आज यस्तो छ मौसम,केही ठाउँमा अति भारी वर्षा
प्रकाशित मिति
२०८३ भाद्र ३१ गते, बुधबार ०८:०८
३१ भदौ २०८३ काठमाडौं — पछिल्लो २४ घण्टामा संखुवासभा, तनहुँ, स्याङ्जालगायतका क्षेत्रमा ठूलो वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा अति भारी वर्षासमेत भएको छ। मौसमविद्का अनुसार सबैभन्दा धेरै वर्षा संखुवासभामा मापन भएको छ। संखुवासभाको टाँसी गाउँ स्नो केन्द्रमा मंगलबार राति ८ बजेदेखि बुधबार बिहान साढे ७ बजेसम्म २८० मिलिमिटर वर्षा मापन भएको वरिष्ठ मौसमविद् निराजन सापकोटाले जानकारी दिए।
उनका अनुसार वर्षा कम हुँदै गएकाले पछिल्लो तथ्यांकमा वर्षाको मात्रा घटिरहेको छ। यसअघि २४ घण्टाको अवधिमा संखुवासभामा ३०० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको थियो। मौसम विज्ञानका अनुसार २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी वर्षा हुनुलाई अति भारी वर्षा मानिन्छ। त्यस्तै, १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी, ५० देखि १०० मिलिमिटरसम्मलाई भारी र १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम वर्षा मानिन्छ।
समाचार तयार पार्दासम्म तनहुँको थाप्रेकमा १६३.२, स्याङ्जामा १२७.६, गोरखामा ९३ र तनहुँको श्याम्घामा ८६.६ मिलिमिटर वर्षा मापन भएको छ।
तनहुँ र स्याङ्जामा मापन भएको वर्षा धेरै भारी वर्षाको श्रेणीमा परेको छ भने गोरखामा भारी वर्षा भएको छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार केही दिनदेखि टाँसी गाउँ क्षेत्रमा ठूलो वर्षा भइरहेको भए पनि हालसम्म बाढीपहिरोको घटना भएको जानकारी आएको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।






प्रतिकृया