नेपालका १०६ ब्लड बैंक मध्ये भक्तपुर ब्लड बैँक उत्कृष्टमा पर्छ: मनोज कुमार थापा
प्रकाशित मिति
२०७६ फाल्गुन ५ गते, सोमबार ०४:५९
अन्र्तराष्ट्रिय रेडक्रस सोसाइटीको स्थापना सन् १८६३ सालमा भए यता विश्वभर यसले विभिन्न क्षेत्रमा मानव सेवामुखी काम गर्दै आएको छ । नेपालमा रेडक्रसको अभियान सय बर्ष पछि सुरु भएको हो । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले भने वि.सं. २०२५ साल देखी २०७६ सालसम्म आइपुग्दा विभिन्न आरोह अबरोहहरु पार गरेको छ । यस संस्थाले विपद् व्यवस्थापन, मानवीय कानुनको प्रचारप्रसार, स्वास्थ्य तथा सामुदायिक विकास र संगठन बिस्तारको कार्य गर्दै आएको छ । रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा संस्थाले “रगत नपाए भक्तपुर जाऔं” भन्ने नारा सार्थक बनाएको छ । यसै सेरोफेरोमा रहेर विगत १२ वर्ष देखि निरन्तर नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति रहनु भएका मनोज कुमार थापासंग रेडक्रस अभियानका बिविध पक्षबारे गरिएको कुराकानीः
रेडक्रस सोसाइटीको सुरुवात कसरी भयो र यो कस्तो संस्था हो ?
रेडक्रस सोसाइटी भनेको नितान्त मानवीय सहयोगी संस्था हो । यो संस्थाको उत्पति नै मानवीय सहयोगको लागि भएको हो । इङ्ल्याण्डका एक व्यापारी इटालीको सल्फेरिनो भन्ने ठाउँमा पुगेपछि त्यहाँ युद्ध भएको देख्छन् ,त्यो युद्धमा सिपाहीहरु देशको निम्ति लडेका हुन्छन् तर घाइते भएको खण्डमा उपचार गर्ने कोही हुदैन । त्यो दृश्य देखे पछि उसले त्यहाँका स्थानिय मानिसहरुको सहयोगमा घाइते मानिसहरुलाई मलम पट्टि गर्ने र पानी पिलाउने तथा प्राथमिक स्वास्थ्य उपचार गर्ने काम गर्छन् । त्यो घटना पछि आफ्नो व्यापारीको काम छोडेर उनी आफ्नो ठाउँ जेनेभा फर्किएर सेल्फेरिनोको स्मृति नाममा पुस्तक लेखेका थिए । उनले पुस्तकमा अन्तराष्ट्रिय संस्था हुनुपर्छ जो नितान्त सबैको साझा सँगै बिना कुनै धर्म र रङ्गको भेदभाव नगरी मानवीय सेवामा सर्मपित गर्ने परिकल्पना समाबेस गरेका थिए ।

त्यही सोच अनुरुप सन् १९६३ सालमा रेडक्रस सोसाइटीका जन्म भयो । अहिले १९२ राष्ट्रमा यो संस्थाले काम गरिरहेको छ । यो सँस्था धेरै सँख्यामा मानिसको सहभागीता भएको संस्थाको रुपमा रहेको छ । यस संस्थाको उद्देश्य मानव हितका लागि निस्वार्थ सेवा गर्ने हो । यसलाई जोगाउन सबैको सहयोग अपरिहार्य छ । “रेडक्रस हामी सबैको सँस्था हो” भन्ने यस सँस्थाको उदेश्य हो । सरकार, संस्था र नागरिक मिलेर काम गर्दा उद्देश्यलाई सार्थक बनाउन सफल हुन्छौँ र हामी सबै कर्मचारी पनि यही प्रयत्नमा लागि परेका छौँ ।

रेडक्रस सोसाइटीको भक्तपुर लगायत अन्य कतिवटा शाखा संचालनमा छन् ?
नेपालमा संचालन भएको पाँच वर्ष पछि वि.सं. २०२५ फागुन २५ गतेबाट भक्तपुर जिल्लामा रेडक्रस सोसाइटी संचालन आएको हो । वि.सं.२०५१ सालसम्म जिल्लामा उपशाखाहरु नभएको अबस्था थियो भने वि.सं. २०६४ साल पछि मात्र उपशाखाहरुको स्थापना भयो ।
नेपाल रेडक्रस सोसाइटीको केन्द्र, प्रदेश, जिल्ला शाखा र उपशाखा गरि चारवटा तहमा कार्यरत छन् । देशभरिका ७ वटा प्रदेशमा ७ वटै प्रदेश कार्यालय, ७७ जिल्लामा ७७ उपशाखाहरु गरी देशभरिमा पन्ध्र सय भन्दा बढि उपशाखाहरु रहेका छन् । ती मध्य भक्तपुर जिल्ला शाखासँग २१ वटा उपशाखाहरु आावद्ध रहेर काम गर्दै आएका छन् ।
चाँगुनारायणमा ९ वटा, सुर्यविनायकमा ८ वटा , भक्तपुरमा २ वटा, मध्यपुर थिमी नगरपालिकामा ३ वटा उपशाखाहरु छन् । हामीले विपत व्यवस्थापन, मानविय कामको प्रचारप्रसार, स्वास्थ्य तथा सामुदायिक विकास, संगठन बिस्तार भनेर चारवटा कार्यक्षेत्रमा रहेर काम गर्दै आएका छौँ । हामीले त्यही अनुरुप स्वयं सेवकहरुलाई तालिम दिएर तयार गरेका छौँ ।
भक्तपुर रेडक्रस सोसाइटीले मुख्य के उद्देश्यमा लक्षित रहेर काम गर्छ ?
हामीले चारवटा कार्यक्षेत्रमा रहेर ७७ जिल्लामा नियमित र विकासका गतिविधिहरु संचालन गर्दै आएका छौँ । नियमित गतिविधिमा रक्त संञ्चार सेवा निरन्तर रहेका छ । जिल्ला र उपशाखाबाट पाँच एम्बुलेन्स र एक शववहान रहेको छ । भक्तपुरमा विकासको कार्यक्रम अन्तर्गत भक्तपुरभित्र हुने विपद्सँग रहेर केही कार्यक्रम चलाएका थियौँ । भुकम्प आउनु अगाडी पनि सुरक्षित समूदायको लागि भूकम्प पूर्वतयारीे (Earthquake preparedness for Safer Communities-EPS) लागी भनेर भक्तपुर, मध्यपुर थिमि, चाँगुनारायण र सुर्यविनायक नगरपालिका लगायतका केही वडाहरुमा भूकम्पमा कसरी जोगिने, समुदायमा भूकम्पको बारेमा कसरी जानकारी दिने, त्यसको क्षतिलाई कम गर्नको लागि जनशक्ति तयार गर्नेबारे हामीले काम गरेका थियौँ । त्यही समयमा हामीले कण्टेनरको स्थायी गोदाम बनाएका थियौँ । यसलाई दश रेक्टरको भुकम्पमा पनि क्षति नपुग्ने ढङ्गबाट व्यबस्थापन गरेका छौँ । तर गोदाममा सामान भर्न नपाउँदै भूकम्प आएकोले चाहिएको सहयोग गर्न पाएको थिएनौ । अहिले हामीले २५ परिवारलाई १२ महिना पुग्ने राहत सामग्री स्टक राखेका छौँ । एक परिवारलाई ७ हजार ५ सय बराबरको सामग्री छुट्याएको छौँ । केहि समयका लागि जीविकोपार्जन गर्न १ परिवारलाई चाहिने सम्पूर्ण सामग्री उपलब्ध छन् । हामीसँग भएको सामानहरुमा एउटा ठुलो त्रिपाल, दुइवटा कम्बल, पाँचजना सदस्यलाई पुग्ने लत्ताकपडा, भाडाकुडा राखेकाछौँ । हाम्रो उद्देश्य गरिबहरुलाई तत्काल महत्तवपुर्ण सामानहरु उपलब्ध गराउने हेतुले राहत दिने कोशिस हो ।
धेरै प्रकारको विपद्को महसुस गर्दै भक्तपुर जिल्लामा मल्टिह्याजार्ड भनेर ब्रिटिस रेडक्रसको सहयोगमा भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिकामा उत्थानशील नगर प्रवद्र्धन र सहभागिता कार्यक्रम संचालन गर्यौँ । कार्यक्रम संचालन गर्ने क्रममा हामीले प्रत्यक्ष करिब ७ सय जनासँग भेट पनि गर्यौ। राजनितिक दल देखि एकल महिला, जनजाति, दलित विभिन्न संस्थाहरुसँग अलग–अलग कार्यक्रम गरेर हामीले विपत्तिको प्रकार र समाजमा यसको असरको बारेमा सामुदायको क्षमता अनुरुप योजना बनाएर काम गरेका थियौँ ।
समुदायले हिजोको दिनमा काम गर्ने तरिकाबाट समस्याको न्युनिकरण हुन नसकेर हामीले विभिन्न कार्यक्रम संचालनमा ल्याएका छौँ । प्राकृतिक विपत्ति हुँदा धनी देखि गरिबसम्म सबै आपकालिन अबस्थामा थिए भने धनिले छोटो समयमा आफुलाइ रिकभर गर्न सक्यो भने गरिब वर्गलाई कठिनायी भएको थियो । हामीले तत्काल जीविकोपार्जनका निम्ति केही सहयोग गरेका थियौँ । भूकम्पमा बढि प्रभाव भएकाहरुको लागि विभिन्न समुह बनाएर काम गर्यौँ । एकल महिला, जनजाति, सुकुमवासी, खुद्रा व्यापारीहरुलाई समावेश गराएर आठ ओटा ‘च्याम्पियन’ समुह बनायौँ । हामीले प्रभावित भएका मध्य बालबालिकाहरुलाई लक्षित गरेर कामहरु अगाडी बढाएका छौँ । हामीले यो काम तीनवटा उद्देश्यले सुरु गरेका हौँ ।
प्रथम, स्थानीय निकायलाई जिम्मेवारीको वोध गराउन जरुरी छ किनकि समुदाय स्तरबाट स्वंम जिम्मेवार भएर काम नगरेसम्म जागरुक हुन सक्दैनन् । स्थानीय सरकार नगरपालिकाबाट डिपिआर, वडाको प्लान, नगरपालिका भित्र डिजास्टर लरनिङ सेन्टर बनाएर यसको बारेमा क्षमता बृद्धि गराइ जानकारी दिने, डिजास्टरमा प्रयोग हुने टि.भी, कम्प्युटर जस्ता इक्युपमेन्टहरु दिएर विकास गर्ने गरेका छौँ । यो हामीले भक्तपुर र मध्यपुर थिमि नगरपालिकामा बनाएर हस्तान्तरण गरिसकेका छौँ ।
दास्रो, स्थानीय सरकारलाई जागरुक बनाउने, अर्को जिल्ला शाखा र उपशाखाहरुको क्षमता अभिबृद्धि गर्नका लागि तालिम दिने, स्वयंसेवकको संख्या बढाउने, विपदमा प्रयोग हुने सामानको भण्डारण गर्ने उद्देश्यले यी तीनवटा कार्यक्रमहरु संचालन गरिएको छ । यो कार्यक्रम सुरु भएको ३ वर्ष पुरा भइ अब २ वर्ष बांकि रहेको छ । हामीले भूकम्प पिडितहरुकालागि ३ वर्षको कार्यक्रम संचालन गरेका थियौँ यो अवधी पुरा भएर हस्तान्तरण गरिसकेका छौँ ।
तेस्रो, हामीले भूकम्पको बेला मुख्य दुई भक्तपुर र चाँगुनारायण नगरपालिकामा केन्द्रित रहेर काम गरेका थियौँ । हामीले जिल्ला विपद व्यवस्थापनले छुट्याए अनुसार लाइबलिहुड, हेल्थ, सेल्टर, खाना गरि चारवटा क्षेत्रमा केन्दि«त रहेर काम गर्यौ । दुइवटा नगरपालिकाको करिब ५२ सय परिवारलाई जिविकोपार्जनकालागि २० हजार रुपया हस्तान्तरण गरेका थियौँ । ती रकमले कसैले तरकारी खेती गर्नुभयो, कसैले कुखुरा फारम र किराना पसल राख्नु भयो । हामीले हस्तान्तरण पछि पनि निरन्तर निरिक्षण गर्यौँ । हामीले जिविकोपार्जन सहज बनाउन विपद न्युनिकरणका लागि आर्थिक उन्नतिका निम्ति सहयोग गरेका थियौँ । भक्तपुर जिल्लाभरको स्वास्थ्य चौकीमा आवश्यक सामग्री सहयोग गरेका थियौँ । विभिन्न ठाउँमा धारा, इनार पनि निर्माण गर्यौ । हेल्थ पोस्टहरु बनायौँ, ३ सयको संख्यालाई घर बनाउने तालिम सिहत प्रमाणपत्र वितरण गर्यौ, ती मध्य २ सयजनाले प्रमाणपत्रको आधारमा काम गर्दैहुनुन्छ ।
रेडक्रस सोसाइटीमा कति जना कर्मचारी आवद्ध छन् ?
रेडक्रस सोसाइटीमा दुई प्रकारका कर्मचारीहरु कार्यरत छन् । एक स्वंमसेवकहरु जो पारिश्रमिक बिना काम गर्नन् भने अर्को कर्मचारीहरु जो तलबमा काम गर्छन् । प्रदेश शाखा, जिल्ला शाखा र उपशाखामा स्वंमसेवकहरु गरेर नेपालभर एक हजार कर्मचारीहरु आवद्ध छन् ।
भक्तपुर जिल्लामा ब्लड बैंक र एम्बुलेन्स चालक सबै गरेर २९ जना कर्मचारी छन् । २१ वटा उपशाखामा ११ जनाको दरले २३१ जना भक्तपुर जिल्लाशाखामा मात्र विभिन्न तालिम दिएर १४ हजार स्वंमसेवकहरु छन् । २० किसिमको तालिम दिएर विभिन्न विभागमा कार्यरत छन् ।
रेडक्रस सोसाइटीको आयआर्जनको माध्यम के हो ?
यस संस्थाको आयआर्जन भनेको चन्दा र तालिमबाट आएको रकम नै हो । प्रवद्र्धनात्मक प्राथमिक उपचार तालिमहरु संचालन गर्छौ । रेडक्रस आफैले आयोजना गरको तालिमे निःशुल्क हुन्छ तर अरु कुनै संस्थाबाट आयोजित हुँदा एकजना बराबर पाँच हजार रकम बुझाउनु पर्ने प्रावधान छ । जस्तै वल्र्ड भिजन, युनिसेफ, सेभ द चिल्ड्रेन अन्तरगत आयोजनामा २४ जनाले तालिम लिन सक्छन् । रेडक्रसको लागि केन्द्रबाट पनि प्रोजेक्टहरु प्राप्त हुन्छ । जस्तै भक्तपुर जिल्लाको भवन निर्माणको प्रायोजक ब्रिटिस रेडक्रस सोसाइटीले गरेको हो । कहिले अमेरिकन, क्यानेडियन, ब्रिटिस रेडक्रसले विभिन्न कार्यक्रमको माध्यमबाट प्रोजेक्ट दिरहेका हुन्छन् । ख्वपा भक्तपुर मिनिबस यातायात प्रा.लि ले एकपटक बस गुडे वापत पाँच रुपैयाँको दरले सहयोग दिने गरेका छन् । केन्द्र, स्थानीय सरकारहरुको सहयोग नै हाम्रो स्रोत रहेको छ ।
भक्तपुर रेडक्रसको २०२० सालमा के–के योजनाहरु छन् ?
भक्तपुर जिल्लालाई ब्लड बैंकको निकायमा अझ विकास गर्ने योजना रहेको छ । विगत १२ वर्षदेखि “रगत नपाए भक्तपुर जानु” भन्ने नारा राखेर जनमानसमा सुचना प्रवाह गरेका छौँ । कसैले रगत नपाएको खण्डमा हामीले भक्तपुर आउनुस हामी रगत दिन्छौँ भनेका छौँ । हामीले जिल्ला सभामा उद्घोष गरेर रक्तरोगीको पहुँचमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले यो नारा राखेको थियौँ । भक्तपुर जिल्ला शाखाले पहिले एकहजार रगत संकलन गथ्र्याे भने अहिले ३० हजारसम्म संकलन गर्दै आएको छ । पहिले ५ हजार आपूर्ती गथ्र्यौ भने अहिले ५० हजार आपूर्ती गर्छ । दोलखा, सिन्धुपालचोक, काभ्रेपलान्चोक, नुवाकोट, रामेछापलाई रगत सङ्कलन गर्ने क्षेत्र बनाएका छौँ ।
उपत्यका भित्र भक्तपुर शाखा कलेक्सन पोइन्ट भनेर चिनाएका छौँ । यहाँ आउनु भएका व्यक्तिहरुले रगत नपाएर फर्केर जानु नपर्ने वातावरण बनाएका छौँ । त्यही भएर हामीले विभिन्न कलेजहरु भक्तपुरमा रहेका खोप कलेज, इन्जिनियरिङ कलेजलाई कलेक्सनको मेन पोइन्ट बनाएको छौँ । तत्काल चाहिएको अबस्थामा हामीले उहाँहरुलाई फोन गरेर ब्लड डोनेसन बोलाउछौँ । १८ वर्षको उमेर देखि २५ वर्षको युवाहरुलाई भेला पारेर क्लब ट्वान्टिफाइब बनाएका छौँ । उहाँहरु कल गरेपछि आएर डोनेसन गर्ने व्यबस्था गरेका छौँ ।
भक्तपुर नगरपालिकालाई विभिन्न भक्तपुर जिल्लाका नगरपालिकाहरुबाट सहयोग छ । डोनेसन गर्ने व्यक्तिलाई एकजना बराबर १ सय रुपैयाँ दिने नियम राखेका छौँ । यहाँको ब्लड बैँकलाई स्तरिय बनाउने योजनाले जापानिज रेडक्रससँग कम्युनिकेसन गरेर ४ लाख बराबरको इक्युपमेन्ट सहयोग आउँदैछ । हामी यी सामाग्री आएपछि थप सुविधा दिन अग्रसर हुन्छौँ । ब्लड कम्पोनेन्ट बनाउने, ब्लड टेस्ट गर्ने विभिन्न सामान उपलब्ध गराउछौँ । यस ब्लड बैँकको विभागमा हामीले धेरै सुधार गर्ने योजना गरेका छौँ । अहिले पनि हेर्ने हो भने नेपाल भरिको एक सय छ ब्लड बैँक मध्ये केन्द्र भन्दा पछि भक्तपुर ब्लड बैँक उत्कृष्टमा पर्छ ।
भक्तपुरमा रगतको अभावमा कतिको छ ?
अभाव कस्तो समयमा हुन्छ भने होल ब्लड भयो भने त्यस्तो अभाव हुदैन । विभिन्न ब्लड ग्रुप हुन्छ त्यसमा एक ब्लड ग्रुप नपाएको खण्डमा यो हल्ला पुग्न जान्छ किन कि हामीले त्यही ब्लड दिनको लागि ब्लड डोनेसन गर्न लगाउनु पर्छ त्यो समयमा दाता नआइदिनु भएको हुनाले अभाव भनिन्छ । अहिले डाक्टरहरुले कम्पोनेन्ट ब्लड पि.आर.पि, एफ.एफ.पि प्रयोग गर्ने भएको हुनाले होल ब्लडमा सबै कम्पोनेन्ट हुन्छ र एक पाउन्ड ब्लड ल्यायो भने तीन कम्पोनेन्ट बनाएर तीन जना बिरामीलाई सम्म पुग्न सक्छ । यसकारणले सजिलो भएको छ ।
हामी नजिकै भक्तपुर, धर्मभक्त मानव अङ्ग प्रत्यारोपण र क्यान्सर अस्पताल भएता पनि आउनु भएकाहरुलाई तीन कम्पोनेन्ट माग्नु हुदाँ हामीले दुई सम्म दिएर पठाउने गरेको छौँ । तत्काल काम चलाउन अप्ठ्यारो बनाएका छैनौ । जो कोहिसँग पनि ब्लड लिन सकिदैन स्वस्थ्य हुन पनि जरुरी छ । ६ घण्टा भित्रको ब्लड मात्र उपयुक्त हुन्छ । होल पाउन्ड ब्लड भयो भने ३५ दिन सम्म काम लाग्छ । कम्पोनेन्ट बनाइसकेपछि ७२ घण्टा भन्दा बढि स्टोरेज गर्न सकिदैन । छोटो समयमा ब्लड डोनेसन गर्न लगाएर दिन, उनीहरुको कामको कारण भनेको समयमा आइनपुग्दा त्यो बेलामा अभाव भन्ने हल्ला जान्छ । यो एउटा भ्रम फैलिएको हो । हामीले सकेसम्म यसलाई पनि म्यानेज गरेर लैजाने कोशिश गरेको छौँ । सय प्रतिशत सबैलाई दिन सकेको छैन । कसैले २०० पाउन्ड माग्यो भने हामी त्यस मध्य १७० सम्म दिएका छौँ ।
नेपाल भरिको सजिलो र सस्तो ब्लड बैँक भनेर पनि भक्तपुर ब्लड बैँकलाई चिनिन्छ । किड्नि प्यासेन्टलाई अरु ठाउँमा ७०० रुपयाँमा लिने गरेको छ भने हामी कहाँ ५०० रुपयाँमा दिन्छौँ ।
२०२० को प्रोजेक्टहरु केके छन् ?
उत्थानशील नगर प्रवद्र्धनको र सहभागीता कार्यक्रम (Strengthening Urban Resilience And Engagement Program-SURE)लाई निरन्तर गर्ने योजना छ । कसैलाई राहत चाहिएमा जिल्लासम्म आउनु नपरोस् भनेर उपशाखासम्म सुविधा पुर्याउने योजना रहेको छ । प्रत्येक उपशाखामा १० परिवारलाई पुग्ने सामग्री भण्डारण गर्न ब्यवस्थापन गरिसकेका छौँ ।
अब २०२० सालमा हाम्रो योजना भनेको समुदायको लागि र समुदायसँग होइन यसलाई अगाडि राखेर काम गर्ने रहेको छ । जबसम्म समुदायको मानिस अगाडि बढ्दैन तबसम्म विकास हुन सक्दैन, विपतको न्युनिकरण हुन सक्दैन भन्ने मान्यता रहेको छ । त्यही भएर हामीले हाम्रो काम गर्ने तरिका बदल्ने सोचेका छौँ । अब उपशाखाहरुलाई नै जिम्मेवारी दिएर अग्रसर गराउने योजना रहेको छ ।
अहिले सातौँ योजनामा भित्र रहेर काम गर्दैछौँ । नेपाल रेडक्रस सोसाइटीको ५ वर्षको योजना हुन्छ । त्यसमा पनि ४ वटा कार्यक्षेत्रमा रहेर ५ वर्ष भित्र कहाँसम्म पुग्ने ,के के काम गर्ने भन्ने विषयमा काम गर्छ । अहिले यो विषय छलफलको क्रममा छ । कुनै पनि संस्था बापत ब्लड जम्मा गरिएको खण्डमा यो सबै जनालाई प्रयोग गर्न सकिन्छ । सन् २०२० देखि २०२५ सम्मको लागि आठौ योजना तयार गर्ने भनेका छौँ । यही कार्यक्षेत्र भित्र रहेर लैङ्गिक समानता, महिला सहभागिता बृद्धि गर्ने, नेपाल रेडक्रस सोसाइटी सबैको बनाउने भनेर काम गर्ने योजना छ ।




प्रतिकृया