कालिञ्चोक दर्शनले ८.५% बोनस र १००% हकप्रद शेयर ल्याउने
प्रकाशित मिति
२०८३ भाद्र २५ गते, बिहीबार ०९:५३
२५ भदौ २०८३ काठमाडौं — कालिञ्चोक दर्शन लिमिटेडले ८.५ प्रतिशत बोनस शेयर वितरणसँगै १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ। कम्पनीले यसका लागि आगामी असोज १६ गते १२औँ वार्षिक साधारणसभा बोलाएको छ।
कम्पनीको सञ्चालक समितिको भदौ २४ गते बसेको बैठकको निर्णयअनुसार साधारणसभा असोज १६ गते शुक्रबार मध्यपुर ठिमी, गठ्ठाघरस्थित जर्मन होम्स होटलमा बिहान ११ः३० बजे बस्नेछ। साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्ने तथा आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव रहेको छ। सञ्चालकको नियुक्तिलाई बाँकी कार्यकालका लागि अनुमोदन गर्ने प्रस्तावसमेत सभामा पेश हुनेछ।
विशेष प्रस्तावतर्फ कम्पनीले हाल कायम ६३ करोड रुपैयाँ चुक्ता पुँजीको ८.५ प्रतिशत अर्थात् ५ करोड ३५ लाख ५० हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि २८ लाख १८ हजार ४२१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत रहेको छ।
बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ६८ करोड ३५ लाख ५० हजार रुपैयाँ पुग्नेछ। त्यसपछि सोही पुँजीको आधारमा १ः१ अनुपातमा १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारणसभामा पेश गरिनेछ। यसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६८ लाख ३५ हजार ५०० कित्ता हकप्रद शेयर निष्कासन गरिनेछ।
कम्पनीले व्यवसाय विस्तार तथा लगानी विविधीकरणका लागि कृषि, जलविद्युत्, सूचना प्रविधि तथा उत्पादनमूलक क्षेत्रमा लगानी र व्यवसाय सञ्चालन गर्ने प्रस्तावसमेत अघि सारेको छ।
यसका लागि कम्पनीको प्रबन्धपत्रमा आवश्यक संशोधन तथा उद्देश्य थप गर्ने, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र हकप्रद शेयर निष्कासनलगायतका विषयमा नियमनकारी निकायबाट निर्देशन आएमा आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुनेछ।
कम्पनीले साधारणसभाका लागि असोज ९ गते एक दिन शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ। त्यसअघि कायम शेयरधनीले मात्र साधारणसभामा सहभागी हुन तथा सभासम्बन्धी अधिकार प्रयोग गर्न पाउनेछन्।






प्रतिकृया