• ९ असोज २०८३, शुक्रबार
  • २ः३३ दिउँसो

भेनेजुएलामा शक्तिशाली दुई भूकम्प : २३५ जनाको मृत्यु, ४ हजारभन्दा बढी घाइते

प्रकाशित मिति

२०८३ असार १२ गते, शुक्रबार ११:५३

काराकास । भेनेजुएलाको राजधानी काराकासनजिकै केही सेकेन्डको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पमा परी कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने ४ हजार ३०० भन्दा बढी घाइते भएका छन्। सयौँ मानिस अझै भग्नावशेषमा पुरिएको आशंका गरिएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

National Life

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार पहिलो भूकम्प ७.२ म्याग्निच्युड र त्यसको केही सेकेन्डपछि ७.५ म्याग्निच्युडको दोस्रो भूकम्प गएको थियो। पहिलो भूकम्प २०.३ किलोमिटर र दोस्रो १० किलोमिटर गहिराइमा केन्द्रित भएकाले व्यापक क्षति पुगेको हो।

राजधानी काराकास र तटीय सहर ला गुइरामा धेरै भवन भत्किएका छन्। उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धारमा जुटिरहेका छन्। ला गुइरामा मात्रै करिब २५० भवनमा क्षति पुगेको छ भने एउटा १० तले होटल पूर्ण रूपमा ध्वस्त भएको बताइएको छ। भूकम्पपछि अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रिय सङ्कटकाल घोषणा गरेकी छन्। उनका अनुसार मुख्य भूकम्पपछि कम्तीमा ३० वटा पराकम्प महसुस भइसकेका छन्। भूकम्पका कारण काराकास, ट्रुहियो, याराकुई, काराबोबो, अरागुआ र मिरान्डा क्षेत्र पनि प्रभावित भएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

भूकम्पले माइकेटियास्थित भेनेजुएलाको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा समेत गम्भीर क्षति पुगेपछि सञ्चालन बन्द गरिएको छ। विद्युत् र इन्टरनेट सेवा प्रभावित हुँदा क्षतिको पूर्ण विवरण संकलन गर्न कठिन भइरहेको अधिकारीहरूले जनाएका छन्।

पीडितहरूको उद्धार तथा राहतका लागि अमेरिका, मेक्सिको, डोमिनिकन रिपब्लिक, एल साल्भाडोर र कतारलगायत देशहरूले सहयोगको प्रतिबद्धता जनाएका छन्। अमेरिकाले १५ करोड डलर बराबरको सहायता घोषणा गर्दै खोज तथा उद्धार टोली, सैन्य जहाज, विमान र चिकित्सा सामग्री परिचालन गरेको जनाएको छ।

यूएसजीएसले प्रभावित क्षेत्रको अवस्था हेर्दा मृतकको संख्या अझै बढ्न सक्ने चेतावनी दिएको छ।

प्रतिकृया