रविसँगको भेटपछि मोदीले भने– साझा समृद्धिका लागि नेपालसँग नजिकबाट सहकार्य गर्न तयार छौं
प्रकाशित मिति
२०८३ जेष्ठ २० गते, बुधबार ०२:३१
२० जेठ २०८३ काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार रहेको बताएका छन्। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सँग नयाँ दिल्लीमा भएको भेटवार्तापछि मोदीले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्।

मोदीले लामिछानेसँगको भेटले आफूलाई खुसी बनाएको उल्लेख गर्दै साझा समृद्धि र उज्ज्वल भविष्यका लागि सहकार्य गर्ने उनको इच्छालाई स्वागत तथा पूर्ण समर्थन गरेको बताएका छन्।

उनले भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल प्राथमिक साझेदार राष्ट्र रहेको उल्लेख गर्दै दुवै देशबीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको बताए।

भाजपाको निमन्त्रणामा सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल जेठ १८ गते पाँचदिने भारत भ्रमणका लागि प्रस्थान गरेको थियो। प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, रास्वपाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।
भारत भ्रमणका क्रममा लामिछानेले भारतीय राजनीतिक नेतृत्वसँग भेटघाट गर्दै नेपाल–भारत सम्बन्ध, लोकतान्त्रिक अभ्यास, आपसी हित र सहकार्यका विविध विषयमा छलफल गरिरहेका छन्।





प्रतिकृया