यस्तो छ आजको मौसम
प्रकाशित मिति
२०८३ आश्विन ९ गते, शुक्रबार ०६:३०
९ असोज २०८३ काठमाडौं — देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडीमा बनेको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासमा रहेको छ ।
महाशाखाका अनुसार उक्त प्रणाली सुरुमा बलियो न्यून चापीय क्षेत्रकै रूपमा उत्तर–पश्चिमतर्फ सर्ने र त्यसपछि आगामी २४ घण्टामा उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना छ ।
आज कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भू–भागका अधिकांश स्थान तथा सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भाग, कर्णाली प्रदेशका पहाडी भू–भागका अधिकांश स्थानमा वर्षा हुने अनुमान छ । मधेस प्रदेशका केही तथा सुदूरपश्चिमका पहाडी र तराई भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।
महाशाखाले कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने जनाएको छ । लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
मधेससहित कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा हावाहुरीसमेत चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।






प्रतिकृया