• २३ भदौ २०८३, मंगलबार
  • ८ः२५ राती

रसुवामा डिशहोम र युटेलस्याट वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट

प्रकाशित मिति

२०८३ भाद्र २३ गते, मंगलवार ०८:१९

२३ भदौ २०८३ काठमाडौं — बाढीबाट प्रभावित रसुवाका विभिन्न क्षेत्रमा डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र युटेलस्याट वनवेबले निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराएका छन् । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भदौ १० गते रसुवा जिल्लाका विभिन्न क्षेत्रमा दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा सञ्चार तथा सूचना आदानप्रदानलाई निरन्तरता दिन डिशहोमले विशेष पहल अघि बढाएको हो ।नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) को स्वीकृति तथा समन्वयमा डिशहोमले युटेलस्याटसँगको सहकार्यमा बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा निःशुल्क वनवेब स्याटेलाइट इन्टरनेट सेवा सञ्चालनमा ल्याएको जनाएको छ । उक्त सेवा भदौ २० गतेदेखि प्राथमिकताका आधारमा उपलब्ध गराउन थालिएको हो ।

National Life

प्राकृतिक विपद्का समयमा भरपर्दो सञ्चार सेवा उद्धार, राहत तथा समन्वयका लागि आवश्यक हुने भएकाले प्रभावित क्षेत्रमा रहेका सरकारी कार्यालय, सुरक्षा निकाय, उद्धार तथा राहत शिविर र महत्वपूर्ण समन्वय केन्द्रमा निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।युटेलस्याट वनवेबको लो अर्थ अर्बिट (एलईओ) स्याटेलाइट प्रविधिमा आधारित उक्त सेवा बाढीका कारण क्षतिग्रस्त स्थानीय दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारको वैकल्पिक सञ्चार माध्यमका रूपमा प्रयोग गर्न सकिनेछ । यसबाट सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय प्रशासन, उद्धारकर्मी तथा मानवीय सहायता र राहत कार्यमा संलग्न सरोकारवालाबीच सूचना आदानप्रदान, समन्वय तथा आवश्यक डेटा प्रवाहलाई निरन्तरता दिन सहयोग पुग्ने कम्पनीले जनाएको छ ।

डिशहोमले प्राकृतिक विपद्का कारण परम्परागत दूरसञ्चार तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा भरपर्दो वैकल्पिक सञ्चार माध्यम उपलब्ध गराउनु आफ्नो प्राथमिकता रहेको जनाएको छ । प्रभावित समुदाय, सरकारी निकाय, सुरक्षा तथा उद्धारकर्मीलाई आवश्यक सञ्चार सुविधा उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको बताएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कम्पनीका अनुसार नेपाल दूरसञ्चार प्राधिकरण, सरकारी निकाय, सुरक्षा निकाय तथा स्थानीय सरोकारवालासँगको समन्वयमा प्रभावित क्षेत्रमा कनेक्टिभिटीको आवश्यकता तथा प्राथमिकताको मूल्यांकन भइरहेको छ ।

दूरसञ्चार तथा इन्टरनेट पूर्वाधार पूर्ण रूपमा मर्मत तथा पुनःस्थापना नभएसम्म आवश्यकताका आधारमा उच्च प्राथमिकतामा रहेका थप स्थानमा स्याटेलाइट इन्टरनेट सेवा विस्तार गर्दै जाने डिशहोमले जनाएको छ ।

डिशहोम र युटेलस्याट वनवेबले विपद्को समयमा प्रविधिको प्रभावकारी प्रयोगमार्फत आपत्कालीन सञ्चार, उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउँदै प्रभावित समुदायको आपत्कालीन प्रतिरोधात्मक क्षमता सुदृढ गर्न योगदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिकृया