजार ८ पटक पुगेको छ। गत वर्षको साउनमा यस्तो कारोबार १ लाख ४ हजार २१८ पटक भएको थियो।

National Life

घरजग्गा कारोबारबाट संकलन हुने राजस्व भने १६.९२ प्रतिशतले बढेर ३ अर्ब ८४ करोड ५८ लाख रुपैयाँ पुगेको छ। गत वर्षको साउनमा यस्तो राजस्व ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँ थियो। त्यस्तै, लिखत पारितको संख्या पनि बढेको छ। गत वर्षको साउनमा ३१ हजार ६२१ लिखत पारित भएकोमा चालु आवको साउनमा यो संख्या बढेर ३३ हजार ९७८ पुगेको विभागको तथ्यांक छ।

यस अवधिमा घरजग्गाको कित्ताकाट पनि उल्लेख्य रूपमा बढेको छ। गत वर्षको साउनमा २० हजार ९०१ कित्ता जग्गालाई टुक्र्याएर ४२ हजार ५६३ कित्ता बनाइएको थियो। चालु आवको साउनमा भने ३० हजार ६८ कित्ता जग्गालाई टुक्र्याएर ६१ हजार १०२ कित्ता बनाइएको विभागले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

पूँजीगत लाभकर बढ्दा राजस्वमा प्रभाव

घरजग्गा कारोबारको तुलनामा राजस्व वृद्धि उच्च हुनुमा चालु आर्थिक वर्षदेखि लागू भएको पूँजीगत लाभकरको नयाँ दरको समेत प्रभाव रहेको जानकारहरू बताउँछन्। यसअघि पाँच वर्षभन्दा कम अवधिसम्म जग्गा होल्ड गरी बिक्री गर्दा प्राप्त लाभमा ७.५ प्रतिशत र पाँच वर्ष वा सोभन्दा बढी अवधिसम्म होल्ड गरी बिक्री गर्दा ५ प्रतिशत पूँजीगत लाभकर लाग्ने व्यवस्था थियो।

चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले पाँच वर्ष वा सोभन्दा बढी अवधिसम्म होल्ड गरिएको घरजग्गा बिक्रीमा लाग्ने लाभकर ५ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत तथा पाँच वर्षभन्दा कम अवधिमा बिक्री गर्दा लाग्ने कर ७.५ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्‍याएको छ। करको दर बढेका कारण घरजग्गा कारोबारको संख्याभन्दा राजस्व वृद्धि उच्च देखिएको जानकारहरूको भनाइ छ।

प्रतिकृया