वर्षाले देशभर कहाँ के हुँदैछ ?
प्रकाशित मिति
२०८३ आश्विन ९ गते, शुक्रबार १२:२४
९ असोज २०८३ काठमाडौं — देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहँदा निरन्तर वर्षा भइरहेको छ । बिहीबारदेखि परेको वर्षा शुक्रबार पनि जारी रहेकाले सडक यातायातदेखि हवाई सेवासम्म प्रभावित भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा विकसित बलियो न्यूनचापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासमा रहेको छ । उक्त प्रणाली उत्तर–पश्चिम हुँदै उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बदली रहेको छ । यी प्रदेशका धेरै स्थानमा हल्का वर्षा भइरहेको छ भने सुदूरपश्चिमका केही स्थानमा पनि वर्षा भइरहेको छ । दिउँसो देशभर अधिकांश बदली रहने तथा विभिन्न प्रदेशमा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ ।
कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
निरन्तर वर्षाका कारण धादिङको कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बिहीबार राति सडक माथिबाट ठूला ढुंगा र चट्टानसहित पहिरो खसेपछि आवागमन ठप्प भएको हो ।
यसअघि भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडकको भित्ता कटान गरेपछि कृष्णभीरमा ठूलो क्षति भएको थियो । पहिरो गएको स्थानभन्दा माथि करिब २७० मिटर नयाँ ट्र्याक निर्माण गरी असोज १ गतेदेखि दुईतर्फी सवारी सञ्चालनमा ल्याइएको थियो । तर पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
बीपी राजमार्गमा पनि पहिरो
काभ्रेपलाञ्चोकको बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ चारसयबेँसी र रोशी–८ गिम्दीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । बिहान करिब ४ः३० बजे सडक माथिबाट लेदोसहित पहिरो खसेपछि गिम्दी क्षेत्रमा यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
रोशी खोलाको जलसतहसमेत सतर्कता तह पार गरेर बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग बन्द
अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्नुका साथै थप जोखिम बढेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड पनि अर्को सूचना जारी नभएसम्म बन्द गरिएको छ ।
यसअघि बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म सवारी आवागमन रोक्ने निर्णय गरिएको थियो । तर वर्षा नरोकिएपछि सडक सञ्चालनबारे अर्को सूचना जारी नभएसम्म आवागमन रोकिएको हो ।
कान्ति लोकपथमा पनि यातायात प्रभावित
हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ । ललितपुरतर्फका तीन स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
बीपी राजमार्ग र कान्ति लोकपथ अवरुद्ध भएपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधनलाई वैकल्पिक मार्गबाट पठाउन थालिएको छ । दक्षिणकाली–फाखेल सडक हुँदै मकवानपुरतर्फ सवारी पठाइएको छ भने पालुङ हुँदै त्रिभुवन राजपथबाट चल्ने सवारीलाई एकतर्फी सञ्चालन गरिएको छ ।
उपत्यकाका नदीमा पनि जलसतह बढ्यो
निरन्तर वर्षासँगै काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा र गोदावरीलगायत नदीमा जलसतह बढेको छ । नदी किनारका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।
बागमती नदी किनारमा नेपाली सेना र नेपाल प्रहरी परिचालन भएका छन् । प्रहरीले साइरन बजाउनुका साथै माइकिङ गरेर नदी किनार तथा आसपासका क्षेत्रमा नजान स्थानीयलाई आग्रह गरिरहेको छ । च्यासल, शंखमुल र बागमती दोभान क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ ।
हवाई उडानसमेत प्रभावित
निरन्तर वर्षा र धुम्म वातावरणका कारण भिजिबिलिटी कम हुँदा हवाई उडानसमेत प्रभावित भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । वर्षाका कारण पहिरो, बाढी र डुबानको जोखिम बढेकाले यात्रुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । अत्यावश्यक अवस्थामा बाहेक जोखिमयुक्त सडकखण्डमा यात्रा नगर्न तथा सम्बन्धित निकायले जारी गर्ने सूचना र सुरक्षा निर्देशन पालना गर्नसमेत आग्रह गरिएको छ ।







प्रतिकृया