शिक्षक महासंघको चेतावनी: भदौदेखि देशव्यापी आन्दोलन गर्ने निर्णय
प्रकाशित मिति
२०८३ श्रावण १८ गते, सोमबार ०९:३७
१८ साउन २०८३ काठमाडौं – नेपाल शिक्षक महासंघले भदौ महिनादेखि आन्दोलन सुरु गर्ने निर्णय गरेको छ। महासंघको परिषद् बैठकले आन्दोलन गर्ने निर्णय गरेको महासचिव तुलाबहादुर थापाले जानकारी दिएका छन्। उनका अनुसार आन्दोलनको ठोस मिति र कार्यक्रम भने विस्तारित कार्यालय बैठकले तय गर्नेछ। “भदौबाट आन्दोलन गर्ने निर्णय भएको छ, आन्दोलनको तिथि र कार्यक्रम विस्तारित कार्यालय बैठकले निर्णय गर्छ,” उनले भने।
महासंघले शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग दोहोर्याउँदै शिक्षा नियमावलीको १०औँ संशोधनमा समेटिएका केही प्रावधानप्रति असन्तुष्टि जनाएको छ। महासचिव थापाले संशोधनमा रहेका व्यवस्था शिक्षकमैत्री नभएको भन्दै पुनर्विचार गर्नुपर्ने बताएका छन्।

महासंघले शिक्षक सरुवा प्रणाली व्यवस्थित गर्न, विद्यालय कर्मचारी, ईसीडी (बालविकास) शिक्षक तथा अस्थायी प्रकृतिका शिक्षकहरूको उचित व्यवस्थापन गर्न पनि सरकारसँग माग गर्दै आएको छ।

महासंघले आफ्ना माग सम्बोधन नभए भदौदेखि चरणबद्ध आन्दोलनमा उत्रिने संकेत दिएको छ।




प्रतिकृया