• २९ भदौ २०८३, सोमबार
  • ११ः२२ बिहान

भोटेकोशी विपद्मा अभिभावक गुमाएका बालबालिकाको दीर्घकालीन स्याहार सरकारले लिने

प्रकाशित मिति

२०८३ भाद्र २९ गते, सोमबार ११:०५

काठमाडौं । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भोटेकोशी बाढीका कारण अभिभावक गुमाएका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको दीर्घकालीन स्याहारको जिम्मेवारी सरकारले लिने बताएकी छन् ।राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री वादीले बाढीबाट धेरै परिवार प्रभावित भएको र कतिपय बालबालिकाले आफ्ना प्रियजन गुमाउनुका साथै घाइते भएर उपचाररत रहेको बताइन् ।

National Life

उनका अनुसार परिवारबाट छुट्टिएका तथा संरक्षणको पर्खाइमा रहेका बालबालिकाको उद्धार, संरक्षण, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग र परिवारसँग पुनर्मिलनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । मन्त्री वादीले अभिभावक गुमाएका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको संरक्षण गर्नु सरकारको जिम्मेवारी भएको उल्लेख गर्दै मन्त्रालयले उक्त जिम्मेवारी संवेदनशीलता र प्रतिबद्धताका साथ पूरा गर्ने बताइन् ।

ललितपुरको गोदावरी नगरपालिका–थेचोमा विशेष संरक्षण आवश्यक भएका बालबालिकाका लागि अस्थायी संरक्षण सेवा केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको उनले जानकारी दिइन् । केन्द्रमार्फत आवास, खानपिन, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, परिवारको खोजी तथा पारिवारिक पुनर्मिलनलगायत सेवा उपलब्ध गराइनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, बालबालिकाको दीर्घकालीन संरक्षण आवश्यकताको पहिचान गरी उपयुक्त व्यवस्था गरिने उनले बताइन् । बाढी प्रभावित क्षेत्र तथा होल्डिङ सेन्टरमा रहेका बालबालिकाको गोपनीयता, मर्यादा र सुरक्षालाई प्राथमिकता दिइएको उनको भनाइ छ ।प्रभावित जिल्लाका स्थानीय तह तथा बालबालिका राखिएका स्थानमा उनीहरूको अवस्था, पहिचान, विस्तृत लेखाजोखा र आवश्यक संरक्षण सेवाका लागि सहजीकरण टोली परिचालन गरिएको पनि मन्त्री वादीले जानकारी दिइन् ।

विपद्मा आमाबुवा गुमाएका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाका लागि सरकारले दीर्घकालीन स्याहार योजना कार्यक्रम कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै उनले कुनै पनि बालबालिकाले आफूलाई एक्लो र असुरक्षित महसुस गर्नुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरिन् ।

बालबालिकालाई हिंसा, दुर्व्यवहार, शोषण, बेचबिखन तथा असुरक्षाबाट जोगाउनु सरकारसँगै अभिभावक, विद्यालय, समुदाय, सञ्चारमाध्यम, नागरिक समाज, निजी क्षेत्र तथा बाल अधिकारका क्षेत्रमा कार्यरत संघसंस्थाको साझा दायित्व भएको उनले बताइन् ।

‘बालपनको रक्षा, भविष्यको सुरक्षा’ भन्ने यस वर्षको राष्ट्रिय बाल दिवसको नारालाई व्यवहारमा कार्यान्वयन गर्न सबै पक्षले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा मन्त्री वादीले जोड दिइन् ।

प्रतिकृया