टिमुरे बाढी : ३३८ ट्रक–कन्टेनर र ४४१ जना अझै सम्पर्कविहीन
प्रकाशित मिति
२०८३ आश्विन ८ गते, बिहीबार ०६:०८
८ असोज २०८३ काठमाडौं — रसुवाको टिमुरेमा गत भदौ १० गते आएको भोटेकोशी बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर र ४४१ जना चालक, सहचालक तथा व्यवसायी सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागलाई उपलब्ध गराएको प्रारम्भिक विवरणअनुसार बाढीका कारण मालवाहक सवारीसाधनसँगै त्यसमा संलग्न व्यक्तिहरू समेत बेपत्ता भएका हुन् ।
विभागले बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्न असोज २ गते सात दिनभित्र तथ्याङ्क उपलब्ध गराउन आग्रह गरेको थियो । सोहीअनुसार महासंघले असोज ५ गते विभिन्न सदस्य संघ, समिति तथा कम्पनीबाट संकलित प्रारम्भिक विवरण विभागमा पठाएको हो ।
विवरणअनुसार नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालि, लोकन्थलीका २१७ ट्रक तथा कन्टेनर र २५१ जना, नारायणी यातायात व्यवसायी संघ हेटौँडाका ५८ सवारीसाधन र ७८ जना तथा तराई यातायात व्यवसायी संघ सिमराका २१ सवारीसाधन र ३५ जना सम्पर्कविहीन छन् ।
त्यस्तै ट्रक यातायात व्यवसायी संघ नेपाल, बल्खुका १० कन्टेनर र २० जना, गण्डकी ट्रक व्यवसायी संघ पोखराका २१ ट्रक तथा कन्टेनर र ३४ जना तथा पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका ११ कन्टेनर र २२ जना सम्पर्कविहीन रहेको महासंघले जनाएको छ ।
महासंघका अनुसार यो प्रारम्भिक विवरण हो । थप तथ्याङ्क संकलन भइरहेकाले बेपत्ता सवारीसाधन र व्यक्तिको संख्या बढ्न सक्ने जनाइएको छ ।
यातायात व्यवस्था विभागले क्षतिको मूल्यांकन, क्षतिपूर्तिको आधार तथा अन्य विषयमा राय–सुझावसहित प्रतिवेदन तयार गर्न समिति गठन गरेको जनाएको छ । महासंघले बाढीबाट प्रभावित व्यवसायी तथा परिवारका लागि राहत, क्षतिपूर्ति र पुनःस्थापनामा सरकारले आवश्यक पहल गर्नुपर्ने बताएको छ ।






प्रतिकृया