• ९ साउन २०८३, शनिबार
  • ८:४१ बिहान

आज हरिशयनी एकादशी,आजदेखि चतुर्मासा व्रत सुरु

प्रकाशित मिति

२०८३ श्रावण ९ गते, शनिबार ०७:३१

काठमाडौं, आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका अवसरमा आजदेखि सनातन वैदिक परम्पराअनुसार चार महिनासम्म गरिने चतुर्मासा व्रत तथा तुलसीको विशेष पूजा–आराधना सुरु भएको छ।

परम्पराअनुसार एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन रोपिएको तुलसीको बिरुवा आज घरघरका तुलसी मोठमा सार्ने चलन रहेको छ। तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजा गरिन्छ र कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीसम्म विशेष रूपमा आराधना गरिन्छ।

Kamana Sewa

धर्मशास्त्रअनुसार आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने विश्वासका कारण यस दिनलाई हरिशयनी एकादशी भनिन्छ। यही चार महिनाको अवधिलाई चतुर्मासा पनि भनिन्छ।

Classic Tech Desktop

एक वर्षमा २४ वटा एकादशी पर्ने भए पनि सबै एकादशीमा व्रत बस्न नसक्ने भक्तजनले चतुर्मासाभर पर्ने आठ एकादशीमा व्रत बस्ने प्रचलन छ। व्यस्त जीवनशैलीका कारण लामो समय व्रत बस्न नसक्नेहरूले हरिशयनी र हरिबोधिनी एकादशीका दिन विशेष रूपमा फलाहार गरी व्रत गर्ने गर्छन्।

हरिशयनी एकादशीका अवसरमा काठमाडौंको बुढानीलकण्ठ, उपत्यकाका चार नारायण तथा देशभरका विष्णु र नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। यस दिन विशेषगरी चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडो तथा फलाहार ग्रहण गर्ने परम्परा रहेको छ।

धार्मिक विश्वाससँगै तुलसीलाई वैज्ञानिक रूपमा पनि औषधीय गुणयुक्त वनस्पति मानिन्छ। तुलसीले वातावरण शुद्ध बनाउन, अक्सिजनको मात्रा बढाउन तथा स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास रहँदै आएको छ।

चार महिनासम्म विधिपूर्वक पूजा गरिएको तुलसीको कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गराउने धार्मिक परम्परा छ। तुलसी विवाहसँगै हवन तथा अन्य वैदिक विधि सम्पन्न गरी चतुर्मासा व्रतको समापन गरिन्छ।

प्रतिकृया