• २६ भदौ २०८३, शुक्रबार
  • २ः०४ दिउँसो

बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक

प्रकाशित मिति

२०८३ भाद्र २६ गते, शुक्रबार ०२:०४

२६ भदौ २०८३ काठमाडौं — गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा र नुवाकोटमा ७८३ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजनामा क्षति पुगेको पाइएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडीएनए) प्रतिवेदनले उक्त तथ्य सार्वजनिक गरेको हो। प्रतिवेदनअनुसार बाढीबाट २४ मेगावाट क्षमताका पाँच सौर्य विद्युत् आयोजनासमेत प्रभावित भएका छन्।

National Life

बाढीबाट ऊर्जा र सडक क्षेत्रमा सबैभन्दा ठूलो क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ। ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थान र पुनर्निर्माणका लागि मात्रै ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख ४० हजार रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। बाढीबाट माथिल्लो त्रिशूली–१, रसुवागढी, रसुवा–भोटेकोशी, लाङटाङ खोला, चिलिमे, मैलुङ खोला, त्रिशूली जलविद्युत् केन्द्र, देवीघाट, माथिल्लो त्रिशूली–३ए, माथिल्लो त्रिशूली–३बी र मिडल त्रिशूली गंगालगायतका आयोजनामा क्षति पुगेको छ।

यस्तै, २५ मेगावाट क्षमताको नुवाकोट सौर्य विद्युत् आयोजनासहित अन्य सौर्य आयोजनासमेत प्रभावित भएका छन्। बाढीले विद्युत् उत्पादन संरचना, पहुँचमार्ग, प्रसारण लाइन तथा अन्य पूर्वाधारमा क्षति पुर्‍याएको प्रतिवेदनले औंल्याएको छ। यसैगरी, प्रभावित आयोजनामा कार्यरत ९१७ जना कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन रहेको प्रतिवेदनमा उल्लेख छ। उनीहरूको खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विभिन्न देशका विज्ञ तथा प्राविधिक र सम्बन्धित कम्पनीका प्राविधिक टोली परिचालन भइरहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया