काठमाडौंमा ग्यासको अभाव हुँदैन, अनावश्यक सञ्चय नगर्नुस्: एलपी ग्यास उद्योग संघ
प्रकाशित मिति
२०८३ भाद्र २५ गते, बिहीबार १०:०५
२५ भदौ २०८३ काठमाडौं — नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव नहुने जनाएको छ। ग्यासको आपूर्ति नियमित भइरहेको दाबी गर्दै संघले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न आग्रह गरेको हो।
बाढीका कारण पृथ्वी राजमार्ग अवरुद्ध हुँदा बुलेटमार्फत ग्यास ढुवानीमा समस्या आए पनि काठमाडौं, काभ्रे र धादिङमा रहेका उद्योगका सिलिन्डरलाई बारा, पर्सा, चितवन, धनुषा र नवलपरासीमा रहेका उद्योगबाट रिफिल गरी काठमाडौंमा आपूर्ति भइरहेको संघले जनाएको छ।
हाल काठमाडौंमा दैनिक करिब ४० हजार सिलिन्डर ग्यासको माग हुँदै आएको छ। पछिल्ला तीन दिनदेखि मागअनुसार नै सिलिन्डर वितरण भइरहेको र आगामी दिनमा पनि थप सिलिन्डर रिफिल गरी नियमित आपूर्ति कायम राखिने संघको भनाइ छ।
संघले भूकम्प, नाकाबन्दी तथा कोभिड–१९ महामारीजस्ता संकटका समयमा समेत एलपी ग्यासको आपूर्ति तथा बिक्री वितरण प्रणालीलाई निरन्तरता दिइएको स्मरण गराएको छ। संघले आपूर्ति नियमित रहेकाले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न आग्रह गरेको छ।






प्रतिकृया