• १८ साउन २०८३, सोमबार
  • १०:४२ बिहान

आज देशभर वर्षाको सम्भावना, बागमती–गण्डकीमा धेरै भारी वर्षा हुन सक्ने

प्रकाशित मिति

२०८३ श्रावण १८ गते, सोमबार ०९:०५

१८ साउन २०८३ काठमाडौं – जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालका तराई क्षेत्र नजिक रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

Kamana Sewa

बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थान, मधेश प्रदेश तथा कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने र बागमती तथा गण्डकीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

Classic Tech Desktop

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र र मधेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली तथा सुदूरपश्चिमका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।

महाशाखाले कोशी, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा र कोशी, बागमती तथा गण्डकीका पहाडी र तराई क्षेत्रमा एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास, पहिरो जोखिमयुक्त क्षेत्र र शहरी डुबान हुन सक्ने स्थानमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिकृया