आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहित बिदा दिने प्रस्ताव
प्रकाशित मिति
२०८३ भाद्र ३१ गते, बुधबार ०८:१३
३१ भदौ २०८३ काठमाडौं — सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक तयार भएको छ। उक्त विधेयक मन्त्रिपरिषद् हुँदै संसद्मा लैजाने तयारी गरिएको छ। कानुनमन्त्री सोबिता गौतमका अनुसार प्रस्तावित संशोधन विधेयकमा आमालाई कम्तीमा ६ महिना र बुबालाई ४२ दिनसम्म तलबसहितको बिदा दिने व्यवस्था गरिएको छ।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मन्त्री गौतमले व्यस्त जीवन, कामको चाप र बदलिँदो जीवनशैलीका कारण अधिकांश परिवार एक वा दुई सन्तानमा सीमित हुँदै गएको बताएकी छन्। मातृत्व र पितृत्वको विशेष समयमा अभिभावकले नवजात शिशु तथा परिवारलाई पर्याप्त समय दिन पाउने वातावरण बनाउनु राज्यको जिम्मेवारी भएको उनको भनाइ छ।
प्रस्तावित विधेयकमा आमाका लागि कम्तीमा ६ महिनाको तलबसहितको प्रसूति बिदा र बुबाका लागि ४२ दिनसम्मको तलबसहितको प्रसूति स्याहार बिदाको व्यवस्था गरिएको छ।
बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया भए पनि बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभएको मन्त्री गौतमले बताएकी छन्। अभिभावकत्व संयुक्त जिम्मेवारी भएकाले सोहीअनुसार कानुनी व्यवस्था गर्न विधेयक संसद्मा लैजाने तयारी भइरहेको उनले जानकारी दिएकी छन्।






प्रतिकृया