सुस्तामा भारतीय सुरक्षाकर्मीको गतिविधिबारे हर्क साम्पाङको प्रश्न, रक्षामन्त्री खोजेर ल्याइदिनुस्
प्रकाशित मिति
२०८३ जेष्ठ २९ गते, शुक्रबार ११:४७
२९ जेठ २०८३ काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली नागरिकलाई धाकधम्की दिएको विषय उठाउँदै संसदमा रक्षामन्त्रीको जवाफ माग गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सभामुखसमक्ष रुलिङ गरेर रक्षामन्त्रीलाई संसदमा उपस्थित गराउन आग्रह गरेका हुन्।

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिविरुद्ध आफूहरूले ११ दिनसम्म प्लेकार्ड प्रदर्शन गरेर विरोध जनाए पनि सरकारले कुनै चासो नदेखाएको साम्पाङले बताए। उनले भने, “प्रधानमन्त्रीज्यू त आउनुहुन्न। नेपाल सरकारको रक्षामन्त्री को हुनुहुन्छ, सभामुखज्यूले रुलिङ गरेर बोलाइदिनुपर्छ। उहाँलाई प्रश्न सोध्न चाहन्छु। सुस्तामा एसएसबी आएर नेपाली दाजुभाइलाई हप्किदप्की गरेको र स्थानीयले आफ्नो भूमिका लागि भिडिरहेको भिडियो सार्वजनिक भएका छन्।”

साम्पाङले नेपाली सेनाले सीमाक्षेत्रमा निरीक्षण गर्न समेत नपाउने कुनै सम्झौता भएको हो कि भन्दै प्रश्न उठाए। “हाम्रो नेपाली सेना सिमानामा जानै नहुने के कसम खाएको रहेछ? अवलोकन गर्न पनि पठाउन नमिल्ने के करार गरेको रहेछ? त्यो देखाइदिनुपर्यो,” उनले भने।

उनले सार्वभौम संसदका सदस्यका रूपमा सीमाक्षेत्रको वास्तविक अवस्था जान्न पाउनुपर्ने भन्दै रक्षामन्त्रीलाई संसदमा उपस्थित गराउन माग गरे। उल्लेखनीय छ, हाल रक्षामन्त्रीको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हालिरहेका छन्।




प्रतिकृया