• २६ भदौ २०८३, शुक्रबार
  • १ः२३ दिउँसो

गहुँका लागि डीएपी मल जोगाउन तत्काल बिक्री–वितरण रोकियो

प्रकाशित मिति

२०८३ भाद्र २६ गते, शुक्रबार ०१:०६

२६ भदौ २०८३ काठमाडौं — सरकारले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा देखिएको अवरोधका कारण डीएपी (डाइअमोनियम फस्फेट) मलको बिक्री–वितरण तत्कालका लागि स्थगित गरेको छ। नजिकिँदै गरेको गहुँ बालीका लागि डीएपी मलको अभाव हुन नदिन कृषि, वन तथा पर्यावरण मन्त्रालयले यस्तो निर्णय गरेको जनाएको छ।

National Life

मन्त्रालयको कृषि विकास महाशाखाअन्तर्गतको कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाले भदौ १६ गते पत्र जारी गर्दै कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनलाई डीएपी मलको बिक्री–वितरण रोक्न निर्देशन दिएको हो। मन्त्रालयका अनुसार इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण होर्मुज नाका बन्द हुँदा रासायनिक मलको अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा अवरोध आएको छ। यसबाट ‘फोर्स मेजर’को अवस्था सिर्जना भएको मन्त्रालयको दाबी छ।

खरिद सम्झौता भइसकेको डीएपी मलसमेत समयमै आपूर्ति हुने अवस्था कमजोर देखिएकाले गहुँ बालीका लागि मल अभाव हुन सक्ने भन्दै हाललाई बिक्री–वितरण स्थगित गरिएको मन्त्रालयले जनाएको छ। १५ भदौको मन्त्रीस्तरीय निर्णयअनुसार डीएपीको बिक्री रोकिएको हो। साथै, अर्को निर्णय नभएसम्म ‘मल वितरण व्यवस्थापन कार्यविधि, २०८२’ को दफा १२ को उपदफा (६) मा रहेको व्यवस्था समेत निलम्बन गरिएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलका अनुसार अहिले धानबालीका लागि युरिया मलको माग बढी रहेकाले डीएपी गहुँका लागि जोगाएर राखिएको हो। उनका अनुसार कम्पनीसँग हाल १४ हजार ६४५ टन डीएपी मल मौज्दात छ भने करिब १८ हजार टन डीएपी आउन बाँकी छ। यस्तै, युरिया मल २२ हजार ९१० टन मौज्दात रहेको र करिब ३३ हजार टन आपूर्ति हुने क्रममा रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

अन्तर्राष्ट्रिय बजारमा डीएपी मलको आपूर्ति प्रभावित हुँदा यसको मूल्य प्रतिटन एक हजार अमेरिकी डलरभन्दा माथि पुगेको पोखरेलले बताएका छन्। युरियाको मूल्य भने प्रतिटन करिब ५३० देखि ५५० डलर रहेको उनले जानकारी दिए। उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा युरिया सहज रूपमा उपलब्ध भए पनि डीएपी पाउन कठिन भइरहेको छ र यसको माग उच्च छ।

प्रतिकृया