चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
प्रकाशित मिति
२०८३ भाद्र ३१ गते, बुधबार ०१:४६
३१ भदौ २०८३ काठमाडौं — सरकारले सार्वजनिक यातायातका सवारीसाधनको दर्ता पुनः खुला गरेको छ। गत ७ जेठदेखि वातावरणीय प्रभावलाई कारण देखाउँदै अनिश्चितकालका लागि रोकिएको दर्ता करिब चार महिनापछि खुला गरिएको हो।
यातायात व्यवसायी, सवारी आयातकर्ता तथा बिक्रेताहरूको दबाबपछि यातायात व्यवस्था विभागले १ असोजदेखि लागू हुने गरी सार्वजनिक सवारीसाधनको दर्ता खुला गरेको जनाएको छ।
विभागका अनुसार दर्तामा विशेषगरी विद्युतीय सार्वजनिक यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिइएको छ। काठमाडौं उपत्यकाभित्रको रुट तथा सवारी व्यवस्थापनलाई ध्यानमा राख्दै हाललाई उपत्यकाबाहिर मात्र विद्युतीय सार्वजनिक यात्रुवाहक सवारीसाधन दर्ता गर्न पाउने व्यवस्था गरिएको छ।
यसअघि विभागले १८ साउनदेखि सार्वजनिक मालवाहक सवारीसाधनको दर्तासमेत खुला गरेको थियो। सार्वजनिक सवारीसाधनको दर्ता अर्को सूचना जारी नभएसम्म रोक्का गर्ने निर्णय गरेको विभागले आवश्यकता र अवस्थाअनुसार चरणबद्ध रूपमा दर्ता प्रक्रिया खुला गर्दै आएको हो।






प्रतिकृया