साउनमा जीवन बीमा कम्पनीको व्यवसाय ३२.५५ प्रतिशतले बढ्यो
प्रकाशित मिति
२०८३ भाद्र २५ गते, बिहीबार ०९:२१
२५ भदौ २०८३ काठमाडौं — चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरूको व्यवसाय उल्लेख्य रूपमा बढेको छ। १४ जीवन बीमा कम्पनीले साउनमा कुल २ खर्ब १७ अर्ब १३ करोड ३८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरूले १ खर्ब ६३ अर्ब ८० करोड ८७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका थिए। यसअनुसार साउनमा जीवन बीमा कम्पनीहरूको व्यवसाय ३२.५५ प्रतिशतले बढेको हो।
साउनमा सबैभन्दा धेरै व्यवसाय नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ। कम्पनीले ५६ अर्ब ३३ करोड ५३ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ। गत वर्षको साउनमा कम्पनीको व्यवसाय ५१ अर्ब ५३ करोड ४९ लाख रुपैयाँ थियो। यसअनुसार नेपाल लाइफको व्यवसाय ९.३१ प्रतिशतले बढेको छ।
दोस्रोमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ। कम्पनीको व्यवसाय गत वर्षको साउनको ३ अर्ब ९२ करोड ३५ लाख रुपैयाँबाट बढेर यस वर्ष ३७ अर्ब ४३ करोड ८२ लाख रुपैयाँ पुगेको छ। यससँगै कम्पनीको व्यवसाय ८५४.२ प्रतिशतले बढेको देखिएको छ।
त्यस्तै, नेशनल लाइफको व्यवसाय १९.६ प्रतिशतले बढेर २३ अर्ब ८० करोड ८६ लाख रुपैयाँ पुगेको छ। हिमालयन लाइफले १९ अर्ब ८८ करोड ७७ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले १९ अर्ब ६ करोड २७ लाख र सूर्यज्योति लाइफले ११ अर्ब ९५ करोड १० लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन्।
साउनमा आईएमई लाइफको व्यवसाय २६.४ प्रतिशत, रिलायबल नेपाल लाइफको १८.१८ प्रतिशत, सन नेपाल लाइफको १५.८४ प्रतिशत, सानिमा रिलायन्स लाइफको १६.३८ प्रतिशत र एसियन लाइफको १५.६५ प्रतिशतले बढेको छ।
त्यस्तै, सिटिजन लाइफको व्यवसाय ९.२८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १२.४५ प्रतिशत र मेट लाइफको १०.६१ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ।






प्रतिकृया