प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
प्रकाशित मिति
२०८३ भाद्र २७ गते, शनिबार ११:५६
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पछिल्लो प्राकृतिक विपत्तिलाई आधार बनाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्न नहुने बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आयोजना गरेको कार्यक्रममा बोल्दै घिसिङले असाधारण प्राकृतिक विपत्तिका कारण नेपालमा लगानीको वातावरण जोखिमपूर्ण रहेको सन्देश जान नहुने बताएका हुन्।
उनले हजारौँ वर्षमा एकपटक आउने असाधारण प्रलयलाई आधार बनाएर जलविद्युत् आयोजनाको डिजाइन मापदण्ड अत्यधिक कडा बनाउँदा आयोजना आर्थिक रूपमा अव्यवहारिक बन्न सक्ने बताए। यद्यपि, सामान्य क्लाउडबर्स्ट, ठुलो बाढी तथा फ्ल्यास फ्लडजस्ता सम्भावित जोखिमबाट आयोजना सुरक्षित हुने गरी पर्याप्त सुरक्षा मापदण्ड र ‘सेफ्टी मार्जिन’ राख्नुपर्नेमा उनले जोड दिए।
घिसिङले भने, ‘यो प्रलयका कारण नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैन। यस्तो असाधारण प्राकृतिक विपत्तिलाई आधार बनाएर नेपालमा लगानीको वातावरण नै जोखिमपूर्ण छ भन्ने धारणा बनाउनु उचित हुँदैन।’
उनले निजी क्षेत्रका लगानीकर्ताको मनोबल बढाउन सरकारले भोटेकोशी–त्रिशूली करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्नुपर्ने मागसमेत गरे। बाढीबाट क्षति पुगेका आयोजनाका लगानीकर्तालाई प्रोत्साहन गर्न भन्सार छुट तथा सहुलियतसहितका कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ।
आगामी दिनमा जलविद्युत् आयोजनाका सुरुङ तथा पावर हाउसमा आपत्कालीन निकासद्वारको व्यवस्था गर्नुपर्ने पनि घिसिङले बताए। विपद्का बेला कर्मचारी तथा कामदारलाई सहज रूपमा बाहिर निकाल्न सकिने संरचना निर्माणमा ध्यान दिनुपर्ने उनको भनाइ छ।
घिसिङले विपद्पछिको उद्धार तथा प्रतिकार्यमा ऊर्जा मन्त्रालयले प्रभावकारी नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे। उनले ऊर्जा मन्त्रालयले जलविद्युत् आयोजनाको उद्धार तथा पुनःस्थापनामा नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए।
जलविद्युत् आयोजना तथा ऊर्जा क्षेत्रको विस्तार र विकासका लागि सरकार, निजी क्षेत्र तथा सम्बन्धित सबै पक्षले आवश्यक कदम चाल्नुपर्नेमा पनि घिसिङले जोड दिए।






प्रतिकृया